इबोला संक्रमण

कंगोमा फैलिएको इबोला महामारी विश्वव्यापी चासोको स्वास्थ्य आपतकाल

इबोला संक्रमित क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा जाँदै । तस्बिर : एएफपी–गेट्टी इमेज

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात अन्तर्राष्ट्रियस्तरमा चासो दिइनु पर्ने जनस्वास्थ्य आपतकाल रहेको बताएको छ ।

डब्लुएचओले कंगोमा फैलिएको इबोला संकटलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको हो ।

इबोलाविरुद्धको अभियानका लागि सम्पन्न देशहरुले थप आर्थिक सहयोग गर्नु पर्ने देखिएको छ । डब्लुएचओको घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खुल्ला गर्ने अपेक्षा गरिएको छ ।

डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नु पर्ने अवस्था भने नरहेको उल्लेख गरेको छ । कंगोका इबोला ग्रस्त क्षेत्र भन्दा बाहिर यसको संक्रमण फैलिने सम्भावना उच्च नरहेको डब्लुएचओको भनाई छ ।

इबोला महामारीका कारण कंगोमा अहिलेसम्म १६ सय जना भन्दा बढीको ज्यान गएको छ । यहि हप्ता गोमा क्षेत्रमा इबोलाको पहिलो संक्रमण पुष्टि भएको थियो । गोमा क्षेत्रमा १० लाख भन्दा बढी मानिसको बसोबास छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी क्षेत्रमा फैलिएको इबोला महामारीका कारण ११ हजार भन्दा बढीको ज्यान गएको थियो । कंगोमा पछिल्लो पटकको महामारी सन् २०१८ को अगस्टमा सुरु भएको हो ।

बेनीमा गएकाे इबाेलाकाे खोप गाडिँदै । तस्बिर: एपी

कंगोका नर्थ किभू र इतुरी प्रान्तमा महामारी छ । हालसम्म २५ सयजना भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा १६ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

संक्रमण फैलिएको २२४ दिनमा संक्रमित हुनेको संख्या एक हजार पुगेको थियो, तर त्यसको थप ७१ दिनमा संख्या दुई हजार पुग्यो । हाल दैनिक १२ जनामा इबोलाको नयाँ संक्रमण पुष्टि हुने गरेको छ ।

इबोला विरुद्धको खोप छ र हालसम्म एक लाख ६१ हजारमा खोप लगाइएको डब्लुएचओले उल्लेख गरेको छ । तर अझै पनि खोप लगाउन बाँकी धेरै छन् ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्