नेकपाको एकीकरण प्रक्रिया

संगठन, विदेश र स्कुल विभागको नेतृत्व चयननमा विवाद कायमै

नेकपा प्रदेश २ ले रौतहटमा आयोजना गरेको आम सभामा अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल । तस्बीर / दीपा दाहाल

काठमाडौँ– सांगठनिक एकीकरणका क्रममा भागबण्डाको टुंगो लगाएपनि पार्टीको महत्वपूर्ण र शक्तिशाली मानिएका तीन विभागको नेतृत्व चयन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा पेचिलो बनेको छ।

पार्टीका ३२ वटा विभागमध्ये १८ वटा विभागको नेतृत्व पूर्व एमालेले गर्ने र १४ वटा विभागको पूर्व माओवादीले गर्ने समझदारी पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार र मंगलबारको छलफलले निकालेपनि संगठन, विदेश र स्कुल विभागको नेतृत्व चयनमा सकस भएको हो।

तर साउन पाँच गतेसम्म त्यसको टुंगो लगाइसक्ने समझदारी दाहाल र ओलीले गरेको सचिवालयका एक सदस्यले देशसञ्चारलाई बताएका छन्।

उनका अनुसार विदेश विभागको नेतृत्व पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफुले गर्नु पर्ने माग राख्दै आएपनि त्यसमा दाबी पार्टी प्रवक्ता नायरायणकाजी श्रेष्ठको पनि छ।

यस्तै संगठन विभागको नेतृत्वमा ओलीले रामबाहादुर थापा बादललाई राख्ने चाहेको तर दाहाल पक्षले बामदेव गौतमको नाम अघि सारेको ती नेताको दाबी छ ।

पार्टीको विधान अनुसार ‘एक व्यक्ति, एक जिम्मेवारी’ हुनुपर्ने संगठित माग कार्यान्वयन गर्नु पर्ने दबाब ओलीलाई परेपछि गृहमन्त्री समेत रहेका बादलले उक्त विभागको जिम्मेवारी पाउने संभावना कम छ।

यस्तै स्कुल विभागको प्रमुखमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दाबी गरेका छन्। त्यसको नेतृत्व गर्ने इच्छा प्रवक्ता श्रेष्ठले पनि देखाएको बुझिएको छ।

यी विभागहरुको नेतृत्व चयन आफुहरुको छलफलबाट मात्रै संभव नभएपछि आगामी पाँच गते ११ बजे बस्ने सचिवलय बैठकमा त्यसबारे छलफल गर्ने मनस्थितिमा दाहाल र ओली रहेका छन्।

हरेक विभाग ३५ सदस्यीय बनाउने पूर्व सहमतिका आधारमा २० पूर्व एमाले र १५ पूर्व माओवादीबाट सदस्य बनाउने सहमति ओली दाहालको पछिल्लो छलफलले जुटाएको हो।

अन्य कुन कुन विषयमा भयो सहमति ?

लामो रस्साकसीपछि दाहाल र ओलीले पार्टीको जिल्ला इन्चार्ज र सहइन्चार्ज पुरानै मापदण्ड अनुसार बनाउने सहमति यसअघिनै गरिसकेका छन्।

त्यसमा ४० भन्दा बढी जिल्ला पूर्व एमालेको र ३० भन्दा पूर्व माओवादीको पार्ने गरी छलफल अघि बढेको छ।

यस्तै २ सय २१ सदस्यीय जेष्ठ नागरिक मञ्चको एक सय २१ सदस्य पूर्व एमालेबाट बन्ने र एक सय पूर्व माओवादीबाट बन्ने सहमति ओली र दाहालबीच भएको छ।

यस्तै २ सय २१ सदस्यीय नै केन्द्रीय सल्लाहकार कमिटिमा पनि एक सय २१ पूर्व एमालेका तर्फबाट राख्ने र एक सय पूर्व माओवादीबाट राख्ने सहमति उनीहरुबीच भएको छ।

यता ३१ सदस्यीय अनुशासन आयोगका लागि १८ जना पूर्व एमालेबाट, १३ जना सदस्य पूर्व माओवादीबाट राख्ने सहमति भएको छ। उक्त आयोगको नेतृत्व पूर्व एमालेको अनुशासन आयोगको नेतृत्व गरेका अमृत बोहोरालाई बनाउने संभावना छ।

यस्तै त्यही अनुपातमा भागबण्डा गरिएको निर्वाचन आयोगको नेतृत्वमा पूर्व माओवादीको अनुशासन आयोगको नेतृत्व गरेका अमिक शेरचनलाई दिने संभावना छ ।

लेखा परिक्षण आयोगमा पूर्व एमालेका पुष्प कँडेललाई बनाउने संभावना छ। यसबारे आगामी सचिावलय बैठकले टुंगो लगाउने तयारीमा नेकपा जुटेको छ।

यसबीचमा पूर्व एमाले र माओवादीले आआफ्नो भागमा परेका सदस्यको नामावली टुंगो लगाउने प्रयास गर्ने छन्।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्