९५ वर्षपछि एथ्लेटिको मड्रिडमा पहिलो इंग्लिस खेलाडी

इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका राइट–ब्याक किरन ट्रिपिएर स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । २८ वर्षका इंग्लिस खेलाडी २० मिलियन पाउण्डमा एथ्लेटिको मड्रिडमा अनुबन्धित भएका हुन् ।

उनी सन् २०१५ को जुनमा बर्नलीबाट टोटनह्याम आएका थिए । गएको जुनमा भएको च्याम्पियन्स लिग फुटबलको फाइनलसहित उनले टोटनह्यामबाट १०० खेलमा सहभागिता जनाए । टोटनह्यामसँगको उनको सम्झौता सन् २०२२ सम्मको थियो ।

रक्षापंक्तिमा एथ्लेटिको मड्रिडले यो ट्रान्सफर विण्डोमा अनुबन्धित गरेका उनी तेस्रो खेलाडी हुन् । प्रशिक्षक डिएगो सिमोनले यसअघि नै पोर्टोबाट राइट–ब्याक फिलिपे र ब्राजिलियन क्लब एथ्लेटिको पारानाएन्सीबाट लेफ्ट–ब्याक रिनान लोडीलाई अनुबन्धित गरिसकेका थिए ।

पछिल्लो ९५ वर्षमा एथ्लेटिको मड्रिडबाट खेल्ने ट्रिपिएर पहिलो इंग्लिस खेलाडी हुन् ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्