बिक्दैन धान, सरकार भन्छ-यस वर्षदेखि झापा जिल्ला धान ‘सुपरजोन’

झापा – किसानले उत्पादन गरेको धान बिक्री नभएको गुनासाका माझ सरकारले नयाँ बर्षदेखि झापाभर धान सुपरजोन कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ। यस अघि झापाको कचनकवल गाउँपालिकामा मात्र धान सुपरजोन कार्यक्रम लागु भएको थियो।

धान सुपरजोन अब झापाका १५ वटै स्थानीय तहमा बिस्तार हुन लागेको हो। सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा जिल्लाभर धान सुपरजोन कार्यक्रम बिस्तार हुने र त्यस्का लागि आवश्यक बजेट पनि परेको हुनाले धान सुपरजोन कार्यक्रम बिस्तार हुने निश्चित भएको हो।

धान उत्पादन हुने जिल्लाहरुमध्ये झापा अग्रणी स्थानमा छ। धान आयातलाई निरुत्साहित गर्न र आन्तरिक खपतका लागि उत्पादन बढाउन भन्दै सुपरजोन कार्यक्रम बिस्तार गर्न लागिएको सुपरजोन कार्यान्वयन इकाइ बनियानीका प्रमुख धनबहादुर थापाले जानकारी दिए।

सुपरजोन कार्यान्वयनमा आएको कचनकवल गाउँपालिकामा वर्षमा एक बाली मात्र धान खेती गर्ने किसानले उक्त क्षेत्रमा तीन बालीसम्म धान खेती गर्न थालेका छन्। एक वर्षमा कम्तिमा दुई बाली धान खेती गर्नेगरी किसानलाई सहयोग गर्न स्थानीयबासीको पहलमा सुपरजोन जिल्लाभर बिस्तार गर्न लागेको वरिष्ठ कृषि अधिकृतसमेत रहेका थापाले बताए।

सुपरजोन कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि ६ करोड, पचास लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। चक्लाबन्दी खेतीलाई प्रवर्द्धन गर्ने गरी स्थानीय तहले निर्धारण गर्ने दुई सय हेक्टर जमिनमा सुपरजोन कार्यान्वयन गर्ने नियम रहेको थापाको भनाई छ।

धान सुपरजोन बिस्तार भएपछि जिल्लाका किसानले कष्टम हायरिङ, पोष्ट हार्भेष्ट, साना सिँचाइ, सौर्य सिँचाइ, प्राविधिक सहयोग, धान रोप्ने, मल छर्ने, धान गोड्ने, धान काट्ने मेसिन, ट्याक्टर, माटो सुधारलगायतका विभिन्न उपकरण तथा सामग्रीहरु ५० प्रतिशत अनुदानमा प्राप्त गर्नेछन् ।

कचनकवलमा सुपरजोन कार्यान्वयनपछि जिल्लाको धानको उत्पादकत्व वृद्धि भएको छ। गत वर्ष ४.८ मेट्रिक टन धान उत्पादकत्व रहेकोमा यो वर्ष प्रतिहेक्टर ६.१३६ मेट्रिक टन पुगेको छ।

जिल्लामा वर्षे धान ८७ हजार ५ सय हेक्टरमा तथा चैते धान २५ हजार हेक्टरमा लगाउने गरिएको सुपर जोन कार्यालयले जनाएको छ।

बिक्दैन धान

जिल्लाभर धान सुपरजोन कार्यक्रम बिस्तार गर्ने सरकारले बताइरहँदा उत्पादन गरेको धान नबिकेर किसान हैरान बनेका छन्। किसानले उत्पादन गरेको धान सरकारले किन्दैन। व्यापारीले पनि भाउमा ठगेपछि किसानले धान त्यतिकै थन्क्याउनु परिरहेको छ।

एकजना किसान इन्दिरा पाण्डेका अनुसार व्यापारीले जति मूल्य गर्छन् त्यतिमा नदिए किसानले उत्पादन गरेको धान बिक्दैन। उनका अनुसार अहिले व्यापारीले अधिक्तम सात रुपैयाँ प्रतिमनका दरले धान किन्ने गरेका छन्।

तर एक मन धान उत्पादन गर्न त्यति नै खर्च आउँछ। पाण्डे भन्छिन्, ‘खर्च बराबर बिक्री हुन्छ भने किसानलाई के फाइदा भयो?’

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्