घोराही र तुलसीपुरमा पेट्रोलियम पदार्थको अभाव

लमहीबाट तुलसीपुर पेट्रोल र डिजल लगिँदै। तस्बिरः दशरथ घिमिरे/देश सञ्चार 

दाङ– दाङको घोराही र तुलसीपुरमा पेट्रोलियम पदार्थको अभाव भएको छ। असार २६ गतेदेखि ढुवानी व्यासायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरले जानकारी दिएको छ।

निगमका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार पेट्रोल आइतबार नौ हजार, सोमबार नौ हजार र आज मंगलबार नौ हजार लिटर आएपनि त्यो एकै छिनमा सकिएको उनको भनाई छ। ‘दाङमा २६ गतदेखि पेट्रोलियम पदार्थ आएको छैन्, यसले गर्दा अहिले बजारमा पेट्रोल डिजेलको अभाव छ’, उनले भने , ‘तीन दिन नौ हजार लिटरका दरले पेट्रोल आयो, तर त्यो एकै छिनमा सकियो।’

दाङमा दैनिक ३२ हजार लिटर पेट्रोल खपत हुने भएपनि नौ हजारले मात्रै केही पनि नपुग्ने उनको भनाई छ। साथै २६ गतेदेखि डिजेल भने एक पटक पनि नआएको उनले जानकारी दिए।

ढुवानी व्यवसायीहरुले पानी परेमा पेट्रोलियम पदार्थमा नोक्सानी हुने गरेको भन्दै ढुवानी नगर्दा यस्तो समस्या निम्तिएको उनको भनाई छ।

घोराही र तुलसीपुरमा पेट्रोलियम पदार्थको अभाव भएपछि त्यहाँका उपभोक्ता देउखुरी झरेर पेट्रोलियम पदार्थ ओसार्न बाध्य छन्। जर्किन र वोत्तलमा तेल भरेर लग्ने गरेका छन्। लमहीका पेट्रोल पम्पमा भिड लागेको छ।

 

 

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्