अमेरिका भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री, भ्रमणमा साउदी युवराजको भूमिका

पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा निस्किएका छन् । तीन दिने भ्रमणका लागि गएका पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी छ ।

लामो प्रयासपछि इमरान खानको अमेरिका यात्रा तय भएको बताइन्छ । भ्रमणको क्रममा अमेरिकासँगको सम्बन्ध सुधार गर्ने प्रयासमा इमरान रहने छन् ।

विशेष गरी सुरक्षाको विषयलाई लिएर छलफल केन्द्रित हुने छन् । पाकिस्तानी पत्रपत्रिकाहरुका अनुसार इमरान खानको अमेरिका यात्राका लागि साउदी अरेबियाका युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) को भूमिका महत्वपूर्ण छ ।

साउदी अरेबिया र अमेरिका व्यापार साझेदार हुन् । यस्तै साउदी अरेबिया र पाकिस्तानको सम्बन्ध पनि राम्रो छ । यहि कारण एमबिएसले पाकिस्तान र अमेरिकाबिचको सम्बन्ध थप सुधार गर्न पहल गरेको जनाइएको छ ।

पछिल्लो समय अमेरिका र पाकिस्तानबिचको सम्बन्धमा तनाव छ । आतंककारी गतिविधि नियन्त्रण लिएर अमेरिकाले पाकिस्तानको भूमिकामा कमजोर भएको बताउँदै आएको छ । तर साउदी अरेबियाको प्रयासमा पाकिस्तानले अमेरिकासँगको सम्बन्ध सुधार गर्ने प्रयास गरेको हो ।

प्रधानमन्त्री इमरान खानको भ्रमण र त्यस क्रममा हुने ट्रम्पसँगको भेटवार्तापछि सम्बन्धमा सुधार आउने अपेक्षा पाकिस्तानको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाईँ र एमबिएस नजिकका साथी रहेको र एमबिएस तथा ट्रम्पका ज्वाईँ मार्फत इमरानको भ्रमण तय भएको केही पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इमरान खानसँगै विदेश मन्त्री शाह मेहमूद क्वीरेसी, पाकिस्तानी सेना प्रमुखसहितको टोली अमेरिका गएको हो ।

ट्रम्पसँगको भेटमा अफगानिस्तान प्रमुख मुद्दा बन्ने द डिप्लोम्याटले जनाएको छ । पाकिस्तान शान्ति र स्थायित्वका लागि तत्पर रहेको र त्यसका लागि अफगानिस्तानमा राजनीतिक स्थायित्वका लागि रचनात्मक भूमिका निर्वाह गर्ने पक्षमा पाकिस्तान रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको द डिप्लोम्याटले आफ्नो खबरमा उल्लेख गरेको छ ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्