असार सकियो, रोपाइँ सकिएन

कञ्‍चपुर-असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन्।

कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए। उनले जिल्लाको उत्तरी भेगमा सिँचाइ सुविधा नभएका कारण १५ प्रतिशत रोपाइँ गर्न बाँकी छ।

महाकाली सिँचाइ तेस्रो चरणको नहर बनेपछि जिल्लाका उत्तरी भेगमा सिँचाइ सुविधा पुग्ने बताइएको छ।

अधिकांश किसानहरुले भूमिगत सिँचाइबाट रोपाइँ गरेपनि यो वर्ष वर्षा नहुँदा साउनसम्म रोपाइँ हुन नसकिएको हो।

सुदूरपश्चिम प्रदेशका लागि अन्न भण्डारको रुपमा चिनिने कञ्चनपुरमा ११ हजार हेक्टर क्षेत्रफमा मात्रै सिँचाइ सुविधा पुगेको छ।

महाकाली सिँचाइअन्तर्गत पहिलो र दोस्रो चरणबाट भीमदत्तनगर र बेल्डाँडी क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।

महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाको बनिसकेपछि यहाँको ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने केन्द्रले जनाएको छ।
–––

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्