विश्वकपको फाइनलमा स्तब्ध किविज प्रशिक्षक भन्छन् : दुईपटक टाइ भएपछि उपाधि ‘सेयर’ गर्नुपर्थ्यो

फाइनलमा पराजित भएपछि निराश न्युजिल्यान्डका खेलाडी र सान्त्वना दिँदै घरेलु टोलीका खेलाडी।

अकल्यान्ड : १२ औँ एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा आइतबार राती घरेलु टोली इङ्ल्यान्डसँग ब्यहोरेको हार वा उपाधि नजिक पुगेर निराश हुनुको क्षण न्युजिल्यान्डले पत्याउन सकिरहेको छैन।

खेलमा दुईपटक टाइ भएपछि पालीभर प्रहार गरेका बाउन्ड्रिको संख्याका आधारमा विश्व च्याम्पियन तय भएको थियो। विश्वकपमा यो निकै दुर्लभ घटना हो। निर्धारित ५० ओभरको खेल टाइ भएपछि सुपर ओभरमा पुगेको थियो।

सुपर ओभर पनि टाइ भएपछि पालीभर प्रहार गरेका बाउन्ड्रिको संख्याका आधारमा विश्व च्याम्पियन तय भएको हो। इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवै पहिलोपटक विश्व च्याम्पियन बन्ने प्रयाशमा थिए।

निर्धारित ५० ओभरमा दुई सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डलाई अन्तिम ओभरमा १५ रन आवश्यक भएपछि नाटकीय रुपमा १४ रन जोड्दै खेल बराबरी गरेको थियो। त्यसपछि सुपर ओभरमा १६ रनको लक्ष्य पाएको न्युजिल्यान्डले पनि १५ रन जोडेर खेल बराबरीमा पुर्‍याएको थियो।

निर्धारित ५० ओभरको खेलको अन्तिम ओभरको चौथो बलमा इङ्ल्यान्डलाई दिएको ६ रन पनि विवाद उत्पन्न भएपछि किविज खेलाडीहरु आक्रोशित छन्। त्यस बलमा ओभर थ्रोमार्फत चौका भएको थियो भने ब्याट्सम्यानले दौडिएर दुई रन पुरा गरेका थिए। तर ओभर थ्रोमा बाउन्ड्रि भएको अवस्थामा फिल्डरले बल प्रहार गर्नुभन्दा अगाडि  ब्याट्सम्यानले दौडिएर पुरा गरेको रनमात्र त्यसमा  जोडिने नियम रहेको पूर्व अम्पायर साइमन टफेलले बताएका थिए।

न्युजिल्यान्डका कप्तान केन विलयमसन यसरी उपाधि विजेताको टुंगो लगाउनु वास्तवमै लाजमर्दो भएको बताउँछन्। ‘ यसरी विजेता तोक्नुको कुनै अर्थ छ। मलाई लाग्छ यस विषयमा केही समय कुरा भइरहने छ। दुई वटा राम्रो टिम क्रिकेट खेलिरहेका थिए र अझैपनि बराबरी भइरहेको थियो’, विलियमसन भन्छन्। न्युजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा निराश भएको हो।

यता न्युजिल्यान्डका मुख्य प्रशिक्षक गेरी स्टिड र ब्याटिङ प्रशिक्षक क्राइग म्याकमिलानले दुवै टोलीलाई उपाधि संयुक्तरुपमा प्रदान गर्नु नै आदर्श निर्णय हुने बताएका छन्।

 

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्