असार सकियो, बाँकेमा ४५ प्रतिशत मात्रै रोपाइँ

फाइल तस्बिर

नेपालगञ्ज– असार सकिँदा पनि बाँकेमा ४५ प्रतिशत मात्रै रोपाईँ भएको छ। जिल्लामा यतिबेला किसानलाई रोपाईको चटारो छ।

आकाशे पानीको भरमा रहेको बाँकेमा पछिल्लो हप्ता निरन्तर पानी परेपछि किसान रोपाईँमा जुटेका हुन्।

परसपुरका रामकुमार काँदु यतिबेला बिहानैदेखि खेतमा छन्। परसपुर–गौघाट सडकको पर्ने जग्गामा उनी धान रोप्न व्यस्त छन्। अग्लो ठाउँमा जग्गा भएकाले निरन्तर पानी पर्दासमेत उनको कति गरामा पानी थिएन। होचो भागमा उनले जोतिरहेका थिए, रोप्ने मेलो बनाइरहेका थिए। काँदु भन्छन्, ‘यही दश कठ्ठा रोपेर वर्षभरीको खाना बनाउँछु।’

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जिल्लामा ४५ प्रतिशत रोपाईँ भएको जानकारी दिए। उनका अनुसार सिँचित क्षेत्रमा रोपाईँ सकिएको छ। निरन्तर पानी परेकाले उच्च ठाउँहरुमा पनि रोपाई चलिरहेको छ।

बाँकेमा ४६ हजार पाँच सय हेक्टरमा धानी खेती हुने गर्दछ। असार ८ गते परेको पानीमा बिउ राखेका किसानले अहिले रोपाईँ गरिरहेका छन्। सिंचित क्षेत्रका लागि किसानले त्यसअघि नै बिउ राखेका थिए। असार १५ गते धान दिवस मनाइरहँदा जिल्लामा ७ प्रतिशत धान रोपाईँ भएको थियो।

बाँकेमा ढिलो रोपाईँ हुने गर्दछ। साउन महिना बाँकी रहेकाले यसरी नै पानी परेमा किसानले समयमै रोपाई सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाई छ।

जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको काम नसकिँदा किसानले दुःख पाएका छन्। सिक्टाको काम सकिँदा जिल्लाको ४३ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ। सिक्टाको मुल नहरको काम करिब सकिएको छ।

२०७३ र गतवर्ष सिक्टामा पानी परीक्षण गर्दा मूल नहर नै भत्किएपछि यसपाली पानी परीक्षणसम्म गरिएको छैन। पानी परीक्षण गर्दा सफल भएमा केही ठाउँमा पानी छोड्ने आयोजनाको योजना रहेको थियो। दुई पटक पानी छोड्दा दुवै पटक मूल नहर भत्किएपछि आयोजनाका अधिकारी पानी छोड्न हच्किएका छन्।

जिल्लामा धानखेत मास्ने प्रवृत्ति पनि बढेको छ। किसानको भन्दा जमिन्दारको हातमा जमिन हुँदा उसले सकेसम्म रुख रोपेर धान खेत मासेको छ। धेरै दुःख गरेर उत्पादन गरिने धानको मूल्य कम हुँदा खेत भएकाहरुले प्लटिङ गरेर बेच्ने या रुख रोपेर छोड्ने गरेका छन्।

जिल्लाको खजुरा क्षेत्रमा धानको खेतको बीचमा ठूल्ठूला इट्टाभट्टा बनाइएको छ। सिँचाई नहुँदा आकाशे पानीको भरमा पर्नुपर्ने, समयमा मल बिउ नपाउनु, खेती गर्ने युवापुस्ता विदेशतिर जानु जस्ता कारणले वर्षेनी जिल्लामा धान उत्पादनमा ह्रास आइरहेको छ।

५ नम्बर प्रदेशको धेरै धान उत्पादन हुने बाँके र बर्दियामा धानखेत बाँझो हुने स्थिति आएको छ। बटैया गर्ने मान्छे नपाएर खेतबारी बाँझो हुने अवस्था आएको छ। यद्यपि, प्रदेश सरकारले खेत बाँझो राख्नेलाई कारबाही गर्ने नीति अघि सारेको छ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्