जजमेन्टल है क्या

कंगना रनौतले पछिल्लो विवादबारे यस्तो गरिन् दाबी…

पत्रकारसँगको विवादका कारण चर्चामा रहेकी अभिनेत्री कंगना रनौतले आफूले कुनै पनि हिसाबमा सीमा ननाघेको दाबी गरेकी छन् ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जजमेन्टल है क्या’ को गीत सार्वजनिक गर्ने कार्यक्रममा अभिनेत्री कंगना र पिटिआईका पत्रकार जस्टिन रावबिच विवादको अवस्था सिर्जना भएको थियो ।

विवाद बढ्दै गएपछि कंगनाले जस्टिनका प्रश्नको जवाफ नदिने बताएकी थिइन् । कंगनाले पत्रकारको अपमान गरेको भन्दै बलिउडका मनोरञ्जन पत्रकारहरुको संस्थाले उनले माफी माग्नु पर्ने बतायो । कंगनाले माफी मागेकी छैनन् र मनोरञ्जन पत्रकरहरुले कंगनामाथि प्रतिबन्ध लगाएको बताएका छन् ।

तर कंगनाले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताको क्रममा आफूले सो विवादको क्रममा सीमा ननाघेको बताएकी हुन् । बलिउडका केही सञ्चारमाध्यमहरु चलचित्र माफियाको नियन्त्रणमा रहेको र ती सञ्चारमाध्यमले माफियाहरुकै हितमा काम गर्ने कंगनाले बताएकी छन् ।

चलचित्र माफियाहरुको पक्षपोषण गर्ने र राम्रो काम गरिरहेका कलाकार तथा राम्रो चलचित्रहरुलाई पनि निरुत्साहित गर्ने प्रवृत्तिको विरोध आफूले गरेको कंगनाको दाबी छ ।

बलिउड चलचित्र उद्योगका ठूला घराना तथा समूहसँग आफ्नो टकराब तथा आफ्नो सफलताबाट अत्तालिएकाहरुको समूहले सुरु गरेको खराब ध्रुवीकरणको विरोधमा आफू रहेको उनले बताएकी छन् ।

सन् २०१४ मा क्वीन चलचित्र सफल भएसँगै आफ्नो करिअर अहिलेको अवस्थामा आइपुग्नुमा सञ्चारमाध्यमको ठूलो भूमिका रहेको बताएकी कंगनाले केही सञ्चारमाध्यमहरु भने आफ्नो विरुद्धमा एकनासले लागि परेको दाबी गरिन् ।

कंगनाले पत्रकार रावसँगको ‘झगडा’ पछि बनाएको भिडियोले थप विवाद चर्किएको हो । सो भिडियोमा उनले पत्रकारहरुलाई ‘बिकाउ’ र ‘एन्टिनेशनल’ रहेको बताएकी थिइन् ।

त्यसबारे उनले आफ्नो उद्देश्य पत्रकारको नाममा रहेका खराब पक्षहरुलाई हटाउनु पर्छ भन्नेमा रहेको बताएकी छन् । तर आफ्नो बारे हुने तर्कपूर्ण आलोचनालाई स्वागत गर्ने र आफूमा ल्याउने पर्ने सुधारका लागि तयार रहेको कंगनाले दाबी गरेकी छन् ।

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्