टोखा नगरपालिकामा एलपी ग्याँस दुर्घटनाबारे सचेतना कार्यक्रम

काठमाडौँ- ग्याँसको बढ्दो प्रयोग र यससँगै बढ्दै गएको दुर्घटना न्यूनिकरणका लागि ओम ग्याँसले टोखा नगरपालिकामा एक सचेतना कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हरेक घरको भान्छामा पुग्‍ने ग्याँसको प्रयोगमा ध्यान दिनुपर्ने बताए। ‘हरेक भान्छामा पुग्ने ग्याँस प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ। रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ।’ उनले भने।

अधिकारीका अनुसार ग्याँस सुरक्षित प्रयोगका लागि नगरपालिकाभित्र सचेतना कार्यक्रम गर्ने प्रतिवद्धता समेत जनाए। ‘ग्याँसको सुरक्षित प्रयोगको जानकारी गराउन बजेट पनि विनियोजन गर्नेछौँ’, उनले भने, ‘हाम्रो क्षेत्रमा बसोबास गर्ने जनतालाई सुरक्षित बनाउने प्रयास सधैँ रहन्छ।’

कार्यक्रममा नेपाल आयल निगमका प्रतिनिधि सुमन पुडासैनी, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि मनोज उपाध्यायय लगायतले कार्यक्रमले जनस्तरमा सचेतनाका लागि प्रभावकारी भूमिका खेल्न यस किसिमको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।

त्यसैगरी, ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वर श्रेष्ठले आफू नेतृत्वमा आउँदा गरेको प्रतिवद्धता अनुसार बिक्रेताको कमिशन बढेको बताउँदै अब डिलर प्रमाणिकरणलाई प्राथमिकतामा राखेको बताए। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले महासंघले ग्याँसको सुरक्षित प्रयोगका लागि विभिन्न नगरपालिकाको सहकार्यमा सचेतना कार्यक्रम गर्दै आएको बताए।

कार्यक्रममा ‌ओम ग्यासका अध्यक्ष हरिप्रसाद पाठकले आफू ग्याँस क्षेत्रको सुधारका लागि सधैँ प्रतिवद्ध रहेको बताउँदै त्यही प्रतिवद्धता अनुसार सचेतना कार्यक्रम गरेको बताए। ‘म ग्यास उद्योग संघको अध्यक्ष हुँदा सुधारको कार्यक्रम अघि बढाएको थिए। अहिले नेतृत्वमा नभए पनि सुधारलाई निरन्तरता दिइरहेको छु’, पाठकले भने, ‘हामी उद्योगी मात्रै होइनौँ उपभोक्ता पनि हौँ।हामीले पनि यही ग्याँस प्रयोग गर्छौँ। त्यसैले ग्यास उद्योगको पूर्वाधारदेखि ढुवानीसम्ममा सुरक्षालाई ध्यान दिइरहेका छौँ।’

केही वर्ष अघिसम्म आयल निगमले नै ग्यास सचेतना कार्यक्रम गर्नुपर्ने भन्दै अडान राख्दै आएका उद्योगीहरु पछिल्लो समयमा आफै सचेतना अभियानका लागि अग्रसर हुन थालेका हुन्।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्