प्रधानमन्त्रीज्यू, चाटुकारका मात्र कुरा सुनेर मख्ख पर्ने?

बिषादिसहितको तरकारी भारतबाट आउन रोक लगाएर जनताको समर्थन पाएको सरकारले तीन सातामै यो निर्णय फिर्ता लिएर जनताको तारो बन्यो। खासगरी भारतीय राजदूतावासको पत्रले उक्त तरकारी र फलफूल आयातमा रोक नलगाउने सरकारको निर्णय भएको कुुरा बाहिर आयो। उता प्रधानमन्त्रीले उक्त पत्र आएको थाहा छैन भनिरहँदा पत्र आएको बारेमा समाचार माध्यममा छापिएपछि प्रधानमन्त्रीले जनतासँग माफी मागे। गल्ती भएपछि जनतासँग माफी माग्नुु राम्रो हो। यस्ता गल्तीलाई भविष्यमा सुधार्न सक्नुपर्छ।

राष्ट्र र जनतालाई हानि पुर्‍याएर ठूला गल्ती गर्नेहरु अरु पनि धेरै प्रमुुख नेताहरु छन् तर उनीहरुले कहिले पनि जनतासँग माफी मागेनन्। १७ हजारको ज्यान लिनेगरी गरिएको अनावश्यक विद्रोहका प्रमुख प्रचण्डले कहिले पनि जनतासँग माफी मागेनन्। राष्ट्रघाती महाकाली सन्धि गराउन पार्टी फुटाउनको हदसम्म पुुर्‍याउने तात्कालीन एमालेका महासचिव माधव नेपालले पनि माफी मागेनन्। अरुण ३ बनाउन रोक्ने पनि उनै माधव नेपाल थिए। प्रजातन्त्रलाई दरबारमा बुुझाउने आक्षेप लागेका शेरबहादुुरले पनि माफी मागेको थाहा छैन। कमसेकम प्रधानमन्त्री ओलीले जनतासँग माफी मागेर राम्रै गरे। तर, यति गरेर उनको दायित्व पुरा हुँदैन। सरकार प्रमुखलाई गुुमराहमा राख्ने मन्त्री हुन् या कर्मचारीतन्त्र तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। किनकि उनीहरुले भारतभक्ति देखाए, राष्ट्रभक्ति देखाएनन्।

प्रधानमन्त्रीलाई जनतासँग डर छैन। डर छ त प्रचण्डसँग छ या माधब नेपालसँग- जसले शेरबहादुरसँग मिलेर सत्ता हत्याउन सक्छन्। त्यसैले उनी मन्त्रीमण्डल फेरबदल गर्न हिच्किचाएका छन्। जनताले ५ वर्षको लागि आफ्नो मत दिएर सरकारमा पठाइसके, त्यसपछि जनतासँग के मतलब?

अहिले देशका सीमा मिचिएका छन्। सीमानामा भारतले बाँध सडक बनाएर नेपालका गाउँ नै जलमग्न भएका छन्। यस्को जिम्मेवारी कस्को हो? सम्बन्धित निकायले बोल्नु पर्छ कि पर्दैन? मेलेम्चीको पानी दशैँअगाडि आउँछ भनी प्रधानमन्त्रीलाई बोल्न लाउने को हो? ती मन्त्री-सचिव, योजना प्रमुखलाई कारबाही गर्नुपर्छ कि पर्दैन? अहिले ती योजना प्रमुख पानी वितरण गर्ने ट्यान्कर व्यवसायी भएको यकिन भएको छ। के उनीबाट मेलम्चीको योजना समयमा पूरा होला? दोषीलाई समयमा कारबाही नगर्दा सरकार प्रमुखलाई यिनै मन्त्री-सचिवले अप्ठ्यारोमा पारिरहन्छन्। किनकि उनीहरुमा कारबाहीमा परिएला भन्ने डर भएन। काठमाडौँको भद्रगोल अब्यबस्थाको जिम्मेवार को हो? अहिलेसम्म फोहोरको स्थायी व्यवस्थापन नगर्ने महानगर प्रमुखलाई कहिले स्पष्टीकरण सोधिएको छ? शहरमा भइरहेका ट्राफिक लाइट नबनाउने र आबश्यकताअनुुसार नया ठाउँमा लाइट राख्ने जिम्मेवार निकाय आज किन मौन छ? उनीहरुलाई कारबाही गर्नुपर्दैन? यातायात मन्त्रीको जिम्मेवार सडकको हो तर किन आजसम्म चाबहिल-जोरपाटी-गोकर्ण जाने बाटो बन्दैन? मलाई लाग्छ- सरकार चलाउनु भनेको क्रिकेट खेलेजस्तो होइन। पहिला विकेट जोगाउँदै अलिअलि रन लिँदै गर्ने पछि एकैपटक चौका र छक्का हानेजस्तो होइन। नत्र पछि छक्का हान्न खोज्दा एकैपटक क्याच भएर आउट हुनुपर्छ। त्यसकारण सरकारले पहिलादेखि नै निर्देशनअनुसार काम नगर्ने भ्रष्ट र अनैतिक कर्मचारीतन्त्र होस् या मन्त्री- कारबाहीको दायरामा ल्याउँदै आबश्यक कारबाही गरिदिएको भए देशको यो भद्रगोलको अबस्था आउने थिएन।

प्रधानमन्त्रीलाई जनतासँग डर छैन। डर छ त प्रचण्डसँग छ या माधब नेपालसँग- जसले शेरबहादुरसँग मिलेर सत्ता हत्याउन सक्छन्। त्यसैले उनी मन्त्रीमण्डल फेरबदल गर्न हिच्किचाएका छन्। जनताले ५ वर्षको लागि आफ्नो मत दिएर सरकारमा पठाइसके, त्यसपछि जनतासँग के मतलब? यस्ता सोचाइले देश बन्दैन प्रधानमन्त्रीज्यू! सानातिना कामलाई पनि महत्व दिनुहोस्। दिर्घकालीन योजनाहरुको बेलैमा ठेक्कापट्टा गरेर कार्यान्वयन अघि बढाउनुहोस्।

सुशासन नभई विकास अघि बढ्न सक्तैन। त्यसैले सतर्कता केन्द्र, सम्पति शुद्धीकरण विभागलाई सक्रिय बनाउनुहोस्। अख्तियारलाई आवश्यक पर्ने नीतिनियम बनाई सहयोग गर्नुहोस्। कुराभन्दा कार्यान्वयनमा जोड दिनुहोस्। समय छ भन्दाभन्दै सरकार बनेको दुई वर्ष पुग्न लागिसक्यो। अहिलेसम्म परिणाममुखी कार्य केही भएको छैन। भएका संरचना भताभुंग भइसके, नया संरचना व्यवस्थापन हुन सकेको छैन। अनि जनताले यो सरकारबाट के आशा गर्ने? अहिलेको दुई तिहाइको शक्तिशाली सरकारभन्दा एमालेका नौ महिने सरकारले जनताका आवाजको कदर गरेको थियो।

अहिले समाचारमाध्यममा सरकारलाई प्रसस्तै सुुझाव आइरहन्छन् तर सरकार आँखामा ती सुुझाव पर्दैन। खालि चाटुुकार र अवसरवादीका कुरामा मख्ख पर्ने अनि अर्को गुटका तथा बिरोधीका सही आवाजको पनि कदर नगर्दा धोका होला प्रधानमन्त्रीज्यू। तपाईँ प्रधानमन्त्री भइसकेपछि समस्त राष्ट्रको साझा प्रधानमन्त्री हो। त्यसैले २/४ जनाको घेराबन्दीमामात्र सीमित हुने होइन, जनताको आवाजमा पनि ध्यान पुगोस्।

साउन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्