नारायणकाजी श्रेष्ठको असन्तुष्टि

‘पद, पैसा र शक्तिका लागि जे पनि गर्ने प्रवृति नेकपामा हावी’

फाइल तस्बिर।

काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र वैचारिक र चारित्रिक विचलनको संस्कृति देखा परेको भन्दै त्यसलाई सम्वोधन गर्न ढिला गर्न नहुने बताएका छन्। उनी स्कुल विभागका प्रवल दावेदार पनि हुन्।

देशसञ्चारसँग शनिबार कुरा गर्दै पार्टीका केन्द्रीय सचिलयका सदस्य समेत रहेका श्रेष्ठले पद, शक्ति र सम्पत्तिका लागि जे पर्ने गर्ने संस्कृति हावी भएको र त्यसले पार्टीको भविष्यलाई संकटमा पार्ने भन्दै असन्तुष्टि देखाएका छन्।

पार्टीमा देखा परेको त्यस्तो समस्या समाधानका लागि वैचारिक र सांस्कृतिक रुपान्तरणको अभियान चलाउन आवश्यक रहेको उनको सुझाव छ।

तर उनले पद, शक्ति र सम्पत्तिका लागि जे पर्ने गर्ने संस्कृति पार्टीको कुन तह या कुन नेतामा देखा परेको छ भन्ने खुलाएका छैनन्।

उनले भने, ‘विकासमा हामी थ्री पीको सुत्र लगाउँछौँ, पब्लिक प्राइभेट पार्टनरसिप। अहिले थ्री पी हाम्रो पार्टी र आन्दोलनमा फरक ढंगले लाग्नु भएको छ । पद, शक्ति र सम्पत्तिका लागि जे पनि गर्ने प्रवृति हावी भएको छ। त्यसको समाधानका निमित्त पार्टीभित्र वैचारिक, सांस्कृति रुपान्तरणको अभियान चलाउनु पर्छ।’

लामो समयपछि पार्टीको वैचारिक र चारित्रिक विचलनको संस्कृति हावी भएकोबारे मुख खोलेका नेता श्रेष्ठले पार्टीमा देखा परेको उक्त विचलनका कारण नेकपा ‘भाइ कांग्रेस’ बन्दै गएको र यस्तो अवस्थामा पार्टी एक नम्बरको हैसियतमा टिकीराख्न चुनौतिपूर्ण भएको बताएका छन्।

शनिबार आफ्नो गृहजिल्ला गोरखा पुगेर पनि त्यसै विषयमा श्रेष्ठ केन्द्रित भएका थिए।  पार्टीको राजनीतिक प्रतिवेदन लेखनीमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठले स्कुल विभागको नेतृत्वको दाबी गरेतापनि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र खासगरी एमाले खेमा श्रेष्ठलाई त्यो हैसियत नदिने पक्षमा उभिएको बुझिएको छ।

पार्टी उच्चस्रोतका अनुसार राजनीतिक प्रतिवेदन लेखनीमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई स्कुल विभागको प्रमुख दिँदा केही त हुन्न ? भन्ने संशय नेतृत्वमा देखिएको छ।

पार्टी एकता घोषणाको एक वर्षपछि एकताका बाँकी कामलाई टुंग्याउने प्रयासमा गत असार अन्तिम साता जुटेका अध्यक्षद्धय ओली र दाहालले भागवण्डामा सहमति जुटाएका थिए ।

पार्टीको जिल्ला इन्चार्ज र सहइन्चार्ज छनौटमा पुरानै मापदण्ड अपनाउने सहमति गरेका उनीहरुले पार्टीको ३२ वटा विभागमध्ये १८ वटा पूर्व एमाले र १४ वटा माओवादीले पाउने उनीहरुको सहमति थियो ।

यस्तै जेष्ठ नागरिक मञ्चमा एक सय २१ पूर्व एमाले र एक सय सदस्य पूर्व माओवादीले पाउने सहमति ओली र दाहालबीच भएको थियो ।

पार्टीको अनुशासन आयोगमा पूर्व एमालेको अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरालाई बनाउने भन्नेमा छलफल भएपनि उनीहरुबीच सहमति भने भएको थिएन।

यस्तै पार्टीको निर्वाचन अयाोगको नेतृत्व अमिक शेरचनलाई र लेखा आयोगका लागि पुष्प कंडेललाई बनाउनेबारेको छलफलले निष्कर्षको रुप लिइसकेको छैन।

यता आएर पार्टीको महत्वपूर्ण र शक्तिशाली मानिएका संगठन विभागको प्रमुखमा ओलीको कार्यशैलीलाई लिएर लामो समय असन्तुष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई बनाउनेमा ओली र दाहालबीच सहमति भएको छ ।

यस्तै पार्टीको अर्को महत्वपूर्ण विभाग विदेश विभागको प्रमुखमा वरिष्ठ नेता माधव नेपाल आउने निश्चित भएको छ ।

तर पार्टीभित्र ‘एक व्यक्ति, एक जिम्मेवारी’ को माग संगठित भएपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिने /नदिने मा विवाद भएको हो ।

यी सबै विषयमा छलफल र सहमति जुटाउन नेकपाको केन्द्रिय सचिवालयको बैठक आइतबार विहान ११ बजे बस्दैछ।

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्