साउन १ गतेदेखि इन्टरनेटको मूल्‍य बढ्ने, अब कति तिर्नुपर्छ ?

फाइल तस्बिर ।

काठमाडौं- साउनदेखि १ गतेदेखि उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्यमा वृद्धि हुने भएको छ। इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अध्‍यक्ष भोजराज भट्टका अनुसार सरकारले नै लागू गरेको १३ प्रतिशत करको मूल्‍य कायम राख्दै इन्टरनेटमा लाग्‍ने शुल्कमा वृद्धि हुनेछ।

उनले भने, ‘हामीले सरकारले चालू आर्थिक वर्षदेखि ७६/७७को बजेटमै आधारित रहेर इन्टरनेटको मूल्‍य कायम गर्नेछौँ। साथै उक्त रकम सरकारलाइ नै बुझाउने छौँ।’

सरकारले चालू आर्थिक २०७६/७७ को बजेटमा १३ प्रतिशत कर लगाउने भएपछि इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेटको मुल्‍य साउनदेखि १३ प्रतिशत बढ्‍ने उनको भनाइ छ।

उनले देश सञ्‍चारसँग कुरा गर्दै भने, ‘ बजेटमा १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन भएन। गत साउनमा सरकारले इन्टरनेटको मूल्‍यमा समायोजन गर्ने भन्‍दै हामीलाई पटक सम्झौता गरेर झुक्‍यायो। तर यस वर्षको बजेटमा इन्टरनेटको मूल्‍य समायोजन गर्ने कुरा आएन। हामी गत वर्षकै घाटा बेहोरिरहेका छौ। अब हामीले घाटासहित जोडेर १३ प्रतिशत मूल्‍य बढाउनु पर्ने बाध्‍यता आएको छ।’

उनले भने, ‘अब हामी घाटा खाएर त कसरी इन्टरनेट सेवा दिन सक्छौँ? त्‍यसकारण घाटासहित सेवा प्रदायकले वितरण गर्ने राउटर लगायत उपकरणमा छुट्टै विलिङ गर्नेछ भने इन्टरनेटको मूल्‍यमा भ्‍याट समेत जोडेर शुल्क लिनेछ।’

सरकारसँग धेरै चरणमा वार्ता र सम्झौता भएपनि आइएसपानलाई बेवास्ता गरेको गुनासो गर्दै उनले अब इन्टरनेटको मूल्‍य बढाउनुको विकल्प नरहेको बताए।

उनका अहिले भ्याटसहित १ हजार १ सय ३० रुपैयाँ बुझाउने उपभोक्ताले अब साउनदेखि भ्‍याटसहित १ हजार ३ सय ५६ रुपैयाँ बुझाउनु पर्नेछ। उनले इन्टरनेटको मूल्‍य बाध्य भएर बढाउन परेको र त्यो उपभोक्तासँगै नै असुली गरिने बताए।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्