बस र म्याजिक भ्यान ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, २४ जना घाइते

मोरङ – मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित शिविर डाँडामा सडक दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ।

बिहीबार करिब सवा नौ बजे पूर्व पश्चिम राजमार्गमा यात्रुवहाक बस र मालवहाक पिकअप ठोक्किदाँ एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

सो दुर्घटनामा २४ जना यात्रु घाइते भएको कार्यालयका डिएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। डिएसपी अधिकारीका अनुसार घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

घटनास्थलमै मृत्यु भएका पुरुष र घाइते हुने अन्यको परिचय खुल्न नसकेको उनले बताए। मृतक पुरुषको शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको छ। डिएसपी अधिकारीका अनुसार मोरङको रमाइलोबाट काँकडभिट्टातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र दक्षिणबाट राजमार्गमा निस्कँदै गरेको मे १ च ५३९१ नम्बरको भ्यान ठोक्किँदा दुर्घटना भएको हो।

घटना लगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी घटनास्थल पुगेका थिए। घाइते मध्ये केहीको अवस्था गम्भीर हुँदा पथरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल लगायतका अस्पताल पठाइएको डिएसपी अधिकारीले जानकारी दिए।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्