संकटमा अमेजन रेनफरेस्ट

ब्राजिलका राष्ट्रपतिद्वारा वन फडानीबारे गलत तथ्यांक आएको दाबी

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले अमेजन रेनफरेस्टमा भइरहेको फडानीका सम्बन्धमा देशको स्पेश इन्स्टिच्युडले गलत जानकारी दिएको आरोप लगाएका छन् ।

ब्राजिलको नेशनल स्पेस इन्स्टिच्युडले अमेजन जंगलमा भइरहेको फडानीका सम्बन्धमा गलत जानकारी दिएको राष्ट्रपति बोल्सोनारोले दाबी गरेका हुन् ।

अमेजन जंगलमा तीव्र गतिमा फडानी भएको भन्ने गलत तथ्यांक दिएर ब्राजिलको इज्जत अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउन खोजेको आरोप उनले लगाएका छन् । राष्ट्रपति बोल्सोनारोले स्पेस इन्स्टिच्युडका प्रमुखसँग भेट गर्न चाहेको बिबिसी सहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपतिले अमेजन जंगलमा भइरहेको फडानीका सम्बन्धमा सार्वजनिक तथ्यांक गलत दाबी गरे पनि ब्राजिलको नेशनल स्पेश रिसर्च इन्स्टिच्युड (इनपे) ले भने आफ्नो तथ्यांक ९५ प्रतिशत सही रहेको बताएको छ ।

बिहीबार सार्वजनिक भएको स्याटेलाइट डेटा अनुसार जुलाईको सुरुका १५ दिनमा अमेजन जंगलको एक हजार स्क्वायर किलोमिटर क्षेत्र फडानी भएको उल्लेख छ । यो अघिल्लो वर्षको जुलाई महिनामा भएको फडानी भन्दा ६८ प्रतिशत बढी हो ।

अन्तर्राष्ट्रिय पत्रकारसँग कुरा गर्दै बोल्सोनारोले भने तथ्यांक वास्तविकतासँग कुनै पनि हालतमा सत्य नरहेको दाबी गरे ।

ब्राजिलका नयाँ राष्ट्रपतिले संरक्षण भन्दा विकासलाई जोड दिएपछि जंगल फडानीको दर बढेको हो । अमेजन विश्वको सबैभन्दा ठूलो रेनफरेस्ट हो । यसलाई विश्वको प्रमुख कार्बन भण्डारण केन्द्र मानिन्छ, जसका कारण विश्वव्यापी तापक्रम वृद्धिको दर कम गर्न सहयोग पुग्छ ।

ब्राजिल सरकारका एक उच्च अधिकारीले वर्तमान सरकारले वन फडानीलाई बढावा दिएको बताएका छन् । बुल्डोजर लगाएर वन फडानी भएको छ । अधिकांश रुख जरैदेखि ढालिएका छन् भने केही फेदबाट काटिएका छन् । फडानी गरिएको क्षेत्रमा खेती गर्ने क्रम पनि सुरु भएको बताइन्छ । यस्तै काठहरु अवैध रुपमा बिक्री गरिने गरेको छ ।

अमेजन रेनफरेस्टको अधिकांश भाग ब्राजिलमा पर्छ । पछिल्लो दुई महिनामा भएको फडानीको दर अनुसार हरेक मिनेटमा एक हेक्टर वन क्षेत्र मासिने गरेको छ । गाईबस्तुका लागि चरन क्षेत्र बनाउनका लागि रुख ढालिएको सरकारी भनाई छ । ब्राजिलका यसअघिका सरकारले संरक्षणलाई प्राथमिकतामा राखेका थिए ।

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्