तस्बिरहरु: सुजाता खत्री

४० नम्बर कित्ताको त्यो ऐतिहासिक र विवादित जग्गा

ललितपुर महानगरपालिकाको भवन पछाडिको पर्यटक बसपार्क मानिसहरुले भरिएको थियो। २०७२ सालमा भुइँचालो आएको बेलामा पनि मानिस यसैगरी यो बसपार्कमा जम्मा भएका थिए। तर स्थिति फरक थियो।

बसपार्कको बिचमा सानो खाल्डो खनिएको थियो अनि छेवैमा केही इँटा बिच्छाइएको थियो। चउरको निश्चित क्षेत्रलाई डोरीले बाँधेर छुट्याएको थियो। त्यही टहल्लिएकी स्थानीय सपना महर्जनले पोखरी बनाउनलाई शिलान्यास गरेको बताइन्।

अ रे ! बसपार्कमा पोखरी ?


सन्तलाल महर्जन केटाकेटी हुँदा आफ्नै टोलको ‘पलेख्वाँ पुखू’ (कमलपोखरी) सारै सुन्दर थियो। पूल्चोकको आडैमा चारओटा पोखरी छर्लङ्ग देखिन्थे। पोखरीका बिचमा साना साना गोरेटोहरु। पानीले टन्न ढाकेको पोखरी साउन महिनामा त असाध्यै सुन्दर देखिन्थ्यो। ‘चार पोखरीमा दुई रंगका कमलका फूल फूल्थे, ‘गुलाबी र सेता’। कमलका फूलले पोखरी पुरै ढकमक्क हुन्थे।’ यो सम्झँदा उनको अनुहार पनि फूल जस्तै फक्रन्छ, उनी वि.सं २००१ सालमा जन्मिएका हुन्।

महर्जनले पावरवाला चस्मा मिलाउँदै आफूले सुनेको कुरा सुनाए, ‘श्री ३ चन्द्रशमशेरको पालामा ललितपुरका बासिन्दालाई पानी खुवाउन पानीको पाइप बिच्छाउने काम भयो। यही बेला पोखरीको बिचबिचमा बाटो बन्यो। यही बाटो स्थायी भयो। नत्र कित्ता नं ३७, ३८ ४० र ४१ सबै गरी झण्डै ३२ रोपनी जग्गा एउटै पोखरी थियो।’ चन्द्रशमशेरको पालापछि ४ ओटा भयो।

ललितपुर नगर विस्तारै बाक्लिन थाल्यो, प्लास्टिकका सामानहरु प्रयोगमा आउन थाले। अनि विस्तारै पानीको जम्मा हुने पोखरी डम्पिङ साइड बने, खोला लगायत पानीको स्रोत वरपर फोहोर फाल्ने नेपालीको बानी नै हो। अहिले पनि बाग्मती, विष्णुमती लगायत उपत्यका सबैजसो खोलामा हप्तैपिच्छे कयौ मेट्रिक टन फोहोर उठ्छन्, खोला फेरि उस्तै।

हामीले यो संस्कृति पुर्खाबाट सिकेका हुन सक्छौँ, पलेखु पुखु पनि फोहोर फाल्ने डम्पिङ साइड हुँदै व्यक्ति अनि संस्थाको अतिक्रमणमा पर्‍यो। पोखरीको सङ्ख्या घट्यो। विस्तारै विस्तारै पोखरीको क्षेत्रफलमा भौतिक भवनहरु निर्माण हुन थाले। अहिले ३८ नम्बरको कित्तामा मात्र पोखरी छ। यसलाई ललितपुर महानगरपालिकाले आफ्नो कम्पाउण्डमा संरक्षण गरेको छ। ४१ नं कित्तामा बनेको स्कूलको पछाडि सानो पोखरी अवशेषको रुपमा छ।

त्यस बाहेकका अरु कित्तामा विभिन्न समयमा विभिन्न संरचना निर्माण भएको छ।

३७ नम्बरको कित्तामा ललितपुरमहानगरपालिकाको भवन अनि बगैँचा छ।

४१ नम्बरको कित्तामा त्रिपद्म माध्यमिक विद्यालय छ। विद्यालयको बोर्डमा २००४ मा विद्यालय स्थापना भएको लेखिएको छ।

४० नम्बरको कित्तामा पर्यटक बसपार्क सञ्चालन छ। स्थानीयले बताए अनुसार पर्यटक बसपार्क सञ्चालन भएको १० वर्ष भन्दा बढी भई सक्यो।

विवादास्पद ४० नं कित्ता


२०२१ सालमा नापी आउँदा यो जग्गा व्यक्ति नाममा दर्ता भएछ, २०२६ सालमा पोखरीमा पानी हुँदा-हुँदै जग्गामा घर बनाउनको लागि नक्सा पास गर्न आएपछि टोलबासीले विरोध गरे। ६९ वर्षका बुद्धिलाल तामाङ भन्छन्, ‘त्यो बेला बरु म जग्गा दिन्छु भनेर हामीलाई लोभ्याएको थियो। तर हामीले मानेनौँ।’

स्थानीयको विरोधपछि त्यसै रहेको यो पोखरीमामा फोहोर थुप्रिने क्रम रोकिएन। टोलबासीले भौतिक संरचना बनाउन रोकेपनि पोखरीमा फोहोर फाल्न छोडेनन्। यो पोखरी अति फोहोर भएपछि ललितपुर नगरपालिकाले सफा गर्‍यो र ३०, ४० ट्रिप फोहोरको डंगुर निस्कियो। त्यसपछि पोखरी संरक्षणको लागि बनेको नत्वाः पलेस्वाँ पूखु संरक्षण समितिले ललितपुर नगरपालिकासँगको सहमतिमा पोखरीमा पर्यटक बसपार्क सञ्चालनको अनुमति दियो। तर यो निश्चित समयको लागि मात्र थियो।

गएको जेठमा ललितपुर महानगरपालिकाले अर्को नयाँ निर्णय गरेको छ। अबको पाँच वर्षको लागि ललितपुर महानगरपालिका ८ बस्ने विनोद महर्जनलाई बसपार्क सञ्चालनको जिम्मा दियो। ४ रोपनी १५ आना ३ पैसा एक दाम क्षेत्रफल भएको यो क्षेत्रमा पर्यटक बस सञ्चालन गरेबापत भ्याट बाहेक १ लाख, ६० हजार पैसा बुझाउने सहमति भएको छ।

यो क्षेत्र ललितपुर महानगरपालिका बनिसकेपछि वडा नं २० मा पर्छ। यतिका पैसा आउनु नगरपालिकालाई आम्दानीको गतिलो स्रोत पनि हो। तर स्थानीय यो कुरामा सहमत छैनन्।

बुद्धिलाल महर्जन भन्छन्, ‘पहिला पोखरी फोहोर भयो भनेर नगरपालिकालाई जिम्मा दिइएको हो तर अब हामी टोलबासी आफै यसको संरक्षण गर्न चाहन्छौ। पोखरी भएको ठाउँमा पोखरी नै हुनु पर्छ।’

अहिले बसपार्क भएको ठाउँ वरपर रुख बोट विरुवा छन्, महर्जन भन्छन्, ‘हामी लुगा धुन आउने ढुंगा पनि थियो, पोखरी पुर्दा पुरियो।’ यो ठाउँमा २०५४ सालतीर राष्ट्रिय सभाहल बनाउने भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिल्यान्यास गरेका थिए तर नः टोलबासीले उनीहरुको यो प्रस्ताव पनि मानेनन् र यो बसपार्क भयो।

उनका अनुसार यहाँ धेरै कुरा परिवर्तन भएका छन्, ‘पोखरीमा पानी जम्मा हुनलाई राजकुलो बग्दै आउँथ्यो, तर अहिले त्यो पनि मासिइसकेको छ।’

यो पोखरीमा जावलाखेल र पुल्चोकको पानी जम्मा हुन्थ्यो। बुढापाका अहिले त्यो पानी कुपण्ड डोल डुबाउन पुग्‍ने बताउँछन्।

फोहोर भएको पोखरी संरक्षण निश्चित अवधिलाई दिइएकोमा पोखरी संरक्षण समितिलाई नै नसोधी फेरि टेन्डर आह्वान गरेपछि समुदाय विरोधमा उत्रेका हुन्। पोखरी संरक्षणमा  ज्यापु समाज, च्वबु गाहिटी समाज, बल्खु चाः बहाँ आदि लागि परेका छन्।

उनीहरु यसै कुराले मान्नेवाला छैनन्, महर्जन भन्छन्, ‘पहिला हामी सोझा थियौँ, अब मान्दैनौँ, पोखरी भएको ठाउँमा पोखरी नै चाहिन्छ।’

वडा अध्यक्ष भन्छन्,


‘स्थानीय बासीले के गर्न खोज्नु भएको म बुँझ्दिन,टेण्डर त भइसक्यो। हामी विधिको शासनसँग चल्नुपर्ने हुन्छ। म पोखरीको विराेधी होइन। तर प्रक्रियामा जानु पर्‍यो नि।’

ललितपुर महानगरपालिका वडा नं २० अध्यक्ष चन्द्रलाल महर्जनले भने, ‘सम्झौतामा ६० देखि ९० दिनमा रद्द गर्न सकिने भनिएको छ, पोखरी बनाउने होमवर्क सकिएपछि हामी यो सम्झौता अवश्य रद्द गर्छौ।’

उनले स्थानीयले असहयोग गरेको बताएका छन्। टेण्डर हाल्दा स्थानीयले सहभागिता देखाएनन्, अनि अरुले टेन्डर पाएपछि विरोध भइरहेको छ।

पोखरी बनाउनलाई डिपीआर गर्ने, कार्यपालिकाको प्रक्रिया अलग हुँदा एकैपल्ट पोखरी बनाउने हौसिन सम्भव छैन भन्ने नबुझेर आफूलाई ज्ञापनपत्र बुझाएको उनले बताए।

अध्यक्ष महर्जनले स्थानीयले स्वार्थी व्यवहार देखाएको गुनासो गरे, ‘यो वर्ष पर्यटनको लागि १५ करोडको योजना छ, पर्यटक बस पार्कको विकल्प भएन भने पर्यटकको सङ्ख्या पनि प्रभावित हुन सक्छ।

पर्यटक आगमनले आफ्नो ठाउँको विकास हुने सोचेनन्। टेन्डर नि लिएनन् अनि पोखरी बनाउने पूर्व तयारीको कुरा नहेरी अगाडि आए। अब के हुन्छ, छलफल गरौँ।’