विश्वकपको फाइनलमा अम्पायरले गम्भीर गल्ती गरेको आरोप

लन्डन : विश्व क्रिकेटमा कुनै समय होनाहार अम्पायरको छवि बनाएका साइमन टफेलले आइतबार भएको १२ औँ एकदिवशीय विश्वकपको फाइनलमा अम्पायरले गम्भीर गल्ती गरेको बताएका छन्।

दुई सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले अन्तिम ओभरको चौथो बलमा ओभर थ्रोमार्फत ६ रन पाएको थियो। न्युजिल्यान्डका मार्टिन गुप्टिलले गरेको थ्रो फिल्डरले नियन्त्रणमा लिन नसक्दा चौका भएको थियो । त्यतिबेलासम्म इङ्ल्यान्डका ब्याट्सम्यानले दौडिएर दुई रन लिइसकेका थिए । यही आधारमा ६ रन दिइएको थियो।

तर क्रिकेटको नियमअनुसार ओभर थ्रोमा बाउन्ड्रि भए फिल्डरले बल फ्याँक्नु अघिसम्म ब्याट्सम्यानले दौडिएर लिएको रन मात्र जोडिने व्यवस्था रहेको टफेल बताउँछन्। गुप्टिलले बल फ्याक्नुअघिसम्म इङ्ल्यान्डका ब्याट्सम्यानले दौडिएर एक रनमात्र लिएका थिए। ‘ यो गम्भिर त्रुटी हो’, टफेलले भनेका छन्। टफेल हाल क्रिकेटको नियम बनाउने निकायमा पनि संलग्न छन्।

ओभर थ्रोमा चौका भएपछि ६ रन प्राप्त गरेको इङ्ल्यान्डले अन्तिम दुई बलमा तीन रन बनाउनुपर्ने थियो। तर दुई रनमात्र जोड्न सकेपछि खेल टाइ भएको थियो। सुपर ओभर पनि टाइ भएपछि विजेताको ट‌ु‌ंगो खेलभर सर्वाधिक बाउन्ड्रि हानेका आधारमा लिइएको थियो जसमा इङ्ल्यान्ड भाग्यमानी रह्यो। दुवै टोली पहिलोपटक विश्व च्याम्पियन बन्ने प्रयाशमा थिए।

टफेलका अनुसार अम्पायरको उक्त गल्तीको प्रभाव भने न्युजिल्यान्ड विजेता बन्न नसक्नुमा देखिएन।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्