बाढीका कारण पर्सामा ४५ करोड बराबरको बाली नष्ट

वीरगञ्ज – अबिरल वर्षा र त्यसका कारण आएको बाढी तथा डुबानले गर्दा पर्सामा ४५ करोड रुपैयाँ बराबरको बालीमा क्षति पुगेको छ । धान तथा तरकारी बालीमा गरी ४५ करोड बराबरको नोक्सानी भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

भर्खरै रोपाइँ भएको धान बाली, धानको बेर्ना, मकै बाली, तरकारी बाली, सञ्चित धान गरी ४४ करोड ८८ लाख बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए ।

गत बिहीबारदेखि लगातार पाँच दिनसम्म परेको वर्षा र त्यसले गर्दा आएको बाढीले जिल्लाका विभिन्न स्थानमा रोपाइँ भएको धान खेती बगाएको, चैते धान खेतीमा क्षति पुगेको, मकै र सञ्चित अन्न नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. यादवले बताए ।

पर्सामा रोपाइँ भएको २ सय ६७ हेक्टर क्षेत्रफलको धानबालीमा बाढीले क्षति गरेको छ । ५० हेक्टर क्षेत्रफलमा लगाइएको चैते धान बालीमा समेत क्षति पुगेको प्रमुख यादवले बताए ।

वर्षा र बाढीले पर्सामा तरकारी बालीमा पनि क्षति गरेको छ । जिल्लामा १ सय ७ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली बाढीले गर्दा डुबानमा परेको छ ।

जिल्लामा कुल १ हजार ७ सय ४१ हेक्टर क्षेत्रफलमा रहेको धान एवम् तरकारी बालीमा बाढीले क्षति गरेको केन्द्रले जानकारी दिएको छ । पर्सामा यसपाली समयमै पानी नपरेका कारण अहिलेसम्म ५६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्