इतिहास घोकेर देश जोगाउन सकिन्न!

यही त्रिभुवन विश्वविद्यालय कुनै समयमा भारतीय विश्वविद्यालय भन्दा दशौं बर्ष अगाडि छ भनेर भारतीय विश्व विद्यालयका प्राध्यापकहरू बताउँथे।

महाराजगञ्जको मेडिकल कलेज, पुल्चोकको इञ्जिनियरिङ्ग कलेज, किर्तिपुरको त्रिवि अन्तर्गतको नेपाल तथा एसियाली अनुषन्धान केन्द्र (सिनास) त्रिवि कै आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) दक्षिण एसियाकै उत्कृष्टमा गनिन्थे।

काठमाडौँ विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तर र मर्यादा कायम गरेको थियो।

महेन्द्र प्रकृति संरक्षण कोष विश्वकै प्रतिष्ठित स‍ंस्था थियो।

नेपाली काङ्ग्रेस विश्वमै सम्मानित राजनीतिक दलको हैसियतमा थियो।

वीपी कोइराला अन्तर्राष्ट्रिय ख्यातिका नेता थिए।

नेपालको टेलिफोन सेवा र विद्युत वितरण सेवा भारतको भन्दा श्रेष्ठ थियो।

हेटौडा कपडा उद्योग र बिराटनगरको अशोक टेक्सटाल्सबाट उत्पादित कपडाहरू भारतीय उपभोक्ता माझ औधि लोकप्रिय थिए र भारतीय व्यापारीहरू ती कपडाहरू लुकाई लुकाई भारत तिर लैजान्थे I

नेपालमा उत्पादित जुटका सामग्रीहरु भारत र बंगलादेशमा हारालुछ हुन्थे।

नेपालका भारतसँग सीमा जोरिएका सबै जसो अंचलमा सरकारीस्तरमा धान -चामल निर्यात कम्पनीहरू थिए।

हामी धान -चामल निर्यातक राष्ट्र थियौं।

यस्ता धेरै कुरा छन्।

हो, आम जनतालाई छुने विकास खासै भएको थिएन।

जनता शक्ति र आत्मविश्वासहीन थिए।

२०४६ पछि आएर बाटो घाटो, कुलो-नहर, खानेपानी, स्कुल, कलेज, अस्पतालहरू, विद्युत, संचारका क्षेत्रमा अकल्पनीय प्रगति भएका छन्।

असाधारण उपलव्धि हाँसिल भएका छन्।

मिडिया क्षेत्रले अकल्पनीय प्रगति गरेको छ।

असाधारण शक्ति र प्रभाव आर्जन गरेको छ।

२०४६ अघिको समयसँग तिनको तुलना नै हुँदैन।

तर ती प्रगति वारेश विहीन छन्।

लक्ष र प्राथमिकता बिनाका छन्।

ती जनताका आवश्यकताका क्षेत्रका भन्दा सत्ताधारी र निहित स्वार्थ समूहका आर्थिक हित र स्वार्थ सँग जोडिएर आए र त्यस्तो विकास र प्रगतिबाट अकूत कमाउने यौटा नयाँ बर्ग निर्माण भयो।

शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, मिडिया, सबैले एउटा नयाँ अभिजात्य वर्ग निर्माण गर्‍यो।

विभिन्न पेशा, वर्ग र व्यवशायमा पेशागत वा ट्रेड युनियनको नाउँमा पनि शासक वर्ग!

विद्यार्थी, किसानमा पनि शासक वर्ग!

सार्वजनिक यातायातमा पनि शासक वर्ग।

अपराधी समूह पनि शासक वर्गकै रूपमा जनता समक्ष आए।

आम जनतामाथि सबैको शासन।

भ्रष्टाचार र विकासवीचको फरक छुट्याउन नै नसकिने भयो।

विकासको लक्ष जनता हुन् कि शासक वर्गको ठूलो कमाइधमाइको लक्ष हो बुझ्नै नसकिने भयो।

विकासले जनताको आशा, विश्वास र आस्था बोक्न नै सकेन ।

अवसर जति नेताका नातागोता र आसेपासेलाई!

मुलुक र पार्टीका लागि प्राप्त अवसर जति छोरी, बुहारी, छोरा,भतिजा, साला, सालीलाई वा ती अवसर खरिद गर्न सक्ने स्वार्थ समूहका व्यक्तिहरूलाई!

उही व्यक्ति आयल निगमको महा प्रवन्धक, अनि खाद्य संस्थानको महा प्रवन्धक पनि उही, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष पनि उही र मध्य पश्चिमान्चल विश्व विद्यालयको उपकुलपति पनि उही व्यक्ति।

अर्का योजना आयोगको उपाध्यक्ष थिए।

सो आयोगको उपाध्यक्ष हुँदाहुँदै राष्ट्र बैंकको गभर्नर भए, अनि मनोनीत सांसद र मन्त्री!

भूकम्प पछिको पुनर्निर्माण प्राधिकरणमा काङ्ग्रेसले पनि र एमालेले पनि घुमाइ घुमाई यौटै व्यक्ति!

पढिसकेर आउन पाएको हुन्न राजदुत!

न ज्ञान न अनुभव, अनि मुलुकको हित अन्तर्राष्ट्रिय समुदायमा कसरी प्रस्तुत हुने?

त्यत्रा ठूला पार्टी छन्।

मुलुकका लागि त्यत्रा योगदान गरेका सक्षम र निष्ठावान व्यक्तिहरू हजारौंको सङ्ख्यामा छन्।

तर कसैको छोरी भएकै कारण मेयर , बुहारी भएकै कारण मन्त्री बन्ने?

कसैको सम्धी र सासु हुँदैमा अवसर सुरक्षित हुने?

न्यायापालिकादेखि विश्व विद्यालय र संवैधानिक निकायहरू भागबण्डामा?

उच्च प्रहरी र प्रशासनिक निकायमा लेनदेनको आधारमा नियुक्ति?

अनि जनताले यिनलाई ऐतिहासिक, महान, गौरवशाली र क्रान्तिकारी भनिदिनु पर्ने!

यी सबैका विरूद्ध पार्टीका आम कार्यकर्ताको दायित्व निर्माण हुन्न?

आम कार्यकर्तामा यस्तो कायरता?

वौद्धिक समुदाय र संगठित सार्वजनिक सेवाका व्यक्तिहरू मुलकु र जनताप्रति उत्तरदायी हुनु पर्दैन?

यी सबैका विरूद्ध पार्टीका आम कार्यकर्ताको दायित्व निर्माण हुन्न?

आम कार्यकर्ता यस्ता कायर भएपछि पार्टी सप्रिन्छ? देश उठ्छ?

वौद्धिक समुदाय र संगठित सार्वजनिक सेवाका व्यक्तिहरू मुलुक र जनताप्रति उत्तरदायी हुनु पर्दैन?

कार्यकर्ता दास, वौद्धिक समुदाय दास , राज्य संयन्त्र भित्रका सबै दास, कसैमा न स्वाभिमान न राष्ट्रिय चेतना अनि आम जनतालाई कसले जगाउने?

अनि देशको भविष्य?

इतिहास प्रेरणा मात्रै हो – शक्ति र सामर्थ्य होइन!

इतिहास घोकेर देश जोगाउन सकिन्न!

देश बचाउने र प्रगति पथमा लैजाने भनेको वर्तमानको सामर्थ्यले मात्रै हो र दुखका साथ भन्नु पर्दछ वर्तमान नेपालको राजनीति र समाजले मुलुकलाई त्यो सामर्थ्य दिएन, दिन सक्दैन!

नयाँ सम्भावना बोकेर कोही आउनु नै पर्दछ!

नेपाली जनता माझबाट नै कोही निस्किनु पर्दछ।

(फेसबुकबाट)

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्