कथा

ममीको बिहे

‘दादा आज हाम्रो ममीको बिहे है ।’

कन्काई नदीको पूर्वी किनारमा थुप्रै घर र मन्दिरहरु छन् । मन्दिरहरुको बिचमा ‘साङाक छ्योइलिङ’ गुम्बा पनि छ । हिन्दू र बौद्धहरुबिच सहिष्णुको धरोहर मान्छन् स्थानीय र आगन्तुक । ०४२ सालमा योगी नरहरीनाथले कोटीहवन यज्ञ गरेका थिए । त्यसपछि त्यो ठाउँको विकास त भयो नै नाम पनि कोटीहोम रहेको छ ।

त्यही कोटीहोममा आज एउटा विवाह हुँदैछ ।

विवाह त धेरै हुन्छन् यहाँ । तर यो विवाह अरु विवाह भन्दा भिन्न छ । किन कि यो एक विवाह मात्र नभएर क्रान्तिको चर्को बिगुल बजेको छ यहाँ ।

र त्यो बिगुलको संगीतबाट व्यथाको पहाड पनि एकसाथ ठडिएको छ ।

आफ्नै ममीको बिहेमा उपस्थित साना दुई सन्तानको कथा अंकुराएको विवाह हो यो । त्यसैले कल्की र गौरवको यो विवाह अरुभन्दा फरक छ ।

विवाह जिन्दगीको रुपान्तरण हो रे । विवाह बेहुलाबेहुली र तिनका आफन्तका लागिसमेत उल्लासको विषय बन्छ । तर यहाँ बेहुलाबेहुली दुवैका अभिभावक छैनन् ।

कुरा यही वैशाखको हो । कन्काई नदी किनारबाट विस्तारै बहेको चिसो हावालाई विपरित दिशाबाट क्रमशः रापिँदै आएको घामको किरणले तताउँदै छ । खोलामा नुहाइधुवाई गरी पूजा गर्न आउनेहरुको संख्या बाक्लिँदैछ मन्दिरहरुमा । साधुसन्तहरु गेरु वस्त्र लगाई कमण्डलु भिरेर भिक्षा माग्न दक्षिणको बस्तीतिर निस्कँदैछन् ।

नजिकका पसल र होटलहरु ग्राहकको पर्खाइमा आँखा बिछ्याइरहेका छन् चारैतिर । पूजा सामग्री र फूल बेच्नेहरु आफ्नो सामान किन्न अनुरोध गरिरहेका छन् ग्राहकसँग ।

नजिकैको हाइवेमा प्रेसर हर्न बजाउँदै तीव्र गतिमा दौडिएका छन् यात्रु बस र अन्य सवारी साधनहरु ।
यही क्षण आठ वर्षको छोरो विपरित र पाँच वर्षकी छोरी रिक्तताको रोहवरमा एउटी विधुवा आमाको विवाह भइरहेको छ एउटा कुमार केटासँग ।

राम मन्दिरमा छ विहेको जग्गे । सबैजसो मन्दिरनजिक एकेक वटा घर पनि छन् । ढकाल, नेपाल, खतिवडा, दहाल, थापा लगायत जजसको समूहले मन्दिर बनाए उसैले आफ्नै थर र जातिका नाममा घर बनाइदिएका छन् ।
राम मन्दिरसँगैको सानो घरको एउटा कोठा बेहुली सिंगार्न र अर्को कोठा राखनधरनका लागि व्यवस्थित गरिएको छ ।

मन्दिर र घरबिचको पेटीमा एक्लै बसेको छ बेहुलीको छोरो विपरित । त्यही बेला बहिनी रिक्तता बेहुली सिँगारकक्षबाट दौडिँदै आएर ममीकोे विहेको खुशी बाँड्छे दाइसँग ।

‘ममीको बिहे हो कि के हो मलाई के थाहा ।’ बहिनीतिर हेर्दै नहेरी रुखो जवाफ दिन्छ विपरित ।
‘के था भन्छ । ममी भित्र बेहुली बन्दैै हुनुहुन्छ, म त हेरेर आकी ।’ आश्वश्त पार्न खोजी रिक्तताले ।
‘…………..’
कुनै प्रतिक्रिया दिएन उसले ।

‘बेहुलाले बेहुली लैजान्छन् अनि हामी कोसँग बस्नु ?’ केहीबेरपछि निराश आँखाले रिक्ततातिर हेर्छ र एउटा गम्भीर सत्य उजागर गर्छ ।

तर त्यो गम्भीरताको कुनै असर पर्दैन रिक्ततामा । ‘ममीलाई बेहुली भन्छ ।’ बरु हाँसोमा उँडाइदिन्छे र थप्छे । ‘हामी पनि ममीसँगै जाने नि ।’

‘म त जान्न त्यो अंकलेको घर ।’ असहमति जनाउँछ बहिनीको कुरामा ।

‘कोसँग बस्छस् त ?’ आश्चार्य प्रकट गर्छे रिक्तता ।

‘एक्लै बस्छु ?’ आँट होकि असन्तुष्टि, व्यक्त गर्‍यो उसले ।

‘कसले भात पकार खान दिन्छ तँलाई ।’ विपरितको विश्वासमाथि रिक्तताको अविश्वास पोखिन्छ ।

‘ममीले भात पकाको देखेको छु, अचार बनाउन पनि आउँछ । म आफैँ पकार खान्छु ।’

सवाल जवाफ चलिरहेको छ दाजुबहिनीबिच ।

चलिरहेको छ बिहेको व्यस्तता पनि । कोही केमा व्यस्त छन् कोही केमा । निम्तालुहरु आउने क्रम बाक्लिँदै छ । हरेक आगन्तुकका आँखा एकपटक ती दाजुबहिनीमा पर्छन् । मनमा केही कुरा लिन्छन् । कसैले निधार खुम्च्याउँछन्, कसैले सहानुभूतिको भाव देखाउँछन्, कोही एकापसमा खासखुश बोल्न भ्याउँछन् र एकातिर लाग्छन् ।
……….

कल्कीको बिहे करिब दश वर्षअघि भएको थियो रोशनसँग । सुरुङ्गाका कन्काई कलेज पढ्थे दुवै । कल्की पटक्कै नबोल्ने, रोशनलाई बोलिरहनु पर्ने । बोल्ने मात्र होइन क्याम्पसै थर्किने गरी हाँस्नुपर्ने । र अरुलाई हसाउन पनि राजा थियो ऊ ।

साथीहरुसँग गफिएर कक्षामा यसरी हाँस्थ्यो कि अर्को कक्षामा पढाइरहेका सर उसलाई सम्झाउन आइपुग्थे ।

प्राध्यापकहरुको फुर्सद उसैसँग बित्थ्यो हाँस्ने बहानामा । प्राध्यापक, विद्यार्थी, छिमेकी, साथीहरु सबैको मनमा रोशन छथ्र्र्यो उसले ।

‘नामजस्तै रोशन छ उसको मन ।’ त्यसै भन्थे सबै ।

र त कल्कीले उसलाई गुपचुप मन पराएकी होली ।

जब रोजगारीको लागि विदेश गयो रोशन, अनि पो चर्चा भयो उनीहरुको प्रेमको ।
प्रेमको मात्र चर्चा भएन । धोखाको पनि चर्चा गरे । कल्कीलाई त्याग्न कै लागि पनि रोशन विदेश गएको समेत भने ।

तर तीनवर्षको विदेश बसाइपछि नेपाल फर्किएर चर्चावाजहरुलाई गलत सावित गरिदियो उसले कल्कीसँग धुमधाम विहे गरेर ।

धोखाको चर्चा गर्नेहरुले नै विवाहको चर्चा गरे फेरि, र भने रोशन धोखा दिने मान्छे नै होइन ।

विहेको दुईमहिनापछि फेरि दुबईतिरै लाग्यो ऊ । रोशन गएको आठ महिनापछि कल्कीले विपरितलाई जन्माई ।

‘गाउँमा यत्रो कामधन्दा गरेर घर सम्हाल्न र नानी हुर्काउन कठीन भयो बजारतिर डेरा गरेर बस्छु । ’ कल्कीले प्रस्ताव गरी विदेशको रोशनसँग ।

‘बूढा आमाबुबालाई एक्लै छोडेर हिँड्दा कसैले राम्रो मान्दैन ।’ निक्कै सम्झायो रोशनले तर जित कल्की कै भयो । बजारतिर डेरा सरी छाडी ।

रगत पसिनाको विदेशी कमाइ जोड्दै सानो एकटुक्रा घडेरी जोड्यो बजार छेउमै । दुई वर्षपछि कल्कीको पेटमा छोरी आई ।

‘यति भए पुग्यो नानीहरु । जे जन्मिए पनि अर्को नखोज्ने । भगवानले छोरी दिए झनै राम्रो । बरु एउटा झुप्रो हाल्नुपर्छ ।’ दुवैको मत मिल्दै गयो । सम्पति पनि जोडिँदै गयो ।

कल्कीले थाहा नपाइ आमाबालाई खर्च पनि दिएकै थियो उसले ।

बेखुशी र अशान्ति हुनुपर्ने कारण थिएन । दुःख साँघुरिँदै, सुखको सडक फराकिलो हुँदै गएको आभाष गरिरहेका थिए दुवैले ।

दुर्भाग्य ! खबर आयो । आफूले काम गर्ने कंपनीमा करेण्ट सर्ट भएर दुःखद निधन भयो रोशनको ।

आफ्नै पक्का घर बनाएर दुलही झैँ भित्र्याउँछु भनेर पटकपटक बाचा गरेको रोशन बाकसमा प्याक भएर आउँदा मुटु फुटे जस्तै भो कल्कीको ।

‘ए काली’ भन्दै खित्का छोड्दै आउनेछ रोशन । शव नआउन्जेल त आशै लाग्थ्यो कल्कीलाई कतै समाचार झुट हो कि भनेर ।

जब दुई महिनाको पीडादायी प्रतिक्षा र प्रयासपछि शव ल्याइयो । सुन्निएर चिन्न नसकिने उसको अनुहार हेरेर बेहोस् भएकी कल्कीको दुईदिनपछि मात्र अस्पतालमा होस् खुल्यो । अर्धमूर्छित अवस्थामै काजक्रिया गराए ।

काजक्रिया सकेको एकमहिनापछि छोरी जन्मिई । छोरीको नाम रिक्तता राखि कल्कीले ।
छोराछोरी हुर्किंदै गए । लोग्नेको कमाइमा रिनपान थपेर घर ठड्याईन् । त्यो घरलाई नै रोशनको रुपमा स्वीकार गरेर सम्हाल्न खोज्थी आफूलाई । तर उनको अनुहारमा विगतको उज्यालो रङ फिर्ता आउनै सकेन ।

गाउँका बुहारीहरुमा सबैभन्दा ‘हसिली सुन्दरी’ भन्थे उनलाई । तर उसको उदाशीमा आशाको धर्सा कोरिएको कसैले देख्न पाएन, कहिल्यै फिर्ता भएन बिगतको मुस्कान ।

दयाको पात्र बनी ऊ ।

पोइ टोकुवी पनि भने गाउँका केही महिलाले ।
रिक्तता पेटमा आएपछि बाबु बितेकाले उसलाई पनि अलच्छिनी भने । छोरीका ग्रहले रोशनको मृत्यु भएको रे ।

भन्नेसँग कसको के लाग्छ ।

आज गौरवसँगको विहेको निर्णय ऊ एक्लैले लिएकी हो । उसको यो निर्णयले सबै आफन्त र छिमेकी अचम्ममा परे । कति रिसाए पनि ।

उसको शालीनताको परिचय नै फेरियो । गौरवसँगको विहे पुरानै योजना हो, भने ।

‘लोग्ने विदेश हुँदैदेखि गौरवसँगको प्रेम रहेछ । षडयन्त्र गरेर उतै मार्न लगाएकी हो ।’

कति काटिए कति कुराको घाँटीहरु ।
……….
कल्कीको पीडा, संघर्ष र क्रान्तिकारी बिहेपछि उसको आँसु व्यथाको कथा नलेखी रहनै सकिनँ । लेखेँ, टाइप पनि गरेँ । तर दुश्मन लागे आफ्नै कार्यालयमा । कुनचाहिँले डिलिट गरिदिएछ । रिसाइकलबाटै हटाइदिएछ ।

फेरि लेख्न सकिरहेको थिइनँ । लेखिएका कुराहरु जस्ताकोतस्तै मनमा आइरहेको पनि थिएन । ०७६ सालको जेठ ११ गते अचानक रोशन मेरो सपनामा आयो ।

‘तँ दुनियाका बारेमा लेख्छस् । हुँदै नभएका कुरा पनि कल्पना गरेर लेख्छस् । तर मेरो प्रेम र बिछोडका कुरा किन लेख्दैनस् ? किन लेख्दैनस् मेरो मनको कुरा ?’

यत्ति भनेर गयो ऊ । दोहोरो कुराकानी भएन । मैँले केही सोधखोज गर्नै पाइनँ ।

कलेजमा उसको निकट भएर पनि कल्की र उसको प्रेम मलाई थाहा थिएन । बरु म त अरु नै केटीसँग उसको नाम जोडेर जिस्क्याउँथेँ । कलेज सकेपछि म जागिर खान हिडेँ ऊ गाउँमै थियो । पछि विदेश गयो भन्ने सुनेँ । मलाई उसको प्रेम र संघर्षका बारेमा केही थाहा थिएन ।

तर विहे गर्नुअघि सोधेको थियो उसले –म फलानो केटीलाई मन पराउँछु, आमाले मान्नुभएको छैन के गरौँ भनेर ।

मैँले सुझाएको थिएँ । ‘तेरो पहिलो कर्तव्य उहाँहरुलाई खुशी पार्नु र दोस्रो उसलाई दिएको बचन पुरा गर्नु । पहिलो कर्तव्य पुरा नभइ दोस्रो कर्तव्यमा प्रवेश नगर् ।’

आमाबाले अनुमति नदिए आफ्नो प्रेमको बली दिनुपर्ने मेरो सुझाव सही–गलत के थियो मैलाई थाहा थिएन । तर बाआमालाई मनाएरै विहे गरेछ ।

विहेमा जान नपाएपछि फोनबाटै शुभकामना दिएँ मैँले ।

आज कल्कीले गौरवसँग विहे गरी । रोशन खुशी छ कि दुखी । उसले सपनामा पनि भनेन मलाई ? सपनालाई सपना मात्र कसरी ठानौँ ? नठानौँ भने उसले प्रष्ट कुरा राखेन कसरी बुझौँ उसको मन । सायद कल्कीलाई पनि यसैगरी सपनामा केही भनेको होला तर म कसरी सोधौं कल्कीलाई ?

साँचो कुरा भन्ली त ?

रोशन ! तेरो छोटो जीवनको छोटो अध्याय, कल्कीको विहे र तेरा सन्तानको मनोदशा सही सत्य लेख्न सक्छु सक्दिनँ । लेखेर तँलाई न्याय दिन सक्छु कि सक्दिन तर लेख्दैछु ।

प्रिय पाठक !
कथा रोशनकै लेख्न खोजेको हुँ तर कल्कीतिरै ढल्किरहन्छ कलम, कल्की कै जीवन संघर्ष र वैवाहिक क्रान्तिको वरिपरि हुन खोज्छु, विपरित र रिक्ततालाई पछ्याइरहन्छन् अक्षरहरु ।

यसअघि कोरिएको गौरवको महानता किन कम्प्युटरबाटै हरायो ? किन त्यही कुरा कोर्न सकिरहेको छैन म ? कसैप्रति आग्रही वा पूर्वाग्रही नहुन खोज्दैछु । थाहा छैन तपाईंहरुको मनको लेन्समा कस्तो देखिन्छ । मेरो आग्रह छ यो कथालाई कुनै एकको नभएर ती सबैको कथा मानिदिनु होला ।
…………..

सुन्दर कोटीहोमको काख, आफ्नै ममीको विहेको स्वर्णिम अवसरमा पनि घुरमैलो, उदास, निरस र एक्लो देखिएको छ विपरति ।

अवोध, उत्सुक र उल्लासमा छे रिक्तता ।

घरि ममीको काखमा बस्छे र गौरबको अनुहारतिर हेर्दै हाँस्छे । घरि गौरबको काखमा बस्छे र मेहन्दीले रङ्गिएका ममीका हात समातेर खित्काउँछे ।

विपरित ममीको छेउमै गएको छैन । जग्गेको नजिक परेको छैन ।

थाहा छैन त्यो बालकको मनमा के कुरा छन् । न कसैले उसको मन बुझेका छन् । न कसैलाई उसले भन्न सकेको छ ।

विहेको औपचारिकता इन्टरभलमा पुग्नै लागेको छ । सिन्दुर हाल्न कल्कीको शीरमा सेतो कपडा दुईतिरबाट दुईजनाले समातेका छन् । गौरब उठेर उत्साहपूर्वक सेतो कपडाको छेउहुँदै बेहुलीको सिउँदोसम्म पुर्‍याउँछ आफ्ना हात । निहुरिएका कल्किका आँखाले छायामा देख्छे आफ्नो सिउँदोमा सिन्दुर हाल्दै गरेको गौरवलाई ।

यहीबेला उसको सम्झनामा झल्यास्स आउँछ रोशन । रोशनले सिन्दूर हाल्दाको यस्तै दृष्य सम्झेर भावुक नहुन जबरजस्ती अन्तै लान्छे मन । तर मन उसको बसमा छैन । अनि सम्झनामा थपिन्छ विपरित ।

कल्की झसंग हुन्छे र हतास उसका आँखाहरु विपरितको खोजीमा डुल्छन् । घरको गोलो पिलरमा ढल्केर पर सिसौ वनतिर टोलाएर उभिएको विपरितलाई देखेर द्विविधाको भूमरीमा रुमल्लिन्छे । मेरो छोरो मेरो विवाहबाट खुशी छैन ?

मैँले किन कहिल्यै सोधिन उसलाई म विहे गर्छु, तिमीहरुको नयाँ बाबा ल्याउँछु भनेर ।

के उसले यस्ता कुरा बुझ्छ ? मेरो जीवनको निर्णय यो बालकलाई सोध्नु आवस्यक छ ? महिलाहरु बालकछोराको समेत अधिनमा रहनुपर्ने ? छिनमै अनेक कुरा खेले मनभरी ।

सिन्दुर हालीसकेपछि जब उसकी दिदीले सिउँदोमा रुमाल खिपीदिन्छे । झसङ्ग हुन्छे र आफूलाई सामान्य बनाउने प्रयास गर्छे ।

तर मन अनेक विगत र वर्तमानको दोहोरीमै छ ।

म आफ्नै निर्णयबाट खुशी हुन सकौंली ? गौरवलाई मेरा नानीका बाबु बनाउन सकौंली ?

अनि यो सहारा मैँले मेरा लागि मात्र जुटाएकी हुँ र ? पटकपटक स्कुलका कार्यक्रममा होस् वा कतै घुम्न जाँदा किन अरुका बाबा देखेर खोजिरहन्छन् मेरा छोराछोरीले आफ्नो बाबालाई ?

मेरो यो निर्णयले उनीहरुको सहारा र साथ पुरा गर्दैन ?

मैँले यो विवाहबाट अपेक्षाकृत लोग्ने पाउँली ? मेरा सन्तानहरुले आफ्नै बाबुको न्यानो पाउलान् ?

बेहुलीसँग विपरित र कल्कीको फोटो खिचिदिन खोजिन् कल्कीकी दिदी गोमाले । रिक्तता खुशीले उफ्रेर गई । विपरितलाई जबरजस्ती तानेर लगिन् गोमाले तर ऊ रुन थाल्यो ।
कल्कीले नै फकाएर लगिन् ।

‘दादा हाँस न ’ चन्चले रिक्तताले अनुरोध गरी ।

तर हाँसेन ऊ । रुँदै गरेको विपरित र ममीको फोटो खिचिदिई रिक्तताले ।

घरि ग्वाँग्वाँ रोेउँजस्तो, घरि विपरितका गालामा चड्काउँँजस्तो भइरह्यो कल्कीलाई ।

विहे सकियो ।
बेहुलीले बेहुलाको घर जानु परेन । कल्कीको घरमा भित्रियो गौरव । देख्नेले अचम्म माने । यो कुराको पहिल्यै छनक पाएकालाई पनि अनौठो लाग्यो दृष्य । यो सत्यले खुशी हुनेमा विपरित पनि थपियो रिक्ततासँगै । ममीले बेहुलो लिएर आफ्नै घर छिर्दा उज्यालिएको प्रष्टै देखिन्थ्यो उसको अनुहार ।

आमाबाको एक्लो छोरो गौरव । सानैमा बाबु बिते । आमाले हुर्काबढाई, पढाईन् । कोरिया गएर राम्रै आर्जन गरेको पनि हो । छानीछानी केटी हेर्दै थिईन् आमाचाहिँ । रत्यौली खेलिन्छ छोराको विहेमा भनेर डिङ हाँक्थिन् गाउँमा । बदलामा कुटिल मुस्कान सापटी दिन्थे गाउँका आइमाइहरु ।

‘बिहे गर्न पाइछौ भने त खेलौली रत्यौली ।’ कोइरालनीले केही बुझे गरेर प्रतिक्रिया पोखिन् ।

‘मेरो छोरालाई मैँलेजति कसले जानेको छ र ।’ आत्मविश्वास दरो बनाइन् कुमारीले ।

तर एक दिन अचानक गौरवले छिमेकी विधुवा कल्कीसँग बिहे गर्ने गाईगुईं सुनिन् । निक्कै गाह्रो भयो सुन्न । झण्डै बहुलाइन् ।

जब ठेगानमा आइन् । सम्झाईन् छोरालाई –के गर्न लागेको केटा तैँले, छानीछानी कन्ये केटी पाउँछस् । कल्की दुई सन्तानकी आमा, अर्काकी बुहारी, तैँले सम्मान गर्नुपर्ने मान्छे हो । त्यसो नगर् ।

कति बिन्ती भाउ गरिन् ।

‘पहिले कल्कीप्रति दया लाग्यो । विस्तारै मायामा परिणत भयो दया । उनका नानीहरुप्रति झन माया पलायो । आखिर मैँले कसैसँग त विहे गर्नै पर्र्छ । उनलाई पनि कसैले त सहारा दिनैपर्छ । त्यो सहारा मै भएँ त के बिराएँ आमा । उल्टै उसैले सम्झायो ।

‘सहारा मलाई पनि चाहिएको थियो । दश वर्षको मात्र थिइस् तँ तेरो बाउ बित्दा । म तीस पनि पुगेकी थिइनँ । कति कष्टले हुर्काएँ तँलाई । तेरै अनुहार हेरेर विहे गरिनँ । विहे गर नभनेका होइनन् ।’

बरबरी आँसु झारेर पेश भइन् आफ्नै छोरासँग ।

यस्तो दिन पनि आउला भनेर सोचेकी थिइनन् । आँसुको नदी बगाएर छोराको मन पगाल्न हर प्रयास गरिन् । ‘तेरा लागि यत्रो त्याग र संघर्ष गरेँ । सानामा पनि ज्ञानी थिइस् अब त ठूलो भइस् । जे भन्यो त्यो खुरुक्क मान्छस् भन्ने थियो, आजसम्म त्यस्तै थिइस् । तर तैँले आफ्नो जिन्दगीको यत्रो ठूलो निर्णय लिँदा आमासँग सोध्नुपर्छ भन्ने ठानिनस् । तेरो जीवन मेरो सपना र खुशीसँग पनि जोडिएको छ भनेर ठानिनस् बाबु ।’

यति भनेर निकै बेर बोल्न सकिनन् । भेल बनेर बगेका आँखा पुछिरहिन् ।

‘राम्री छे, व्यवहार राम्रो छ । तपाईंले पनि त कल्कीजस्तै होस् मेरी बुहारी भन्नुहुन्थ्यो । आफूलाई पनि खुब माया गर्छे भन्नुहुन्थ्यो । एउटी बुहारी चाहिएको हो के फरक प¥यो सधुवा होस् कि विधुवा ।’

आमाका आँखा पुछिदिँदैसावधानीपूर्वक बोल्यो गौरव ।

अहँ गौरवका कुरा मानिनन् कुमारीले ।

कल्कीले पनि सासूससुरा, देवरजेठाजु कसैको समर्थन पाइनन् ।

आज विपरित र रिक्तताको मुहारमा देखिएको खुशीले पहिलोपल्ट कल्कीको अनुहारमा मुस्कान देखियो ।

खानपिनपछि साँझ सबै आआफ्ना घर गए ।

‘आजदेखि तिमीले बहिनीलाई लिएर सुत्नु है ।’ गोमाले सम्झाईन् विपरितलाई ‘तिम्रो ममी र नयाँ बाबा सुत्छन् अब ।’

‘नाईं म त ममीसँगै सुत्छु ।’ केहीबेरअघिमात्र टुसाएको खुशी मुर्झाउन समय लागेन । ममीसँगै सुत्ने हठ गर्‍यो उसले ।

‘तिमी त ज्ञानी छोरा हौ । ममीसँग सुत्छु भनेर जिद्धी गर्‍यौ भने तिमीहरुलाई छाडेर बेहुलाको घर जान्छे नि तिमरकी ममी ।’

ठूली ममीका डरलाग्दा कुराले चुप भयो विपरित । ममी अर्काको घर जानुभन्दा त आफू अर्कै ओछ्यानमा सुत्नु उचित ठान्यो । सधैँ ममीसँग बस्न त पाइन्छ । उसको मनले ठूलोममीको कुरा मान्ने विवेकी निर्णय लियो ।

‘हस ठूलो ममी म बहिनीलाई लिएर यतै सुत्छु ।’ सहमत भयो ।

बालख नानीको विवेकी निर्णयले ठूलोममीको मन पगाल्यो । उसका गालामा च्वाप्प माया गरिन् र सुटुक्कै आफ्ना आँखा पुछिन् ।

उमेरले सानो भएपनि नियतिले ठूलो हुनुपर्ने बाध्यता दिएको थियो । उसका हरेक क्रियाकलाप देख्दा बालक भएर पनि परिपक्व लाग्थ्यो विपरित । शैशवकालमै ममीका आँसु र संघर्ष बुझ्न बाध्य थियो । त्यही बाध्यता स्वीकार गर्‍यो आज पनि ।

नत्र त म तपाईंसँगै सुत्छु यो अंकलेलाई उसको घर पठा भनेर ममीसँग रुनेथियो होला । तर त्यसो गरेन ।

सानो घरको ठूलो कोठा । सुहागरातका लागि मालैमालाले सजाइएको ठूलो पलङ, भित्ताभरि टाँगिएका रोशनका फोटाहरु आजै बिहान हटाएर जताततै टाँगिएका बेलुनहरु, रंगीन र मादक थियो कोठा ।

हातका चुरा र गलाका गहनाहरु खोलेर टेवलमा राख्दै थिई कल्की । अर्को कोठाबाट रिक्तता चिच्याएर रोएको आवाज ठोक्कियो उसको कानमा ।

ओ हो फेरि बिर्सिएछु नानीहरुलाई । उठेर जान खोजी । गौरबले उसको हात समातेर रोक्यो र ढोकाको चुकुल खोलेर आफैँ निस्कियो । ढोका खोलेपछि रिक्तताको स्वर झन चर्को भएर छि¥यो ।

दिनभर दौडीउफ्री गरेर थाकेकी रिक्तता घर आएपछि घुप्लुक्क निदाएकी थिई । जब व्युझिई ममी छेउमा थिइन । उठेर ममीसँग जान खोजेकी उसलाई विपरितले रोक्दा रोएकी थिई ।

‘बुइनी ठूलो ममीले भन्नुभको अब तिमी र म यही कोठामा सुत्ने, ममी त बेहुलासँग सुत्ने रे पल्लो कोठामा ।’ ठूलोममीका कुरा सुनायो विपरितले ।

‘नाई म त्यो अंकले बेहुलालाई मेरो ममीसँग सुत्न दिन्न । म ममीसँग सुत्ने । हिन दादा तँ पनि ममीसँग सुत्न ।’ आत्तिएर प्यासेजतिर दौडिँदै चिच्याउँदै थिई ।

विपरितले रोक्दै थियो । गौरवसँग ठोक्किए दुवै ।

गौरवले रिक्तता र विपरितलाई यतै लिएर आइदिए कस्तो हुन्थ्यो ! ऊ निस्केपछि मिठो अपेक्षा गरी कल्कीले ।

तर गौरवले रिक्ततालाई उठाएर तिनीहरुको कोठातिरै पु¥यायो । उसको छातिमा जथाभावि पिट्दै झन कोकोहोलो गरी–नाइ म मेरो ममीसँग सुत्ने । तँ तेरो घर जा…… ।

कल्कीलाई जबरजस्ती सुतायो र बाहिरबाट ढोकाको हत्ता लगाइदिएर सुहागकक्षतिर फर्कियो गौरव ।

रिक्तताको रोदनले कल्कीको छातिमाथि ढुंगो बनेर आइदियो रोशनसँगको विगत, उसँगको त्यो प्रेम, विहे, सम्बन्ध र त्यो दुखद अन्त्य ।

उसको मनमा संशयको चट्याङ प¥यो । ‘के म गौरवसँग खुशी रहन सकुँली रोशनसँगको विगतलाई बिर्सेर ? सपनामा आइरहने रोशन र विपनामा झस्काइरहने उसको यादले मलाई बाँच्न देला ।’

‘मेरा नानीहरुलाई अलग राखेर गौरवसँगको सुहागरातलाई स्वीकार्न सकुँली । सकिनँ भने गौरवको जीवनमा एकवारमात्र आएको यो अपूर्व समयको हत्या हुने छैन ? मेरालागि उसले किन त्याग गर्ने ?’

‘नानीहरुको चित्कार भुलुँ कि गौरवको सुहागरात ?’ घोर द्विविधामा घोप्टो परेर यिनै कष्टसँग तमासा बनिरहेकी थिई ऊ ।

गौरव फुत्त भित्र छिर्‍यो र हतारहतार चुकुल लगायो मानौँ कसैले ढोका ठेलेर उभन्दापहिले भित्र छिर्छ ।

र, सजिसजाउ पलङमा छिर्‍यो ऊ कल्कीलाई झाँक हाल्दै ।

‘नाइ मलाई जान दे म ममीसँग सुत्छु ।’ झ्यालबाट झ्याल हुँदै रिक्तताको चित्कार प्रवेश गरिरहेको थियो कल्कीको कानसम्म ।

जुरुक्क उठेर झ्याल थुन्यो गौरवले, चाँचाडो सबै बत्ती निभाएर आकासे रङको डिम लाइटमात्र बाल्यो । र फेरि घुस्रियो कल्कीसँग ।

कल्कीका आँखाका डिलबाट पोखिएर गाला हुँदै बगेका आँसु र सुहागको पलङमा तुर्लुङ्ग सजाइएका फूलका मालाहरु एकै रङका देखिएका थिए ।

र भित्ताको स्काइ कलरको डिम लाइटजस्तै निर्जिब पनि ।

समाप्त

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्