जंगली च्याउ खाएर उदयपुरमा १२ जना विरामी

काठमाडौं-उदयपुरमा छुट्टाछुटै स्थानमा जंगली विषालु च्याउ खाएर १२ जना विरामी भएका छन्।

त्रियुगा नगरपालिका-९ राजाबासमा एक परिवारका ५ जना र कटारी नगरपालिका-४ सिसाघारीका दुई परिवारका ७ जना गरी १२ जना बिरामी भएका हुन्।

जंगली विषालु च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन्।

यस्तै, कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खादाँ टंक कुमारीसहित छोराहरु १४ वर्षीय अनिश, ११ वर्षीय महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवारका बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले बताए।

टंककुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको एसपी बुढामगरले बताए।
उनीहरुले शनिबार जंगलबाट ल्याएर च्याउ खाएका थिए। बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्