फोटो फिचर

पानीले निकास पाएन, सडक पर्‍यो चिरा चिरा

दाङ–लमही–कोइलावास हुलाकी राजमार्ग अन्तगर्त पहाडी क्षेत्रमा बनेको कालोपत्रे सडक चिरा चिरा परेर भत्किएको छ । पहाडी क्षेत्रमा वर्षाको पानी थेग्न नसक्ने साँघुरो नाला निर्माण गरिएको छ । जसले गर्दा नालासँगै कालोपत्रे गरिएको सडक नै चिरा चिरा हुनेगरी भत्किन पुगेको हो ।

आधा मिटरको मात्रै साघुरो नाला बनाइएको छ । जसबाट वर्षाको पानी निकास हुन सकेन । नालाले पानी थेग्न नसक्दा कालोपत्रे सडक खनेर पानी बगेको स्थानीयले बताएका छन् ।

भारत सरकारको लगानीमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग आयोजनाबाट लमही–कोइलावास सडक कालोपत्रे भैरहेको हो । तर, पहाडी क्षेत्रमा हुलाकी सडकको डिजाईन गलत हुँदा ठूलो आर्थिक नोक्सानी हुन पुगेको आरोप लागेको छ ।

आधा मिटरको मात्रै नालाको डिजाईन हो । कालोपत्रे ७ मिटरको छ । तर, सडकको दुवै किनारमा २/२ मिटरको ग्राभेल छ । आधा मिटर चौडाको नाला र पिचको दुवै किनारमा भएको ग्राभेल नै वर्षातको पानीले सडक विगार्नुको प्रमुख कारण बन्न पुग्यो ।

कम्तिमा डेढ मिटर चौडा नाला, नालासँगै सटाएर पिच गरिएको भए यती धेरै भौतिक क्षति नहुने स्थानीय बताउँछन् । यस्तै राप्ती पुल देखी दक्षिण तर्फको होचो भागमा समेत पानीले क्षति पुर्‍याएको छ । सडकलाई खोलेर भेल बगेको छ ।

यता निर्माण कम्पनी कालीका कुमार जेभीले वर्षाको पानीले कालोपत्रे गरिएको र निर्माणाधिन सडकमा ठूलो क्षति पुर्‍याएको बताएको छ । झण्डै दुई करोडको आर्थिक नोक्सानी भएको छ । ठूलीचौर देखी कोठरी सम्मको चार किलोमिटरको दूरीमा ठूलो क्षती भएको छ ।

तीन ठाउँमा सडक दबेर कालोपत्रे चिरिएको छ । अन्य ठाउँमा पक्कि नाला र वाल भत्किएको छ । ‘प्रारम्भिक रिपोर्ट अनुसार झण्डै दुई करोडको क्षति भएको अनुमान छ’कालीका कुमार जेभीका साईड म्यानेजर राजेन्द्र श्रेष्ठले भने, ‘पानीले सडकमा ठूलो क्षति पुर्‍याए पछि अहिले सबै काम रोकेका छौं ।’

लमही देखी कोइलावास सम्म ३३ किलोमिटरको दूरी छ । जस मध्य १५ किलोमटर सडक कालोपत्रे भैसकेको छ । बाँकी सडक क्षेत्रमा पिचको तयारी चल्दै थियो । वर्षा सुरु भएपछि सडक निर्माणको काम रोकिएको छ । ७६ करोडको लगातमा विगत दुई वर्ष देखि लमही–कोइलावास सडकको निर्माण कार्य भैरहेको हो ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्