कंगनाको चर्चा सर्वत्र, ‘जजमेन्टल है क्या’ प्रतिक्षा व्यग्र

बलिउडमा आफ्नो अभिनय कौशलसँगै विभिन्न विवादका कारण चर्चामा रहने नाम हो कंगना रनौत। यो वर्षको सुरुमा उनको चर्चा ऐतिहासिक पात्र रानी लक्ष्मीबाई माथि बनाएको चलचित्र मनिकर्णिकाका कारण थियो ।
सो चलचित्रमा उनको अभिनय त थियो नै साथै निर्देशकका रुपमा उनको डेब्यु चलचित्र पनि थियो त्यो । चलचित्रसँग जोडिएर उनी विवादमा पनि तानिइन् ।
चलचित्रका अर्का निर्देशक तथा कलाकारसँगको उनको विवाद सतहमा आयो । तर चलचित्र मनिकर्णिकाले समीक्षकको मन अधिकांशतः जित्यो भने बक्सअफिसमा पनि राम्रो गर्यो ।
अहिले फेरि कंगनाको चर्चा छ, सदा जस्तै उनको कर्म र विवादका कारण । एकता कपुरको ब्यानर बालाजीले निर्माण गरेको चलचित्र ‘जजमेन्टल है क्या’ प्रदर्शनको तयारीमा छ ।
उनको साथमा क्वीनमा देखिएका प्रतिभावान कलाकार राजकुमार राव यो चलचित्रमा पुनः कंगनासँग देखिँदै छन् । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । जसमा दर्शक तथा समीक्षकको प्रतिक्रिया राम्रो आइरहेको छ । यस्तै चलचित्रको एउटा गीत पनि सार्वजनिक भएको छ।
यो चलचित्रमा कंगनाले निर्वाह गरेको भूमिका उनको व्यक्तित्वसँग मिल्ने चर्चा पनि हुने गरेको छ । चलचित्रमा बबीको भूमिकामा रहेकी कंगना सामाजिक सामान्य मूल्य–मान्यता भन्दा केही फरक ‘मेन्टल’ चरित्रमा देखिएकी छन् । चलचित्र जुलाई २६ मा प्रदर्शनमा आउँदैछ ।
चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा कंगनासहित सम्पूर्ण टिम प्रचार प्रसारमा व्यस्त छन् । कंगना र राजकुमारको पात्रको परिचयसहितका भिडियो युट्युबमा राखिएका छन् । ती भिडियोहरुले चलचित्रको प्रशिक्षालाई थप रोचक बनाएको छ ।
यी सबैबिचमा कंगना र पत्रकारबिचको भनाभनाको अवस्था र त्यसपछिका क्रिया प्रतिक्रियाले पनि कंगना र चलचित्र जजमेन्टल है क्याको चर्चा सर्वत्र बनाएको छ ।
हुन त पिटिआईका पत्रकार जस्टिन रावसँगको विवादले उत्कर्ष रुप लिएर मनोरञ्जन पत्रकारहरुको संस्थाले उनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
उनीहरुले कंगनाले माफी माग्नु पर्ने बताए । बालाजी मोसन पिक्चर्सले माफी मागे पनि कंगना आफूले माफी नमाग्ने निर्णयमा अडिग रहिन् । उनले उल्टै पत्रकार विरुद्ध कानूनी कारवाहीको प्रक्रिया सुरु गरेको खबर पनि आएको छ ।
सम्पूर्ण विवादले चलचित्र जजमेन्टल है क्याको चर्चा सबैतिर भइरहेको छ । यस्तै सामाजिक सञ्जालमा कंगनाको समर्थनमा विभिन्न टिप्पणीहरु भइरहेका छन् ।