गुरुपूर्णिमा

जीवन सफल पार्न आफै अगाडि बढ्नुपर्छ

श्रीः
अनन्तशोभा समलङ्कृताभ्यां ।
अनन्तपुण्यप्रचय प्रदाभ्यम् ।।
दूर्वासनोन्मूलनतत्पराभ्यां ।
नमो नमः श्री गुरुपादुकाभ्यम् ।।

श्री शिवपुरीबाबा आज्ञा हुन्थ्योः जसरी भाषा सिक्ने विद्यार्थीहरूलाई कुनै कठिन शब्दको माने थाहा पाउन शब्दकोषको आवश्यकता पर्दछ, त्यसैगरी परमात्मा दर्शन गर्न चाहने साधकहरूलाई पनि एक जीवनमुक्त गुरुको आवश्यकता पर्दछ। जीवनमुक्त गुरुले स्तर हेरेर त्यही अनुसारको उपदेश दिनुहुन्छ र साधकले आफ्नो जिज्ञासाको उत्तर पाउँछ तर गुरुको उपदेश विवेकसाथ पालना गरे मात्र उसले जीवन सार्थक पार्नसक्छ।

सर्वविदितै कुरा हो कि हामीसँग भएको लोटामा प्वाल परेको छ भने त्यसमा हामी पानी अडाउन सक्तैनौं। लोटाको प्वाल टालेपछि पानी अडिन्छ। ‘गुरुबाट पाएको उपदेश पनि पालना गरेन भने पानी चुहिएको जस्तै चुहिएर जान्छ। साधकले भित्री हृदयबाट गुरुको चाहना गरे मात्र रमण महर्षिजस्ता महापुरुषहरू मार्गदर्शन गर्न प्रकट हुनुहुन्छ। गुरुको भौतिक देहको मात्र सेवा गरेर पनि पुग्दैन, उहाँको उपदेश पालना गरे मात्र सफल होइन्छ, यदि सेवाले मात्र पुग्ने भए उद्धवले श्रीकृष्णको उपदेश अनुसार वद्रीनारायणमा किन तपस्या गर्न जानुपर्थ्यो?’ उहाँ आज्ञा हुन्थ्यो।

कुनै खास बस्तु या विषयको बारेमा सुनेर, अरूको लहैलहैमा लागेर कामगर्दा, कदम चलाउँंदा धोखा पर्न जान्छ र गरेको कामको नतिजा नराम्रो हुन्छ। आफ्नो विवेक प्रयोग गरेको कामले सफलता प्राप्त गर्न सकिन्छ भनेर समय समयमा उहाँका मुखारविन्दबाट अनेक दृष्टान्त सुन्न पाइन्थ्यो।

एक दिन आफ्नो चेलालाई कुनै एक गुरुले तिमीले जुनसुकै वस्तुमा पनि परमात्माको रुप देख्ने कोशिश गर, त्यसो भयो भने परमात्मा स्मरणप्रति तिमी गहिरिएर जान सक्छौ भन्ने उपदेश दिनुभएछ। मैले दिएको उपदेश पनि देश, काल, परिस्थितिअनुसार विवेक पुर्‍याएर पालना नगरेमा धोका पर्छ, दुःख पाइन्छ आदि अर्ति दिनुभएछ।

गुरुको उपदेश सुनेर चेला घर जाँदैरहेछन्। बाटोमा एउटा पागल हात्ती विपरीत दिशाबाट आइरहेको रहेछ। माहुतेले तिमी छेउछाउबाट हिँड, हात्तिले कुल्चेला भनेर कराएछ।

चेलाले गुरुको वचन सम्झेर हात्तीमा परमात्माको रुप देखेछ। परमात्माले मलाई कसरी कुल्चलान् त? यति सम्झँदै ऊ अगाडि बढ्दै गयो। हात्तीले उसलाई पाखातिर हुत्याइदियो र ऊ छटपटाउन लाग्यो।

उसले हात्तीमा परमात्माको रुप देखेको ठीकै थियो तर विवेक पुर्‍याएन र हात्तीमाथि बस्ने माहुतेमा परमात्माको रुप देख्न सकेन। उसले दुःख पायो।

त्यसै गरी अर्को एउटा दृष्टान्त पनि यहाँ प्रस्तुत गर्नु उपयुक्त होला। एक दिन गुरुले एक जना शिष्यलाई बजारमा सियो किन्न पठाउनु भएछ। गुरुको आज्ञा पालन गर्न चेला बजारमा गएर सियो किने। बाटामा फर्कंदा उनले सुकेको दाउराको डंगुर देखेछन् र उनले भोलि बाल्न काम लाग्छ भनेर सियो दाउराको बीचमा राखेर ल्याएछन्।

गुरुले सियो खोइ त भन्ने प्रश्न गरेपछि दाउराको थुप्रोमा सियो खोज्न थालेछन्। एउटा सानो सियो कता पर्‍यो कता। चेलाको सोचाई त ठीकै थियो तर गुरुले चाहेको वस्तु पाउन सक्नुभएन। दिएको अर्ति काम लागेन।

गुरुको काम मार्गदर्शन गराउने हो, आफ्नो जीवनलाई सफल बनाउन आफैं अगाडि बढ्नुपर्छ।

अस्तु।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्