इरानका केही सञ्चार संस्थाका ट्वीटर एकाउन्ट निलम्बित

सामाजिक सञ्जाल ट्वीटरले इरानका केही सञ्चारमाध्यमका एकाउन्टहरु निलम्बित गरेको छ । बाहाइ आस्थाका अनुयायीहरुमाथि दुरुव्यवहार गरेको आरोपमा ट्वीटरले ती सञ्चारमाध्यमका एकाउन्टहरु निलम्बित गरेको हो ।

इरानको राष्ट्रिय प्रशारक संस्था आइआरआइबीले सञ्चालन गरेको योङ्ग जर्नालिस्ट क्लब (वाईजेसी), राष्ट्रिय सञ्चार संस्था आइआरएनए र मेहरसहितका फारसी भाषाका सञ्चार संस्थाका एकाउन्टहरु ट्वीटरले शनिबार निलम्बित गरेको हो ।

समाचार संस्था फार्स र अंग्रेजी माध्यमको प्रेस टिभी भने सक्रिय नै छन् । निलम्बनमा परेको सञ्चार संस्थाहरुले आफूहरुले इरानसहितको क्षेत्रमा भइरहेको तनावबारे गरेको कभरेजका कारण निलम्बन गरिएको हुन सक्ने आशंका गरेका छन् ।

इरानले गएको शुक्रबार गल्फबाट बेलायती तेल ट्यांकर कब्जा गरेको सम्बन्धमा खबर प्रकाशित गरेकै कारण आफूहरु निलम्बनमा परेको हुन सक्ने उनीहरुले बताएका छन् । बाहाइ आस्था इरानमा अल्पसंख्यकमा पर्छ ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्