कविता

सम्बन्ध बिच्छेद

म धौलागिरी थिएँ
तिमी दुई चुल्ठी लरक्क बाटेकी माछापुच्छ्रे ।

प्रकाशपुञ्जबाट सापटी मागेर प्रकाश
किरणको कलमले प्रेमपत्र लेखेर
डाँफेलाई हुलाकी बनाएर
पठाएको थिएँ
तिम्रो ठेगानासम्म ।

न्यानो प्रकाशको प्रेमपत्रले
डल्लाडल्ला हिउँ मन
पग्लिँदै पग्लिँदै
थोपा थोपा बन्यो ।

ईशारा गर्दै मलाई
गुल्टिँदै गुल्टिँदै गयौ
म पछ्याउँदै पछ्याउँदै आएँ
थोपा थोपा बनेर ।

भाग्दाभाग्दै तिमी खाल्डोमा आधा भरी भएर जम्यौ
मैले पनि आधा भरी खाल्डोलाई पूर्णता दिएँ ।

थोपाथोपा तिम्रो तन
थोपा थोपा मेरो मन
यसरी एक भयो
जसरी फूल र पराग एक हुन्छन् ।
जसरी गर्भाशय र भ्रुण एक हुन्छन् ।
जसरी फल र रस एक हुन्छन् ।

यसरी खाली खाल्डो
एउटा सुन्दर मनमोहक फेवा ताल बन्यो
नव जीवनको उर्जाले तरंगीत हुँदै।

तालको सङ्गलो पानी भित्र जुनताराको बिछ्यौना बिछ्याएर
तिम्रो हृदयमा फुलेको कपलपुष्प सजाएर
हामी परागणमा मधुमासमय आनन्दित भयौँ ।

अचानक,
जीवनमा अतिवृष्टि भयो
फुटाएर रंगिन तालको बाँध
मलाई पछार्दै नालीमा
हुत्ताएर खोलामा
पुर्यायो नदी हुँदै समुन्द्रसम्म ।

यसरी जीवन उजाड, उदास प्यासी सहारा मरूभूमि बन्यो
उता उनको आँखा चेरापंजी बन्यो ।

एकदिन यस्तो
नियतीको उदासीनता पार गरी
प्रचण्ड गर्मीको सामना गर्दै
म बाफ बनेर उडदै उडदै बादलको देश पुगेँ
तिमीलाई चिहाहेर हेरेँ कपासको झ्याल उघारेर
मिलनको व्यग्र उत्सुकतामा म वर्षिएँ हाम्रो
फेवा तालमा ।

तर तिम्रो हृदयमा मेरो जल अटने ठाउँ
अन्नपूर्णको थोपा थोपा पानीले ओगटिसकेको रहेछ ।

म तपतप तिम्रो छातीमा वर्षिएर उठाएको फोका फोका पानी झै सपनाहरू फुटालीरहे

अनि किनारै किनारा नाली नाली हुँदै
धमिलो भेलसँग मिसिएँ ।

यतिबेला हाम्रो संबन्ध प्लुटो जस्तै चिसो भएको छ ।
जसको अस्तित्व वैज्ञानिकले शून्य बताएका छन् ।

-जनक कार्की

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्