पुस्तक बारेको सपना

आधा शताब्दीका मेरा पुरा कुरा

वर्दिङ नजिकै चेसवुड मसरुम कम्पनीमा काम गर्दा प्रायः म सधैं गीत गुनगुनाउने गर्दर्थेँ । रोइरहनुभन्दा गाइरहनु बेस भन्नुको मतलब मैले राम्ररी अनुभव गरेको थिए । वरिपरि बसेर च्याउ टिप्नेहरु हैन, तिमी त कति खुसी मान्छे हो, सधैं गीत गाएर बस्छौ भनेर ईष्र्या भाव व्यक्त गर्दथे ।

म भने सुनेकोे नसुनेझैं आफ्नो तालमा काम गरिरहन्थेँ । मन मनले चाहिँ मैले गाउँको गीत बुझे पो थाहा पाउला म कति खुसी छु भन्ने कुरा भन्ठान्दथेँ । तर कसैले आफूलाई खुसी देख्छ भने उसले नदेखेको कुरा देखाएर किन दुःखी छु भन्नु र झैं लाग्छ । ती मैले गाउने गीतहरु प्रायः नारायणगोपालका विरही गीतहरु हुन्थे । एक बिहान म काम गर्दै जाँदा खै किन हो, सपना देखेझैं लाग्यो ।

आफ्नो विगतलाई वर्तमानसँग तुलना गर्छु खै कहीं कतै मिल्दैन । भविष्य के होला भन्ने त कल्पनासमेत गर्न सकिन्न थियो । पुराना घटना, परिघटनाहरु वर्तमान भएर मेरो मथिङ्गलमा घुम्न थाले । जीवनका आरोहअवरोहलाई सम्झिने कोसिस गरेँ । झन्डै दिनभरि यो प्रक्रिया चलिरह्यो । मानसिक रुपमा शिथिल भएपछि शारीरिक जाँगर नआउनु स्वाभाविक थियो । त्यो दिन अन्य दिनहरुभन्दा धेरै लामो लाग्यो । बेलुकी घरमा आएपछि पनि खासै जाँगर लागेन । बिहानको खाना खाएर भोलिको खाजा तयार गरी अल्छी गरेर बसियो । कति बेला निद्रा लाग्यो, थाहा भएन ।

बिहान उठेर हतारहतार काममा लागियो । दिउँसो फेरि हिजो रातिको सपना सम्झन पुगेछु । हामी जन्मेको घरमा बा, आमा र जेठा मामा हुनुहु्ँदो रहेछ । मैले ठूलो मामालाई म कुन कोठामा जन्मेको मामा? भनेर सोधेछु । उहाँले हातले देखाउँदै ऊ त्यो पछाडिको कोठामा जन्मेको हो भन्नुभयो । जुन कुरा मैले कहिले कसैसँग सोधेको थिइनँ ।

विद्यालय जीवनमा नाचगान गर्दै सहर गएको, ठूलो भएपछि भाषण गर्दै हिँडेको, अदालतमा बहस गरेको, विवाह गर्न बाग्लुङ पुगेको, देशमा बस्ने परिस्थिति नभएर बेलायत आएको, खै कति वर्ष अर्काको देशमा बसेर काम गर्न पर्ने हो ? जहान परिवार कहिले एकै साथ बस्न पाउने हो ? भविष्य के हुने होला ? यावत् कुराहरु सोचेको सपना देख्दै गर्दा खै कसरी प्रचण्ड र बाबुराम भट्टराई पनि देख्न पुगेछु ।

जनयुद्ध सुरु गरेको चार वर्ष पूरा भएसकेको थियो त्यो बेला । सन् १९९९ को आधाआधीतिर हुनपर्छ यो सपना देखेको । पहिलोपल्ट एकदमै भिन्न तरिकाले कुराहरू सम्झन थालेँ । विगतमा बिताएका दिनहरू सरसर्ती आँखा अगाडि नाच्न थाले । सकेसम्म सबै क्षेत्रका कुरा याद आए । दिउँसो १२ बजेसम्म विगत याद आइरह्यो । दुःख–सुखका अनुभूति आउन थाले । कतिपल्ट त आफू बिदेसिएको तीन वर्ष भएछ भन्ने पनि बिर्सेछु । त्यही गाउँघर, समाज र परिवेशमा नै रहेको आभास भयो तर वास्तविकता त्योभन्दा धेरै टाढा थियो ।

अब फेरि ती ठाउँ हेर्न पाइने हो कि होइन ती मान्छेहरू भेट्न पाइने हो कि होइन यी र यस्तै कुराहरूले निचोर्न थाल्यो । त्यससँगै सोच्नयोग्य सामग्री तयार गर्न त्यतिखेरै मन लाग्यो । हुन त मेरो असाध्यै ठूलो कमजोरी भनेको व्यक्त गर्न सक्ने तर लेख्न नसक्ने हो ।

जीवनको छोटो उमेरमा धेरै कुराहरू गरेँजस्तो लाग्छ तर त्यस जमानामा आईएल पढ्दा एउटा छोटो कविता लेख्नेबाहेक अरू केही लेख्ने काम गरिएन । बरु पत्र भने बहुतै लेखियो । विशेषतः नेपाल छाडेपछि नयाँ परिवेशमा भोगेका कुराभन्दा परिवारसँग टाढिएर बस्न पर्दा नजिकको अनुभव भएराखोस् भनेर जीवन र भविष्यबारे धेरै विषयहरूमा मन्थन गरियो । श्रीमतीसँगको त्यो पत्रमा उठाइएका कुराहरू पनि कम महत्त्वपूर्ण थिएनन् र संकलन गर्न योग्य नै थिए ।

त्यसपछि खै के सुर चल्यो, जीवनमा भोगे जाने बुझेका घटनाहरु लेख्नुपर्छ भनेर लेख्न थालेँ । लेख्नेक्रम राम्रै अघि बढिरहेको थियो तर केही समयपछि रोकियो । धेरै समयपछि फेरि लेख्न प¥यो भन्दा त लेखिएका तीन डायरीमध्ये एक कपी कता हराएछ । फेरि दोहो¥याएर लेख्न जाँगर चलेन । त्यति बेलासम्म सबै सिलसिलेवार लेखिएको थियो । त्यसपछि विभिन्न शीर्षकमा लेख्न थालियो ।

यी नै मनमा खेल्ने भावहरुलाई कहिलेकाहीँ कविताको रुप पनि दिन थाले । यसो कपीमा छिपेको खेस्रालाई म रुपकजीलाई देखाउने गर्थेँ । उहाँले मिलाइदिनुहुन्थ्यो । रुपकजीको साहित्यमा निकै ठूलो रुचि छ । धेरै राम्रा गीत, कविता, कथाहरु लेख्नुहुन्छ । चित्रकला पनि अति राम्रो छ । उहाँको छोरा रुबीले पनि राम्रो आर्ट गर्छ । अहिले बाबुछोराले ड्याडसन आर्ट नै चलाइरहेका छन् ।
सुरुका दिनहरुमा म एक्लै श्रीमती, छोरी नहुँदाको अवस्थामा यो कहिलेसम्म होला भनेर कोरिएका केही भावनाहरु:

कविताशं १

आज फेरि किन मलाई रुन मन लाग्यो
जीवन के हो परिभाषा बुझ्न मन लाग्यो

आकाशको जुन टिप्ने रहर पनि हैन
धरती आकाश मेरै भन्ने स्वप्न पनि हैन
फेरि पनि जीवनको यात्रा किटिएन
जति कोसिस गर्दा पनि बाटो भेटिएन ।

गह्र“ुगो भो भार साह्रै थाम्नै सकिएन
बाटो कति लम्बिने हो भन्नै सकिएन
बुझ्न अझै सकिएन के हो जीवन यात्रा
मिल्ने भए मोडी दिन्थे झेली जीवन यात्रा ।

पुस्तक लेखनको अन्तरकथा


हुन त जीवनी लेखन सफल व्यक्तिहरुले मात्रै गर्नुपर्छ भन्ने मान्यता देखिन्छ । सबै सफल मानिसको एउटा कालखण्ड असफल भएको देखाइए तापनि पुनः सफल नभएसम्म त्यस्ता असफल कहानीहरु मात्र प्रकाशित भएको उदाहरण त्यति धेरै देखिँदैनन् ।

मेरो जन्म दिवसले म ५० वर्षभन्दा माथिको भएसकेछु भन्ने प्रौढता दिएर गइसक्यो । कुनै खासै उपलब्धि हासिल गर्न नसकिए पनि जीवनयापन गर्ने क्रममा थुप्रै आरोहअवरोह पार गर्दै आएको छु । जन्मभूमि छाडेर बिदेसिएको पनि दुर्ई दशक नाघिसकेछ ।

जान्दै नजानी, सोच्दै नसोची गरिएका कामहरुबाट पनि यो नौलो समाजमा आफूलाई स्थापित भएको महसुस गरियो । आफूले भन्दा अरुले, मैले र हामीले गरेका कामहरुको उपलब्धि धेरै देख्न पनि पुगियो । देखिएका र भोगिएका फरक अनुभवहरुबिचको तालमेल मिलाउन सक्नु नै जीवन हो जस्तो लाग्छ । बेलाबखत डायरी लेख्नु, जीवन भोगाइका केही अनुभवहरु लेख्नु मैले साँचेका, बाँचेका विषयहरु हुन् ।

धेरै वर्षअगाडि एउटा सपना देखेपछि लेख्न सुरु गरेको मेरा अनुभूति लेखिएको डायरी हराएपछि फेरि लेख्न जाँगर आएन । सिलसिलेवार लेखिएको त्यो डायरीलाई छाडेर फेरि घटनागत शैलीमा केही विषयहरु लेखिए । विभिन्न समयमा पत्रपत्रिकाहरुमा समयसामयिक विषयमा लेखहरु लेख्ने गरियो र त्यसको संकलन गरेर ‘नेपाल बेलायतबाट नियाल्दा’ सँग्रह प्रकाशित गरियो ।

सामाजिक सञ्जालको प्रयोग गर्दै आफूले सोचेको भोगेका कतिपय विषयहरुलाई दुर्ई÷चार लाइनको माध्यमबाट आफ्नो वालमा पोस्ट गर्न थालियो र तिनै विषयहरुमा केन्द्रित रही केही लेखहरु लेख्ने पनि गर्न थालेँ । एकपटक त तिनै फेसबुकका मेरा प्रस्तुतिहरुलाई मात्र संकलन गरेर एउटा पुस्तक प्रकाशन गर्ने इच्छा पनि जागेको थियो ।

केही समयदेखि मनमा उब्जेका इच्छालाई पुस्तकको रुप दिनुपर्छ कि भन्ने सोचिए पनि मेरो जीवनीले खासै समाजलाई के उपलब्धि होला र ? भन्ने सोचाइले अल्मलाइरह्यो । अरुलाई केही दिन नसके पनि मेरा नजिककाहरुलाई भए पनि मेरोबारे नदेखेका र थाहा नभएका केही विषयहरु थाहा दिँदा राम्रै हुन्छजस्तो लागिरह्यो ।

जीवनको उतराद्र्धमा कुनै समयमा समाजले मलाई सफल व्यक्तिको रुपमा लियो भने त्यतिबेला सबैले एउटा पुस्तक लेख्नुपर्छ भन्ने इच्छा जाग्ने नै छ । त्यतिबेला जीवन जिउने समय कटौती गरेर फेरि किताब लेख्न थाल्दा अर्को नोक्सानी नहोस् भन्दै आजसम्म भए–गरेका मेरा अनुभवहरु लिपिबद्ध गरेर मेरो पाँच दशकमाथिको समय सञ्चय मेरो परिवार, साथीभाइ तथा समाजलाई उपहार प्रदान गर्ने प्रयास गरेको छु । यो निर्णय प्रक्रियामा मेरी जीवन संगिनी मिनु शाक्यको महत्त्वपूर्ण भूमिका रहेको छ ।

छोरी स्नेहाले छलफलका क्रममा जीवन सफलता र असफलताको जोड हो भने तापनि सफलता प्राप्त गरिसकेपछि मात्र असफलताको व्याख्या गर्दा असफल मान्छेहरुबाट पनि सिक्न सकिने थुप्रै शिक्षा समाजले सिक्न नसकिरहेको वर्तमान अवस्थालाई परिवर्तन गर्नुपर्ने धारणा राखेकाले पनि लेख्न अभिप्रेरित भएको हुँ । पाँच दशकसम्म देखे, भोगे र सोचेका विषयहरु समावेश गरी तयार पारिएको यो पुस्तकको शीर्षक ‘आधा शताब्दी’ राख्ने निधो गरेको थिएँ ।

मेराबारे मैले नै लेखिएका बाहेक मलाई नजिकबाट भोगेका केही आफन्त, साथीहरुको मप्रतिका धारणा पनि परावर्तन तथा चित्रणकारुपमा यस पुस्तकमा समावेश गरिएका छन् । यस पछाडिका विषयहरुलाई सँगालेर बाँकी जीवनी लेख्ने रहरसहित यो मेरो आधा शताब्दी पाठकहरु समक्ष ल्याएको छु ।
केही समययता बजारमा थुप्रै व्यक्तिका जीवनी पुस्तकको रुपमा छापिने प्रचलन बढेको छ । समाजमा ख्यातिप्राप्त व्यक्तित्वहरुका साथै संवैधानिक अंग प्रमुखहरुका समेत जीवनी पढ्न पाइन्छन् ।

आफूले पदग्रहण गर्दा लिएको शपथमा खाएका कसमहरु बिर्सेर सबै गोप्य तथ्यहरु बाहिर ल्याउनु सिद्धान्त्तः गलत प्रक्रिया मात्र नभई गैरकानुनी पनि हो कि ? विपक्षी वा मन नपरिएकाहरुबारे आफ्नो जीवनीमा समावेश गरेर कसैको सामाजिक मर्यादा र निजित्वलाई कुनियतले हरण गर्ने र विवादमा पारेर आत्मकेन्द्रित, म ठूलो, म असल भन्ने रुग्ण मनोग्रन्थीले ग्रसीतकथा कसरी अमर आत्मकथा बनेर आम पाठकलाई प्रेरणा देलान्? त्यो सोचनिय बिषय भएकोछ ।

कुनै पनि विषयमा आफ्ना कमीकमजोरी नभई अरुको सत्तोसरापले मात्रै त्यति ठूलो असर पर्दैन । जे हुनु थियो, त्यो हुनका लागि त्यसो भएको होला भनेर चित्त बुझाउन नसकी फलानाले यो बेलामा यसो नगरेको भए वा मैले यसो नगरेको भए यस्तो हुँदैन थियो कि भनेर बस्ने हो भने बाँकी जीवन पछुताउनुबाहेक अरु केही गर्न सकिँदैन भन्ने मेरो मान्यता हो ।

त्यसैले कुनै प्रसँगमा मैले आफूसँग सम्बन्धित केही तथ्यहरु प्रस्तुत गर्दा कसैको नाम लेखन परिदृष्यमा जोडिएको भए त्यसलाई कसैको मानहानी गर्ने मेरो मनसाय नभएको व्यहोरा अवगत गराउँदै अग्रिम क्षमा माग्न चाहन्छु ।

जीवन भोग्ने क्रममा नै देशमा भएका उतारचढावहरु राजनीतिक परिवर्तनहरु, विदेशबाट सिकेका केही अनुभवहरु, विभिन्न देश भ्रमणका क्रममा उब्जेका केही विचारहरु, समसामयिक विषयमा लेखिएका केही लेखहरु पनि यस पुस्तकमा समावेश गर्न उपयुक्त ठानेको छु ।

यो पुस्तक न त म सफल भएको अभीमान हो, या त सफल हुन सकिनँ भन्ने हिनताबोध हो । सफलताको मापनयन्त्र नभएको हुँदा मैले आफ्नो यो पाँच दशकको यात्रालाई सन्तुष्टिका रुपमा लिएको छु । सुखभोग गर्नु मात्रले सन्तुष्टि मिल्दैन भन्ने प्रत्यक्ष अनुभव गरेको छु । त्यसैले जे भयो राम्रै भयो, जे भएन त्यो पनि नराम्रो नहुन भएन भनेर बुझेको छु ।

जीवनयापनका क्रममा आफैंले आफूलाई दुःख नदिनु, आफूले अरुलाई दुःख नदिनु र अरुले आफूलाई दिन खोजेको दुःखलाई ग्रहण नगर्नु भन्ने तीन सामान्य सिद्धान्त अवलम्बन गर्न सके संसार स्वर्ग बन्छ भन्ने मान्यता राख्दै आएको छु ।

जीवनमा खासै धेरै सपनाहरु देखिएन
केही देखेर पनि पूरा भएनन्
केही देख्नै नपर्ने देखियो
केही पूरा भएर पनि सन्तुष्टि भइएन
केही नदेखिकनै पूरा भए
जिन्दगी चलिरहन्छ …

(पेशाले अधिवक्ता, रुचीले कलाकार र समाजसेवी सुरेन्द्र नेपाल श्रेष्ठ, गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार हुन्। करिव दुई दशक भन्दा लामो समयदेखी बेलायतमा बसोबास गर्दै आएका श्रेष्ठको रंग नेपालद्धारा प्रकाशित संस्मरणात्मक पुस्तक मेरो आधा शताब्दी साउन ६ गते विमोचन हुँदैछ।)

 

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्