पर्यटन पर्वद्धनका लागि डोल्पो महोत्सव हुने

काठमाडौँ– डोल्पामा आगामी भाद्र २४ देखि २८ गतेसम्म डोल्पा महोत्सव हुने भएको छ।

मंगलबार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी डोल्पाेबुद्ध गाउँपालिका र भिजन डोल्पो संस्थाको संयुक्त आयोजनामा महोत्सव हुने जानकारी दिइएको हो।

नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने उद्देश्य र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय अभियानको साझेदार बन्न डोल्पाे महोत्सव गरेको आयोजकले जानकारी दिएको छ।

सो महोत्सवमा १५ सय देखि दुई हजारसम्म आन्तरिक र बाह्य प्रर्यटक भित्र्याउने र महोत्सवबाट एकदेखि दुई करोडसम्म आम्दानी हुने आयोजकले लक्ष्य लिएको छ। यस्तै अहिलेसम्म महोत्सवका लागि दुई सयले स्टल बुक गरिसकेको पनि आयोजकले जानकारी दिए।

डोल्पा क्षेत्र बाह्य पर्यटकको आगमनको लागि नौला गन्तव्य बनेको छ। प्राकृतिक रुपमा पुथा हिमाल, कान्जिरोवा हिमाल, धौलागिरि, मुकोट, डाँफेसेल, नोर्वुगाङ्ग, शे शिखर, डोल्पा, चुरेन हिमाल र नाम नखुलेका कयौँ हिमालहरु तथा फोक्सुँडो ताल, फोक्सुन्डो झरना, घयाकोच्येन लगायतका पर्यटकिय क्षेत्र रहेका छन्।

डोल्पो महोत्सवमा गोन्पाहरुबाट मुखौटा नृत्य, विभिन्न साँस्कृतिक नृत्य, हस्तकलाका परम्परागत साधनहरु, घोडा दौड लगायत अन्य कुराहरु पनि समावेश गरिने छ।

यस महोत्सवबाट डोल्पाका पर्यटकको आगमनमा वृद्धि भई स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार हुने, समग्र देशको राजस्व वृद्धिमा टेवा पुग्ने र होटल तथा होमस्टे संचालन गर्न प्रोत्साहन मिल्ने अपेक्षा आयोजकले गरेको छ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्