स्वदेशमै सीप

मलेसियाबाट फर्किएर जसले दूधमा भविष्य देखे

दाङ-एसएलसी पास भएपछि कक्षा ११ मा भर्ना भए खेमराज घिमिरे। तर, मासिक शुल्क बुझाउने पैसा भएन। पढाइ खर्च जुटाउन भारतमा काम गर्न गए। कक्षा ११ को परीक्षा दिन फर्किए। परीक्षा सकेर फेरि भारत पुगे। यो शिलशिला कक्षा १२ सम्म चल्यो। तर, मनले मानेन।

त्यतिबेला वैदेशिक रोजगारीमा जाने खुबै लहर चलेको थियो। त्यहीँ भिडमा लमही नगरपालिका वडा नम्बर ५ निवासी खेमराज घिमिरे होमिए । पाँच बर्ष मलेसियामा डायर रिसोलिङ्ग उद्योगमा काम गरेपछि उनी २०६६ सालमा नेपाल फर्किए।

पाँच बर्षे वैदेशिक रोजगारीको यात्रापछि उनले विदेश राम्रोसँग बुझे र चिने पनि। आफ्नो देशमा विदेशमा जति मेहनत गर्ने हो भने पैसा कमाउन टाढा जानै नपर्ने अनुभव उनको छ।‘विदेश जाने समस्या परेरै हो। तर, समस्या पर्यो भनेर आफ्नो ठाउँमा अवसरनै नदेख्‍ने समस्या छ। त्यो समस्या म मा पनि थियो। घर फर्किएपछि बुवाले थालेको डेरी व्यवसाय सम्हाले’उनले भने–‘अहिले हाम्रो सिंगो परिवार यही व्यवसायमा संलग्न छ।’

किसानबाट दूध संकलन गर्ने, क्यानमा भरेर रिक्सामा बोकेर बसपार्कसम्म पुर्‍याउने उहाँको नियमित काम। अहिले पनि त्यहीँ काम गर्छन् । काम प्रति सम्मान र माया दुवै छ।

‘काम गर्न लाज मान्ने प्रवृत्ति छ। यही लाजले त मानिसलाई सफल तर्फ लैजान सक्दैन । मैले काम गर्न लाज मान्दैन’उनले भने–‘दूध संकलन केन्द्रमा काम गर्ने अन्य साथिहरु संग बराबर काम गर्छु । भाँडा माझ्ने, रिक्सा चलाउने देखि अन्य सबै काम गर्छु ।’

देउखुरीको लमहीमा‘लमही डेरी’को नामले चर्चामा छ । खेमराजका बुवा इश्वरी घिमिरेले सञ्चालन गरेको डेरी अहिले घोराहीमा समेत खुलेको छ । लमहीमा दूध संकलन केन्द्र र घोराहीमा डेरी पसल छ ।‘हाम्रो परिवार सबै डेरी व्यवसायमा छ। बुवाले घोराहीमा डेरी पसल हेर्नुहुन्छ। म लमहीमा दूध संकलन गर्छु’घिमिरेले भने–‘परिवार बाहेक ८ जनालाई रोजगारी दिएका छौं।’

सफलताको यात्रा


विदेश छाडेर स्वदेशमा डेरी व्यवसाय सञ्चालन गर्नु भएका खेमराज घिमिरे लमही जेसिज सन २०१८ को अध्यक्ष बने।

यस्तै अहिले नेपाल डेरी एसोसियसनको प्रदेश ५ को उपाध्यक्ष छन्। ‘विदेशमा भैरहेको भए समाजमा यति धेरै मान प्रतिष्ठा र इज्जत हुने थिएन’उनले भने–‘यो व्यवसायलाई अझै अघि बढाउने सोंच छ।’

गाउँमानै दूध संकलन केन्द्र खोल्ने योजना रहेको छ। राजपुर गाउँपालिकाको मोतिपुरमा दूध संकलन केन्द्र स्थापना गर्ने र दैनिक तीन हजार लिटर दूधको कारोबार गर्ने योजना रहेको सुनाए।

चिलिङ्ग भ्याट स्थापना गर्न प्रदेश सरकारको अनुदान


लमही डेरीमा चिलिङ्ग भ्याट स्थापना गर्न प्रदेश सरकारले १३ लाख रुपैयाँ अनुदानमा दिएको छ।

डेरी उद्योगको १३ लाख र प्रदेश सरकारको १३ लाख गरि २६ लाखको लगानीमा चिलिङ्ग भ्याट स्थापना गरिएको हो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट लागत सहभागीतामा चिलिङ्ग भ्याट स्थापना गरिएको हो।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्