यी हुन रक्तदान गरेर अरुको जीवन बचाउनेहरु

दाङ– लमही नगरपालिका वडा नम्बर ५ निवासी सुमन पौडेलका बुवालाई क्यान्सर भएको थियो । उपचारको लागि चितवन अस्पतालमा भर्ना गरियो । अप्रेशन गर्न रगत चाहिने भयो । चारैतिर रगत खोजे तर, पाइएन ।

बुवाको उपचारको लागि उनले पहिलोपटक २०५९ साल बैशाख २० गते रगत दिए । आफ्फ्नो बुवालाइ रगत दिएर रक्तदान गर्न सुरु गरेका सुमनले अहिलेसम्म ३७ पटक रक्तदान गरेका छन् ।

‘रगतको अभावमा बुवाको उपचारमा समस्या परेको थियो । तर, त्यस्तो समस्या अरु कसैले भोग्न नपरोस् भनेर मैले रगत दान गर्न थालेको हुँ’ उनले भने,‘अहिलेसम्म तीन÷तीन महिनाको फरकमा रगत दिइरहेको छु । म खुसी छु ।’

सहना श्रेष्ठ पनि नियमित रक्तदाता हुन् । सुत्केरी महिलालाई अस्पतालमै गएर रगत दान गर्ने देखि लिएर कार्यक्रमको आयोजना गरेरै रगत संकलन गर्ने अभियानमा छिन् । ‘रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिने पक्षमा छौं । रगत अभाव हुन थालेको खबर पाउँदा साथ भोलेन्टियरलाई जम्मा गरेर रक्तदान गर्ने शिविर चलउाछौँ’ उनले भनिन्‘ ‘महिला रक्तदाताको संख्या निकै कम छ । महिला रक्तदाता बढाउने योजनामा छौँ।’ सत्यसाई केन्द्रको आयोजनामा शिविर राखेर रगत संकलन हुँदै आएको छ ।

निल चौधरीले ४३ पटक भयो रक्तदान गरेको । काठमाडौँमा बस्दा उनले रक्तदान गर्न थालेका हुन् ।
अहिले दाङ आएपछि पनि नियमित रक्तदान् गर्छन ।

दाङ जिल्लामा रगतको अभाव रहेको रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले बताए ।

‘रगतको अभाव छ । पुर्‍याउन गाह्रो छ’, उनले भने, ‘नियमित रक्तदाताको संख्या पनि थोरै छ । तर, अहिले संघ संस्थाहरुले कार्यक्रम राख्दा केही सजिलो भएको छ ।’ उनले महिनामा २५० युनिट रगत आवश्यक पर्ने बताए ।

सत्यसाइ केन्द्र लमहीले रगत संकलन गर्न शिविरको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा रगत संकलन गर्न शिविरको आयोजना गरिएको हो ।

साउन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्