प्रेम विवाह गरेकी गर्भवती छोरीको बुवाद्वारा चक्कु प्रहार गरेर हत्या

भारतको उत्तरप्रदेशकी एक गर्भवतीलाई मुम्बईमा उनकै बुवाले हत्या गरेका छन् । मुम्बई प्रहरीले २० वर्षकी मीनाक्षी चौरसियालाई उनकै बुवाले चक्कु प्रहार गरी हत्या गरेको जनाएको छ ।

मीनाक्षी इलाहाबाद नजिकै बस्ने गरेकी थिइन् । उनले आफ्नै गाउँका एक युवकसँग प्रेम विवाह गरेकी थिइन् । ५५ वर्षका बुवा राजकुमार चौरसियालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

मीनाक्षीले २६ वर्षका बृजेश चौरसियासँग विवाह गरेकी थिइन् । उनी चार महिनाकी गर्भवती थिइन् । आफ्नो गाउँमा गएर मीनाक्षी यो खबर सुनाउन चाहन्थिन् । तर उनका बुवाले तथाकथित इज्जतका नाममा छोरीको हत्या गरको बयान प्रहरीलाई दिएका छन् ।

उनले शनिबार राति मुम्बईको घाटकोपरस्थित एलबीएस मार्गमा चक्कु प्रहार गरेर छोरीको हत्या गरेका हुन् । सडक किनारमा रहेको शव दोस्रो दिन बिहान प्रहरीले भेटेको थियो ।

मुम्बई प्रहरीका डिएसपी अखिलेश सिंहले भनेका छन् कि मीनाक्षीले बुवाको सहमति बिना गत फरवरीमा प्रेमी बृजेश चौरसियासँग विवाह गरेका थिए । त्यतिबेला देखि नै मीनाक्षीका बुवा राजकुमार चौरसिया क्रुद्ध बनेका थिए ।

शनिबार साँझ बुवाले मीनाक्षीलाई कपडाका लागि पैसा दिने भन्दै भेट्न बोलाए । र पैसा दिने क्रममा केही रकम भुईमा झारेर छोरीलाई समात्न पठाए । छोरी पैसा समात्न भुईमा झुकेका बेला राजकुमारले उनलाई चक्कु प्रहार गरे ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्