भारतको हमलापछि बन्द गरिएकाे हवाई क्षेत्र पाकिस्तानद्वारा खुला

एजेन्सी– पाकिस्तानको नागरिक उड्यन प्राधिकरण (सीएए)ले भारतद्वारा पाकिस्तानको बालाकोटमा हमला गरेपछि बन्द गरिएको हवाई क्षेत्र खुला गर्ने घोषणा गरेको छ।

गत फेव्रुअरी १४ मा जम्मुकश्मीरको पलुवामा हमलापछि भारतले जवाफी कारवाहीको क्रममा फेब्रुअरी २८ मा पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो। उक्त हमलापछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो।

पाकिस्तानको हवाई क्षेत्र खुला गर्ने यो निर्णयबाट समस्यामा परेका भारतकाे सरकारी कम्पनी एयर इण्डियालाई राहात मिलेको छ।

पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि एयर इण्डियाले अन्तर्राष्ट्रिय उडानका लागि अन्य रुटको उपयोग गर्नु परेको थियो। जसबाट करौडौँ रुपैयाँको घाटा लागेको थियो।

पाकिस्तानको नागरिक उड्ड्यन प्राधिकरणले सोमबार राति एक सूचना जारी गर्दै भनेको छ,‘तत्कालका लागि पाकिस्तानको हवाई क्षेत्र सबै प्रकारका नागरिक उडानका लागि खोलिएको छ।

पाकिस्तानको हवाई क्षेत्र बन्द गरिएपछि भारतीय विमान कम्पनीले (विशेष गरी एयर इण्डिया) दैनिक करोडौँ रुपैयाँ घाटा व्यहोर्नु परेको थियो।

राज्यसभामा जुलाई ३ मा भारतका नागरिक उड्ड्यन मन्त्री हरदीप सिंह पुरीले एक तथ्यांक पेश गरेका थिए जसमा एयर इण्डियालाई जुलाईसम्म ४ सय ९१ करोड भारतीय रुपैयाँ घाटा भएको उल्लेख थियो।

यस्तै नीजि एयरलाइन्स कम्पनी स्पाईसजेटलाई ३०.७३ करोड, इण्डिगोलाई २५.१ करोड र गो एयरलाई २.१ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको थियो।

पाकिस्तानको हवाई क्षेत्र बन्द गरिएपछि एयर इण्डियाले युरोप र अमेरिकी शहरकाे उडानका लागि लामो रुटको प्रयोग गर्नुपरेको थियो र कैयौँ अन्तर्राष्ट्रिय उडानसमेत रद्द गर्नुपरेको थियो।

इण्डिगोले दिल्लीबाट इस्तानवुलका लागि सिधा उडान बन्द गर्नुपरेको थियो। जसका लागि विमान कतारको दोहामा रोकिनुपर्ने अवस्था थियो।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्