असारमै अर्बौँ बजेट स्वाहा!

‘ओली सरकार आएपछि भ्रष्टाचार झनै बढ्यो’

मंगलबारदेखि सकिएको आर्थिक वर्ष २०७–७६ मा सरकारको विकास खर्च विगतका वर्षहरुमा जस्तै निरासा जनक देखियो । १६ महिनाअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बलियो र स्थिर सरकार बने पनि असारमा मात्र बजेटको ठूलो हिस्सा खर्च हुन अवस्थाको अन्त्य हुन सकेन ।

समयमै विकास बजेट खर्च नहुने अवस्थालाई अन्त्य गर्न संविधानले नै जेठ १५ गते बजेट ल्याउने र साउन १ गतेदेखि पूर्ण रुपमा कार्यान्वयनमा लैजाने अवस्था बने पनि सरकारको कार्यशैलीले विगतका वर्षहरुमा भन्दा बढी कुनै उपलब्धी हाँसिल हुन सकेन । असारमा मात्र कुल बजेटको २४ प्रतिशत खर्च भयो । विकास बजेटको ३५ प्रतिशत पनि असारमै खर्चियो । २ खर्ब ३० अर्ब ४६ करोड पूँजीगत खर्चमध्ये करिब ७९ अर्ब रुपैयाँ असारमा सकिएको छ ।

असारको अन्तिम एकै दिनमा मात्र ३२ अर्ब खर्च भयो । अर्थतन्त्रको यस्तो अवस्थाबारे पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीसँग देश सञ्चारका प्रकाश ढकालले कुराकानी गरेका छन् ।

गत आर्थिक वर्ष पनि सरकारी खर्चको अवस्थामा कुनै सुधार हुन सकेन । बलियो र स्थिर सरकार हुँदा पनि असारमै समग्र बजेटको २४ प्रतिशत र पूँजीगत बजेटको ३५ प्रतिशत खर्च भयो, यसलाई कसरी लिनुभएको छ?

राजनीतिक स्थायित्व भएपछि सरकार बलियो हुन्छ । बलियो सरकार भएपछि भ्रष्टाचार, अनियमितता हटाउन सकिन्छ, भन्ने एउटा हाइपोथेसिस थियो । तर नेपालमा त्यो हाइपोथेसिस सत्य भएन । पहिले के हुन्थ्यो भने नौ महिने सरकार हुन्थ्यो, कति समय आफू टिकिन्छ भन्ने थाहा हुँदैनथ्यो जसले गर्दा जतिसक्यो धेरै कुत उठाउने (भ्रष्टाचार गर्ने) गर्थे ।

यो समस्या स्थिरता आएपछि हट्छ भन्ने थियो । स्थिर सरकार आइसकेपछि अब हामीलाई सकैले केही गर्न सक्दैन, स्थिर सरकार भएकाले अझ बढी कुत खान सकिन्छ भन्ने मानसिकता विकास भएको छ । यो सरकारले भ्रष्टाचार घटाउने भन्दा पनि बढाउने काममा लागेको छ । स्थिर भएपछि मलाई कस्ले के गर्छ भन्ने मानसिकता बोकेको देखियो । स्थिरता दुई धारे हतियार जस्तो देखियो ।

एक धारे बञ्चरोले रुख मात्र काट्छ तर दुई धारे बञ्चरोले खुट्टा पनि काट्छ भन्ने अवस्था अहिलेको स्थिर सरकारको देखियो । भ्रष्टाचार नियन्त्रण गर्छु भनेर मुखले भने पनि व्यवहारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ भने त्यसलाई पाखण्ड भन्छन् । पाखण्डी प्रवृत्ति अहिले यो सरकारमा झन बढेर गएको छ । त्यही कारणले गर्दा डर कसैलाई पनि छैन । जसले गर्दा दायाँबायाँ नहेरिकन सरकार पैसा बाँड्न लागेको छ ।

यसरी पैसा बाँड्दा कति भ्रष्टाचार भएको छ भन्ने कुनै लेखाजोखा छैन । महालेखा परीक्षकले समेत भनिरहेको छ, दुरुपयोग भयो यसलाई नियन्त्रण गर भनेर । नियन्त्रण गर्ने नियत चाहिँ सरकारको छैन । त्यसैले यो सरकारबाट आर्थिक अनुशासन कायम हुन्छ भनेर कसैले कल्पना गरेको छ, त्यसो नगरे हुन्छ । १६ महिनाको सरकारको क्रियाकपलापले देखाएको छ–अनुशासन हिनता बढेर जान्छ र नेपाल विकासको नाममा स्रोत साधनमाथिको दोहन बढेर जान्छ ।

यसको प्रभाव लामो समयसम्म रहने भो नि ?

सुरुमा नयाँ सरकार आएपछि वास्ता नगर्ने प्रवृत्ति हुन्छ । तर सर्वसाधरणमा फ्रस्टेशन बढेर जान्छ । त्यो तह पनि बढेर गएपछि अनि आक्रोश हुन्छ । आक्रोशको सीमा चाहिँ कडा हुन्छ । अहिले सरकारले १६ महिनाकै अवधिमा आक्रोशमा ल्याइसकेको छ । यसले पार्टीभित्र र बाहिर अराजकता ल्याउन सक्छ, त्यो अराजकता पार्टीभित्र वा बाहिर जता पनि ल्याउन सक्छ ।

आर्थिक दृष्टिले हेर्नुहुन्छ भने नेपाल उसै पनि स्रोत साधनले कमी भएको देश हो । कमी भएको स्रोतमा पनि कुत खाने प्रवृत्तिले नेपालमा आर्थिक गतिविधि घटेर जान्छ पहिलो नम्बर । दोस्रो धनी र गरिबका बीचमा खाडल बढेर जान्छ । र समाजको नैतिक चरित्रमा ह्रास आउँछ । अहिलेको सरकारले यो कुरालाई पूर्ण रुपमा नजर अन्दाज गरेर ‘मनी डोमिनेटेट पोलिटिक्स’ले देशको भविष्यलाई अन्धाकारमा धकेलिदिन्छ ।

तपाईँको कुरा सन्दा त सरकारले चर्कोचर्को स्वरमा लगाइ रहेको संवृद्धिको नारा धरापमा पर्ने देखियो होइन?

आक्रोश मान्छेमा आएको छ । त्यसलाई कुन रुपमा बुझ्ने? तर धेरै सयम लाग्दैन । विचार गर्नुभएको होला २०४६ सालपछि पनि त्यत्रो म्याण्डेट लिएर आएको गिरिजाप्रसाद कोइरालाको सरकार कति चाँडै अलोकप्रिय भयो ।

र त्यत्रो उपलब्धीको विकल्प खोज्ने अवस्थामा कति चाँडै पुग्यो । त्यसले अहिले यो दुई तिहाई बहुमतको दम्भ भयो भने इतिहासलाई नै नजर अन्दाज गरेको ठहरिन्छ ।

सरकारले यस्तो अवस्थालाई सुधार गर्ने संभावना छ कि छैन ? किनकी सरकारले गएको आर्थिक वर्षमा कानून निर्माणमा केन्द्रित हुँदा विकास गर्न सकिएन भनेको छ ?

अहिलेसम्मको क्रियाकपलाप हेर्दा त्यसको छनक छैन । तर सरकारलाई बेलैमा चेत आओस् । बेमानीलाई बन्द गरोस् । यदि प्रधानमन्त्री केपी ओलीले यसलाई सुधार गर्नुभएन भने उहाँ फोटो झुण्ड्याउने प्रधानमन्त्री बाहेक केही हुनुहुने छैन ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्