पिल्लर हेर्दै डुंगा तर्दै स्थानीय

ठेक्का भएको ५ वर्षसम्म पनि पुल बनेन

धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका जोड्ने मोहना पुल ठेक्का भएको पाँच वर्ष सम्म पनि बनेको छैन। पुल बन्छ र आवत जावतमा सजिलो हुन्छ भनेर आशमा बसेका स्थानीय पुलका पिल्लर हेर्दै डुङगाको जोखिमपुर्ण यात्राबाट नदी पार गरिरहेका छन्।

२०७१ सालमा तीन वर्ष भित्र निर्माण गरिसक्ने गरी कृष्णपुर धनगढी जोड्ने मोहना पुल एलाईड एडभेन्चर कन्ट्रक्सनले ठेक्का पाएको थियो। ठेक्का पाएको पाँच वर्ष बित्यो, तीन पटक म्याद थपियो अझै पुलको काम भने ५५ प्रतिशत मात्रै भएको सडक डिभिजन साइड कार्यालय धनगढीले जनाएको छ।

पहिलो सम्झौता अनुसार आठ करोड रुपैयाँ लागतमा निर्माण गर्ने गरी ३ वर्षको अवधिमा निर्माण गरिसक्नु पर्ने सर्त सहित सम्झौता भएपनि सो अवधीमा पुलको काम २० प्रतिशत मात्रै सम्पन्न भयो।

त्यसपछि २ वर्ष समय थपिए पनि काम पूरा भएन । सडक डिभिजन कार्यालयले अन्तिम मौका दिएर २०७६ असार मसान्त सम्मको समय थपेपनि सो पुलको काम अझै ५५ प्रतिशतमा सीमित छ।

पुलको काम समयमै सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार पठान सिंह बोहराले स्थलगत अनुगमन गर्दै ठेकदारलाई निर्देशन समेत दिएका थिए । तर त्यसको पनि एलाइड एड्भन्चरका सञ्चालक चन्द्र शेखर मल्लले वास्ता गरेनन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले गत असोजमा सो पुलको अनुगमन गरेका थिए । सो क्रममा मल्लले जेठ मसान्त भित्र पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाएका थिए।

ठेकेदारको चरम लापर्वाहीका कारण दुई पटक सम्म पुल नबनेपछि मारमा परेका कृष्णपुर नगरपालिकाका तथा धनगढी उप–महानगरपालिकाका स्थानीय आक्रोशित बनेका छन्।

स्थानीय तहको निर्वाचन देखी संघ र प्रदेश निर्वाचनमा समेत पुल निर्माण लाई पहिलो प्राथमिकता दिने घोषणा गरेका नेता चुनाव जितेपछि भने गाउँमा फर्केर समेत नआउने गरेका सो क्षेत्रका स्थानीयको गुनासो छ।

‘निर्वाचनको बेला खै कस्को पहलमा पुल निर्माण कार्य सुरु समेत भएको थियो’ स्थानीय नरेश केसीले भने–‘निर्वाचन सम्पन्न भएपछि भने चुनाव जितेर गएका नेता पनि गाउँमा आएका छैनन्, ठेकेदारले पुल निर्माणमा ध्यान दिएनन् ।’ पटक–पटक पुल निर्माणको म्याद थप गरिएको भएपनि पुल निर्माणको जिम्मा पाएको एलाईड एडभेन्चर प्रालीले पुल निर्माण गर्न नसकेको उनले बताए।

कञ्चनपुर क्षेत्र नम्बर २ मा पर्ने सो क्षेत्रबाट संघीय संसदमा नरबहादुर धामी र प्रदेश संसदमा महेशदत्त जोशीले जितेका थिए’, वडा नम्बर ८ का स्थानीय बिरु चौधरीले भने–‘अहिले चुनाव जिते पछि न त नरबहादुर धामी नै गाउँमा आएका छन्, न त जोशी नै।’ नदीको सतह सामान्य हुँदा समेत स्थानीयले ५० रुपैयाँ सम्म भाडा तिरेर डुङ्गाको जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।

‘सो क्षेत्रका केही मानिसले विद्युतिय रिक्सा व्यवसाय सञ्चालन समेत गरेका छन्’ व्यवसायी भुपेन्द्र केसीले भने–‘गाउँ सम्म रिक्सा पुर्‍याउने बाटो नहुँदा धनगढीमै कोठा भाडामा लिएर रिक्सा राख्ने गर्दथ्यौ, तर पछिल्लो समय गाउँका केही युवाले मोहनामा स्काई फोल्डर प्रविधीको पुल निर्माण गरे पछि दैनिक ५० रुपैयाँ तिरेर गाउँ सम्म रिक्सा पुर्‍याउने गरेका छाैँ।’ नदीमा पानीको बहाफ बढेको खण्डमा भने अझै पनि धनगढीमै रिक्सा राखेर घर जानु पर्ने बाध्यता रहेको उनले बताए । पुल अभावका कारण विद्यार्थीले स्कुल छोड्नु पर्ने बाध्यता हुने गरेको उनको दुखेसो छ ।

धनगढीसँग नजिकै सिमाना जोडिएको भएपनि नदीका कारण आफूहरुको दैनिकी अझै कष्टकर रहेको स्थानीय देवबहादुर विष्टले बताए । कृषि व्यवसाय गरेर पनि स्व–रोजगार बन्न सकिने सो क्षेत्रमा हाल सम्म पुलका कारण केही गर्न नसकिएको उनले बताए ।

यो सँगै एलाईड एडभेन्चर कन्ट्रक्सनलाई ठेक्का परेका जिल्लाका अरु दुई वटा पुल पनि अलपत्र परेका छन् । कन्ट्रक्सनले ठेक्का पाएका कैलालीकै शिवगंगा नदीमा निर्माणाधीन पुल र लम्कीको पथरैया नदीमा निर्माणाधिन पुल पनि अलपत्र छन् ।

लम्की चुहा नगरपालिका स्थित पथरैया नदीमा निर्माणाधिन पुलको म्याद पनि सकिएको छ । २०७४ सालमा दुई बर्ष भित्रै काम सम्पन्न गर्ने गरी एलाइड एडभेन्चर प्रालिले नै सो पुल निर्माण गर्ने जिम्मा लगेको थियो । जेठ मसान्त सम्म निर्माण गरिसक्नु पर्ने पुलको काम ५० प्रतिशत पनि पुरा हुन सकेको छैन । ८ करोड रुपैयाँको लागतमा दुई खण्डमा निर्माण गरिनुपर्ने पुलका लागि अहिले म्याद थप्ने तयारी भइरहेको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर–७ स्थित शिवगंगा नदीमा निर्माण हुने १२ करोड रुपैयाँ लागतको एक सय ५० मिटर लम्बाई भएको पुलको पनि दुई वर्ष सम्मको काम हेर्दा निरासा जनक नै देखिन्छ । पुल निर्माण गरिसक्नु पर्ने म्याद अझै एक वर्ष बाँकी भएपनि हाल सम्म पुलको प्रगति सन्तोष जनक नभएको सडक डिभिजन साईड कार्यालय धनगढीका प्रमुख अर्जुन बमले बताए ।

उनले मोहना नदीमा निर्माणाधिन पुलको म्याद दुई पटक थपिसकेका कारण अब भने म्याद नथपिने बताए । ‘म्याद भित्र काम सम्पन्न नभएको अवस्थामा म्याद गुजे्रको दोश्रो दिन देखि प्रत्येक दिन शून्य दशमल ०५ प्रतिशतका दरले ठेक्का रकमको विगो तिर्नुपर्ने कानूनी प्रावधान रहेको छ’ साइड कार्यालय प्रमुख बमले भने–‘अब मोहना पुलको हकमा एलाइड एडभेञ्चरले सो अनुसारको विगो तिर्नुपर्ने हुन्छ, अन्यथा सो कम्पनीलाई बल्याक लिष्टमा राखिने छ ।’

एउटा निर्माण व्यवसायीले एक ठाउँमा लगेको ठेक्का पुरा नगरी अर्को ठाउँमा काम दिन नमिल्ने प्रावधान भने नभएको उनले बताए । उनले पुल निर्माणको म्याद थप्ने बारेमा सोच्न पनि नसकिने बताए । ‘अव जनतालाई जवाफ दिने ठाउँ छैन’ उनले भने–‘त्यसैले पनि म्याद थपिँदैन, अब कानूनी प्रक्रिया अनुसार कारवाहीको प्रक्रिया सुरु हुन्छ ।’

एलाइड एडभेञ्चरका कन्ट्रयाक्ट इन्चार्ज दिनेश बटालाले भने मोहना नदीमा अझै एक वर्ष म्याद थप्ने तयारी भइरहेको बताएका छन् । आर्थिक अभावका कारण समयमै मोहना नदीमा निर्माणाधीन पुलको काम सम्पन्न गर्न नसकिएको उनले बताए । उनले मोहना पुलको काममा अल्झिएका कारण अन्य दुई वटा पुलको काम पनि ढिला सुस्ती भएको बताए । पथरैया नदीमा निर्माण हुने पुलको म्याद पनि अझै एक वर्ष थप्ने तयारी भइरहेको उनको भनाई छ ।

शिवगंगा नदीमा निर्माणाधिन पुलको काम सन्तोषजनक अवस्थामा अघि बढ्न नसकेको उनले स्वीकारे । उनले भने–‘मेनपावर जुटाउन र सामाग्री जुटाउन समस्या भएका कारण केही ढिलाई भएको छ, हाम्रो योजना अनुसार काम भए एक बर्षमा काम सक्छौं ।’

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्