जहाँ २४ घन्टा नै झलमल्ल घाम लागिरहन्छ

मध्यरातमा उदाउँदै गरेको सूर्य। तस्बिरहरु: सुनिल बास्तोला

सूर्य उदाउँछ बिहान १ बजे, सूर्य अस्ताउँछ रातको १२ बजे, तापक्रम १३ डिग्री सेन्टिग्रेड, आकासमा सामान्य बादल। २३ घन्टासम्म आकाशमा सूर्य झल्मलाइरहने यो नर्वेको ट्रम्सो सहर हो। र, यो मौसमी जानकारी हो सोमबार (असार ३०) को।

सामान्यतया: पृथ्वीले २४ घण्टामा आफ्नो कक्षमा एक फन्को लगाउँदा १२ घण्टाको दिन र १२ घण्टाको रात हुन्छ। यसमा हामी अभ्यस्त भइआएका छौँ। नेपालमा पनि सामान्यतया: यस्तै हुन्छ।

यद्यपि पृथ्वीमा केही यस्ता देशहरु छन् जहाँ कहिल्यै पनि घाम अस्ताउँदैन। लगातार २४ घण्टा नै लागिरहन्छ घाम। तिनैमध्ये एउटा देश हो- नर्वे। अहिले नर्वेमा यस्तै मौसम छ। दिनको आठै प्रहरमा यहाँ घाम लागिरहेको हुन्छ यतिखेर।

यस्तोमा सामान्य कौतुहल वा जिज्ञासा हुन्छ: सधैँ घाम लागिरहँदा मानिस कति बेला सुत्छन्? कतिबेला दैनिक काम सक्छन्? झलमल्ल घाम लागिरहेको बेला राति के गर्छन्?

२४ घन्टा नै घाम लागिरहँदा मानिसहरु दिन, रात, साँझ, बिहान वा घाम हेरेरभन्दा घडी हेरेर आफ्नो दैनिकी चलाउँछन्। बाहिर घाम लागिरहे पनि आफ्नो समय हेरेर खाना खाने, सुत्ने र अन्य दैनिक क्रियाकलाप गर्छन्।  कोठाको बत्ती निभाए पनि बाहिरको उज्यालोले झलमल्ल भइरहने हुँदा रातमा बाक्ला वा काला पर्दा लगाएर सुत्छन्।

सधैँभरि घाम लागिरहने यो अवस्थाले स्थानीयलाई कुनै असर नपर्ने भए पनि यी देशमा घुम्न आउने पर्यटक र नयाँ मानिसका लागि भने यसले दैनिक जीवनमा समस्या उत्पन्न हुन्छ। रातभरि उज्यालो हुँदा सुत्न समस्या हुन्छ।

सूर्य नअस्ताउने यस्तो प्रक्रियालाई ‘द मिडनाइट सन’ अर्थात मध्यरातको सूर्य भनिन्छ।

बिहान हुन केही घन्टा बाँकी नै छ, झलमल्ल उज्यालो भइसक्यो।

कहाँ-कहाँ हुन्छ यस्तो?

हामीलाई अनौठो लागे पनि मध्यरातमा सूर्य उदाउने यो प्राकृतिक प्रक्रिया हो। मध्यवर्षा (समर) ऋतुको केही महिना पृथ्वीको उत्तरी ध्रुव आर्टिक र हिउँदमा दक्षिणी ध्रुवको अन्टार्टिकामा यस्तो प्रक्रिया हुन्छ। पृथ्वी आफ्नो कक्षमा घुम्ने क्रममा सूर्यतिर ढल्किँदा गर्मी र वर्षा तथा टाढा हुँदा हिउँद र जाडो मौसम हुन्छ।

‘मे’महिनाको अन्तिम सातादेखि ‘जुलाई’ महिनाको अन्तिमसम्म नर्वेमा दैनिक २० घण्टाभन्दा बढी समय सूर्य आकाशमा झल्मलाइरहेको देखिन्छ। यस्तो लामो समय आकाशमा घाम नअस्ताउने देश तथा क्षेत्रहरुमा नर्वे, फिनल्यान्ड, स्विडेन, अलास्का, आइस्ल्यान्ड र क्यानडा पर्छन्। जाडो समयमा भने यसको ठीक उल्टो लामा रात र छोटा दिन हुन्छन्।

ओस्लोमा बिहानको चार पनि नबज्दै उज्यालो भइसक्यो।

यस्तो किन हुन्छ?

पृथ्वीले २४ घण्टामा आफ्नो कक्षमा एक फन्को लगाउँछ। हामीले सामान्य रुपमा एक दिन भन्ने यही फन्को लगाउने अवधि हो। यही कारण दिन र रात हुन्छ। घुम्ने क्रममा पृथ्वीको भाग सूर्यतिर परेको देशमा दिन र अर्को भागका देशहरुमा रात हुन्छ। विभिन्न देश र महादेशको समयमा फरक हुने कारण यही नै हो।

पृथ्वी आफ्नो कक्षमा २३.५डिग्री कोल्टे परेर वा झुकेर सूर्यलाई परिक्रमा गर्छ। यदि आफ्नो कक्षमा नझुकी सिधा ९० डिग्री लम्ब (पर्पेन्डिकुलर) भएर घुम्ने हो भने यस्तो मध्यरातको सूर्य देखिँदैनथियो। त्यस्तो अवस्थामा पृथ्वीको हरेक भागमा दिन र रात १२/१२ घण्टाको हुन्थ्यो।

उषाकिरण रेग्मी।

नर्वे आएको पहिलो वर्ष २४ घन्टा नै आकाशमा घाम देखिइरहने अवस्थाका कारण मलाई पनि असहज महसुस भएको थियो। केही दिनसम्म दैनिकीमा सामान्य बाधा पनि आएको थियो। उठ्दा पनि घाम झल्मलाइरहेको र सुत्ने बेला पनि घाम झल्मलाइरहेको अवस्थाले कहिलेकाहिँ अप्ठ्यारो अवस्था आउँथ्यो।

केही वर्ष नर्वेको बसाइपछि भने म यसमा अभ्यस्त भइसकेको छु। सधैँ अँध्यारो हुने हिउँदका दिनहरुमा होस् वा २४ घन्टै घाम लागिरहने वर्षाका यी दिनहरु- घडी हेरेरै दैनिकी अघि बढाउने हुँदा मलाई यसका कारण कुनै अप्ठ्यारो महसुस हुँदैन।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्