सम्झनामा अरुण थापा

सम्मान ग्रहण गर्दै गीतकार भूषण खरेल ।

काठमाडौँ – नेपाली संगीताकाशमा सीमित गीत गाएर पनि सदा जीवित रहन सफल कलाकार हुन् अरुण थापा । अरुण थापाले गाएका धेरै गीतहरु अहिले पनि उस्तै चर्चामा छन्, जस्तो पहिले थिए । अरुण थापाले प्रेमका गीत गाएका छन्, त्यससँग जोडिएका पीडाका गीतले उनको स्वरमा प्राण पाएका छन् ।

प्रेम र त्यसबाट मिल्ने सुख या दुःखका साथी बनेका छन् उनका गीतहरु । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ बोलको गीतले उनका गीतको रोमाञ्चकतालाई दर्शाउछन् । यस्तै ‘चोट के हो, बेथा के हो’ बोलको उनको गीतले प्रेममा भोग्नु पर्ने पीडाको चित्र उतारेको छ । उनका अधिकांश गीतहरुको स्मरण शनिबार भक्तपुरमा गरियो ।

गायक थापाको २० औँ स्मृति दिवसको अवसरमा शुभारम्भ द म्युजिकल जर्नी, भक्तपुर सांगीतक समाज र विनाता कला प्रतिष्ठानले शनिबार भक्तपुरको सूर्यविनायकमा गरेको सांगीतक श्रद्धाञ्जली कार्यक्रममा उनका अधिकांश गीतहरु नयाँ पुस्ताका कलाकारले प्रस्तुत गरे ।

गीतकार नगेन्द्र थापाले अरुण थापाको स्वर आवाजहरुको भिडमा अलग पहिचान बोकेको र भिन्न स्वादसहितको रहेकाले नै सदा जीवन्त बन्न सकेको बताए । उनको स्वरमा रहेको जादू र मिठासले संख्यामा थोरै भए पनि स्मरण र स्मृतिहरुमा अथाह बन्न सकेको गीतकार थापाले बताए ।

अरुण थापाको व्यक्तिगत जीवनका विविध पक्षबारे चर्चा भएको कार्यक्रममा अधिकांशले उनको स्वरको मिठासले नेपाली संगीतलाई भरिलो बनाएको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा गीतकार–संस्कृतिकर्मी चेतन कार्कीले अरुण थापाको स्वरको जादू नै उनको जीवनको अमरत्वको कारक रहेको बताए । आफूले अरुणलाई स्वर्गीय भन्न नचाहने र यसको कारण उनको स्वर र उनले गाएका गीतहरुको अमृत जीवन नै रहेको संस्कृतिकर्मी कार्कीले बताएका थिए ।

अरुण थापाका प्रिय गीतकार र अरुणलाई आफ्नो हृदयमा राखेका गीतकार सुवासचन्द्र ढुंगेलले व्यक्तिको कर्मको चर्चा हुनु पर्नेमा जोड दिए । व्यक्तिगत जीवनमा जस्तो रहे पनि अरुण थापाले नेपाली संगीतमा लगाएको गुनको चर्चा जति नै गरे पनि अपूर्ण हुने र राज्यले उनको सम्मानमा अलि कति पनि पहल गर्न नसकेको तर्फ उनले संकेत गरेका थिए ।

विभिन्न कलाकारले सांगीतक प्रस्तुति दिएको कार्यक्रममा वरिष्ठ गीतकार भूषण खरेललाई अरुण थापा स्मृति सम्मान २०७६ तथा गायक आयुष केसीलाई सुशील चालिसे संगीत पुरस्कार प्रदान गरिएको थियो ।

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्