अमेरिकाबाट फर्किए प्रधानसेनापति थापा

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित चिफ डिफेन्स कन्फेरेन्स कार्यक्रममा भाग लिएर मंगलबार स्वदेश फर्किएका छन्।

प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्मड् फोर्सले आयोजना गरेको फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी (डब्लुपीएस) नेटवर्किक मिटिङ तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको चिफ डिफेन्स कन्फेरेन्समा सहभागि हुन त्यसतर्फ गएका थिए।

भ्रमणको दौरान प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरु लगायतसँग भेट गरेका थिए। यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालयमा भएको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा यहि असार २३ गते संयुक्त राज्य अमेरिकातर्फ गएका थिए।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्