राज्यले वास्ता नगरेको बम विस्फोटका घाइतेको गुनासो

मृतक सिंहको दाहसंस्कारमा सहभागी दुई विप्लवका कार्यकर्ता पक्राउ

धनगढी- बिहीबार बेलुका धनगढीको शहिद गेटमा भएको विस्फोटमा परी घाइते भएकाहरुले आफूहरुलाई राज्यले कुनै वास्ता नगरेको गुनासो गरेका छन्।

धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाइते भएका ५ जनामध्य एक जना राम सिंहको मृत्यु भइसकेको छ भने तीनजनाको धनगढीस्थित माया मेट्रो अस्पताल र एक जनाको नेपालगञ्‍जमा उपचार भइरहेको छ।

मृतक सिंह र घाईते लक्ष्मण सेराला बिप्लव माओवादीका कार्यकर्ता हुन। माया मेट्रो अस्पतालमा उपचार भईरहेका जितेन्द्र यादबले भने–‘घटना भएको झण्डै २४ घण्टा भयो तर राज्यको मान्छे कोही आएको पनि छैन केही सोधेको पनि छैन।’

कैलाली माछा मासु तथा पोल्ट्री ब्यबसायी संघका अध्यक्ष समेत रहेका यादव त्यस होटलमा नियमित चिया पिउने ग्राहक हुन । यादबले भने–‘आफु संगै ३ जना साथीहरु बिहिवार बेलुका पनि चिया पिउन निलम होटेलमा गयका थियौं यस्तो घटना भयो।’

आफूहरु यस्तो अवस्थामा हुँदा पनि राज्यले अहिले सम्म कुनै चासो नदिएको उनको गुनासो छ। घाइते यादवले भने-‘धनगढीमा प्रदेश सरकार छ, स्थानीय सरकार छ तर पनि कोहीले वास्ता गरेनन् उपचारमा समस्या छ।’

यादबको पेटमा छर्रा लागेकाले अप्रेसन गरेर निकालिएको छ। यसैगरी अर्का घाईते मोविन खानको पनि शरिरका विभिन्‍न ठाउँमा छर्रा लागेकाले शुक्रबार नै अप्रेसन गरिएको छ। दुवै जनाका परिवारले खर्चको ब्यबस्थापन गरिरहेका छन्। घाईते भएका होटेल संचालक केशबराज पाण्डेलाई भने उनका आफन्तले उपचारका लागि कोहलपुर लगेका छन्।

घटनामा घाईते भएका लक्ष्मण सेरालाको भने सुरक्षाकर्मीको निगरानीमा माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको निगरानीका लागि शसस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ। मृतक सिंहको शुक्रबार धनगढी स्थित मोहना नदिमा दाससंस्कार गरिएको छ।

सिंहका भतिजाले दागबत्ती दिएका छन्। मृतक सिंह आफ्नो पार्टीको कार्यकर्ता रहेको बिप्लव माओवादीले स्विकारेको छ भने घाईते सेराला पनि बिप्लव माओवादीका लडाकु भएपनि पार्टीले स्विकारेको छैन।

शुक्रबार बम बिस्फोट घटनामा मृत्यु भएका राम सिंहको दाहसंस्कारका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङका सिता सिंह र प्रकास जप्रेल रहेका छन्। तर प्रहरीले भने पक्राउ गरेको पुष्टी गरेको छैन।

सिता सिंह मृतक राम सिंहकी आफन्त पनि हुन्। उनी बिप्लव माओवादी निकट महिला संगठनमा आबद्ध छन भने अर्का पक्राउ परेका प्रकाश जप्रेल विप्लव माओवादी निकट बिद्यार्थी नेता हुन।

घटना स्थल मुख्यमन्त्री निवासबाट नजिकै रहेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रमुख सुदिप गिरीले बताए।

साउन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू