हरियो चुरा: कोही रहरले, कोही आसले

काठमाडौँ– साउन महिना सुरु भएसँगै महिलाहरुका लागि हरियो चुरापोते र मेहन्दी माहोल सुरु भएको छ। यतिबेला बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुदेखि सडक पेटीमासमेत देख्न सकिन्छ।

अरु समयमा नलगाए पनि साउन महिनामा महिलाहरुले विशेष रुचिका साथ हरियो चुरापोते र मेहन्दी लगाउने गरेको पाइन्छ।

न्युरोडमा मेहन्दी लगाउँदै गरेकी स्वयम्भूकी सानु लामाले साउन महिनामा सबैले मेहन्दी र हरियो चुरा लगाउने गरेको बताइन्। यो लामो समयदेखि चल्दै आएको नेपालीहरुको संस्कृति भएको उनको भनाइ छ।

अस्मिता ओली र उनकी बहिनी पनि न्युरोडमा मेहेन्दी लगाउँदै थिइन्। साउन महिनामा किन हरियो चुरा र मेहन्दी लगाएको भन्ने प्रश्नमा उनीहरुले आफूहरुलाई मन पर्ने र राम्रो श्रीमान् पाइन्छ भन्ने मान्यता भएकाले लगाएको बताए।

साउनमा महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन्। साउनको सोमबार भगवान शिवको नाममा व्रत बस्दा अविवाहितले राम्रो श्रीमान् र विवाहित महिलाले आफ्नो श्रीमानकाे लामो आयुको कामना गर्ने गर्छन्।

साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको मुजु श्रेष्ठलले बताइन्। उनले भनिन् ‘श्रीमानको दिर्घायुका लागि र आफूलाई पनि मन पर्ने भएकाले लगाउँछु।’

असनकी सञ्जु श्रेष्ठले साउन महिनामा सबैले हरियो चुरा र मेहन्दी लगाएको देखेर रहरले लगाएको बताइन्। तर उनलाई हरियो चुरा किन लगाउँछन् भन्ने कुरा थाहा नभएको पनि सुनाइन्।

देश सञ्चारका लागि पूर्णिमा बिकले खिचेका केही तस्बिरहरु : 

 

 

 

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्