पत्रकार भण्डारी भन्छन् ‘बरु जेल जान्छु, माफी माग्दिनँ’

काठमाडौँ – जिल्ला अदालत कञ्चनपुरले सर्तसहितको एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला सुनाएपछि पत्रकार खेम भण्डारीले पुनरावेदन जाने बताएका छन् ।

अदालतले माफी मागे कैद र जरिवाना कार्यान्नयन नहुने फैसला गरेका बेला भण्डारीले माफी नमाग्ने बरु जेल जान तयार रहेको बताए ।

‘मैले कुनै गल्ती गरेको छैन, जिल्ला अदालतको फैसलालाई सम्मान छ, म कानून बमोजिम पुनरावेदन जान्छु, सर्वाेच्चसम्म जान्छु, यदि सर्वाेच्चले पनि कैद र सजायको फैसला गरे त्यसलाई मान्न तयार छु, तर माफी माग्दिनँ, किनभने मैले कुनै गल्ती गरेको छैन’, भण्डारीले देश सञ्चारसँग भने ।

उनले पुनरावेदन जान कानून व्यवसायीहरुसँग सल्लाह गरिरहेको बताए ।

भण्डारीविरुद्ध नेपाल वार एसोसिएसन कञ्चननपुरले अवहेलना मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा जिल्ला न्यायाधीश डा. सुरेन्द्र प्रसाद आचार्यको इजलासले एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

तर भण्डारीले फेसबुक र पत्रिकामा अदालतविरुद्ध लेखेका सामग्री हटाएर आत्मालोचना गरेमा कैद र जरिवाना कार्यान्नयन नहुने आदेशमा उल्लेख छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा भण्डारीले आफ्नो फेसबुक र पत्रिकामार्फत अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्