हुम्लाको खर्पुनाथ गाउँपालिकाको बजेट ३० करोड भन्दा बढी

हुम्ला, सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकाले हरियाली खार्पुनाथ गाउँपालिकाको नीतिसहित आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

वन बिनास भैरहेका बेला त्यसलाई रोक्न र हरियाली गाउँपालिका बनाउनसभाले उक्त नीति ल्याएको हो । पालिकाको क्षेत्रभरि हरियाली बनाउन वृक्षारोपण गरिने र वन बिनास गर्ने कार्यलाई कडाईसाथ नियन्त्रण गर्ने कार्यक्रम ल्याएर हरियाली खार्पुनाथ गाउँपालिकाको नीतिलाई सार्थक तुल्याइने र आएको कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

त्यसैगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा एक घर एक बगैँचा नीति पनि ल्याएको र त्यसका लागि ३१ लाख बजेट विनियोजित गरिएको उनले बताए । गत असार ३ गते कर्णाली नदीमा जिप दुर्घटनामा परि उपाध्यक्ष सिन्धु हमाल शाहीको मृत्यु भएको कारण अध्यक्ष रावलले नै प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता बाहेक ३० करोड ९४ लाख तीन हजार ४८५ रुपैयाँको बजेट सभामा पेश गरेर सोमबार सभाले पारित समेत गरेको छ ।

उक्त बजेट पालिकाको आन्तरिक श्रोत, प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त सशर्त र सम्मानीकरण शीर्षकको बजेट र राजस्व बाँडफाँडबाट प्राप्त बजेट समावेश गरिएको छ । बजेटमा पूर्वाधार विकासका लागि १० करोड ३५ लाख ८२ हजार ६८९ रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सामाजिक विकासमा १३ करोड १८ लाख ४० हजार १२७ रुपैयाँ विनियोजन गरिएको छ ।

प्रशासनीक खर्चमा बजेटले चार करोड ७४ लाख ९१ हजार रुपैयाँ विनियोजन भएको छ भने आर्थिक विकासमा एक करोड १० लाख ३९ हजार ६६९ रुपैयाँ छुट्याइएको छ ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्