प्रदेश सरकारको अनुदानमा दाङमा कृषि यन्त्र हस्तान्तरण

दाङ– व्यवसायिक कृषि कार्यमा संलग्न सहकारी र कृषि फर्मलाई अनुदानमा कृषि औजार प्रदान गरिएको छ।

प्रदेश सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको अनुदानमा कृषि औजार उपलब्ध गराइएको छ।

आठ ओटा पावर ट्रिलर, एउटा माछालाई अक्सिजन प्रदान गर्ने एरियटर, २ ओटा विद्युतबाट घाँस काट्ने च्याप्कटर मेसिन, दुई ओटा धान थ्रेसर मेसिन कृषि सहकारी तथा कृषि फर्मलाई हस्तान्तरण गरिएको हो।

लमही नगरपालिका वडा नं. ३ मा रहेको लालीगुँरास जैविक विविधता कृषक सहकारी संस्थालाई पावर ट्रिलर र धान थ्रेसर, गढवा गाउँपालिका वडा नम्बर ५ सत्गौवा कृषक सहकारी संस्था लिमिटेडलाई पावर ट्रिलर, समृद्धि लाइभस्कटक प्राली लमही–२ लाई च्याप्कटर अनुदानमा प्रदान गरिएको छ।

यस्तै अनुदानमा पावर ट्रिलर पाउनेहरुमा सुन्दर कृषि फर्म शान्तनगर–३, स्वर्गद्वारी कृषि तथा पशु फर्म, लमही–२ स्थित समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था, लमही–८ स्थित ईन्द्रेणी महिला कृषक समूह, देउखुरी कृषि बहुउद्देश्यीय सहकारी संस्था र लमही–१ को निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था रहेका छन्।

यस्तै दुमदुमा भगवती तरकारी तथा बिउ आलु उत्पादन सहकारी संस्थाले धान थ्रेसर मेसिन अनुदानमा प्राप्त गरेको छ। निक माछा पालन फार्मले एरियटर प्राप्त गरेको छ।

कृषि औजार हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य रेवतीरमण शर्माले कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउन कृषि पेशालाई पूर्ण यान्त्रिकरण गर्नुपर्ने बताए।

प्रदेश कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले पावर ट्रिलरमा ५० प्रतिशत र एरीयटर, च्याप कटर, थ्रेसर मेसिनमा ७५ प्रतिशतको अनुदानमा उक्त कृषि सामग्री वितरण गरिएको हो।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्