दाङमा खर्च हुन नसकेर फिर्ता भयो झण्डै दुई अर्ब बजेट

दाङ – संघ र प्रदेश सरकारबाट दाङमा आएको झण्डै दुई अर्ब विकास बजेट खर्च हुन नसकी फिर्ता भएको छ । बितेको आर्थिक वर्ष २०७५–७६ मा जिल्लामा संघ र प्रदेशबाट आएको विकास बजेट मध्ये १ अर्ब ९९ करोड ५१ लाख ६३ हजार ७ सय १३ रुपैयाँ खर्च हुन नसक्दा फिर्ता भएको हो ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय दाङले दिएको जानकारी अनुसार संघ सरकारबाट आएको ६ अर्ब १८ करोड ६७ लाख रुपैयाँ मध्ये ७४ करोड ६४ लाख २८ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट जिल्लामा आएको चालु र पूँजीगत बजेटमा एक अर्ब बढी रकम फिर्ता भएको छ । कार्यालयका सूचना अधिकारी अर्जुनकुमार डिसीका अनुसार प्रदेशको चालु र पूँजीगत तर्फ एक अर्ब ५ करोड ३९ लाख ३७ हजार २ सय ९९ रुपैयाँ बजेट खर्च नहुँदा फिर्ता भएको हो ।

यसैबिच संघ र प्रदेश सरकारबाट आएको रकममा विकास बजेट नै खर्च भएको छैन । विकास बजेट तर्फ एक अर्ब ६८ करोड ५ लाख २५ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको सूचना अधिकारी डिसीले जानकारी दिए, जसमा केन्द्रको ७४ करोड ६४ लाख र प्रदेशको ९३ करोड ५० लाख रुपैयाँ फिर्ता भएको छ ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्