बाढी पहिरोबाट ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

फाइल तस्बिर

काठमाडौँ– मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण मंगलबारसम्म ७८ जनाको मृत्यु भएको छ। बाढी पहिरो र डुबानका कारण ३२ जना बेपत्ता भएका छन् भने ४० जना घाइते भएका छन्।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएका र तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए।

अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ। अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ।

बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ। तीनै तहका सुरक्षा निकायका ४१ हजारभन्दा बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन्।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्