‘अदालतको फैसला कार्यान्वयन नहुँदा दण्डहिनता बढ्छ’

फाइल तस्बिर

पोखरा -जिल्ला प्रहरी कार्यालय कास्कीमा विभिन्न घटनाका ५ सय २४ मुद्दामा ५ सय ५६ जना पक्राउ परेका छन्।

बितेको एक वर्षको वार्षिक प्रगति विवरणमा जिल्ला प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, चोरी, बहुविवाह लगायत सवारी ज्यान सम्बन्धी घटनाका दोषीलाई पक्राउ गरी कारबाही गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार बितेको आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। १ सय ७० वटा लागुऔषध सम्बन्धी मुद्दामा २ सय ५९ जना पक्राउ परेको उनले बताए।

‘डिमान्ड डिडक्सन, सप्लाई कन्ट्रोल गर्ने तवरबाट लागूऔषध सम्बन्धी सबै गतिविधिलाई हामीले नियन्त्रण गर्ने रणनीति बनाएका छौँ’, उनले भने, ‘पक्राउ परिसकेका आरोपीलाई समेत ‘म सक्छु’ कार्यक्रममार्फत सकारात्मक प्रभाव पार्न आगामी दिनमा लागुऔषधको पुनःप्रयोग रोक्न समेत सचेतनामूलक अभ्यास थालेका छौँ।’

अपराधको स्थितिमा कास्कीमा आत्महत्या गर्नेको संख्या कहालीलाग्दो छ। १ वर्षमा मात्रै १ सय २८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। डिप्रेसनको रोगी विभिन्न घटनाका कारण विक्षिप्त अवस्थामा पुगेका व्यक्तिले आफूलाई सम्हाल्न नसक्दा अन्तिम विकल्पमा आत्महत्याको बाटो रोज्न सकेको प्रहरीको भनाइ छ।

‘प्रत्येक २/३ दिनमा आत्महत्या भएको घटना देखिन्छ’, एसपी कार्की भन्छन्,’ ‘यस्तो किसिमको डरलाग्दो तथ्यांकमाथि अब अध्ययन गर्नुपर्ने देखिएको छ।’ आत्महत्या जस्ता घटनालाई नियन्त्रण गर्न राज्यस्तरबाटै नियन्त्रणको प्रयास थाल्नुपर्ने उनले बताए।

कास्कीमा जर्बजस्ती करणीका ५८ मुद्दामा ६१ जना पक्राउ परेका छन्। जर्बजस्ती करणी उद्योगमा समेत २१ मुद्दामा २७ जना पक्राउ परेको प्रहरीको एक वर्षे तथ्यांकले देखाएको छ।

कर्तव्य ज्यान सम्बन्धी १७ मुद्दामा ३० जना, ज्यान मार्ने उद्योग सम्बन्धी १४ मुद्दामा २७ जना र हातहतियार खजाना खरिद सम्बन्धी ६ मुद्दामा ८ जना पक्राउ परेको एसपी कार्कीले जानकारी दिए।

पोखरामा पछिल्लो केही समययता टोलटोलमा र सरकारी कार्यालयहरुमा चोरको बिगबिगी बढेको छ। बितेको वर्षमा कास्की प्रहरीले चोरी सम्बन्धी ४४ मुद्दामा ७१ जनालाई पक्राउ गरेको छ।

बहुविवाह सम्बन्धी ३४ मुद्दामा ४१ जना पक्राउ परेका छन्। त्यस्तै, मानव बेचबिखनका दुई वटा मुद्दामा दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। सवारी ज्यान सम्बन्धी ३० मुद्दाका ३० जनालाई पक्राउ गरेको कास्की प्रहरीको अभिलेख छ।

फैसला कार्यान्वयनलाई जोड


एसपी कार्कीले फैसला कार्यान्वयन प्रभावकारी नभएसम्म दण्डहीनताको स्थिती कायम रहने बताएका छन्। अदालतले फैसला गरेका मुद्दाका दोषीहरुलाई प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याउनु प्रमुख काम रहेको औल्याए।

‘अदालतले फैसला गर्छ। प्रहरीले पक्राउ नगर्दासम्म समाजमा दण्डहीनताको स्थिति सिर्जना हुन्छ की भन्ने चिन्ता पनि देखिन्छ तर कास्की प्रहरीले तीव्रताका साथ फैसला कार्यान्वयनमा जोड दिइरहेको छ।’ अनेकौं मुद्दाका दोषी प्रमाणित फरार व्यक्तिहरुलाई पक्राउ गर्न कास्की प्रहरीले विशेष कार्ययोजना नै बनाएको उनले बताए।

फैसला कार्यान्वयन सम्बन्धी प्रगति हेर्दा बितेको आवमा कास्की प्रहरीले ५४ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै, कास्की प्रहरीले १ वर्षमा पेन्डिङ मुद्दा ८ सय २९ मध्ये ५ सय ७८ मुद्दा फर्छयौट गरेको छ। बाँकी २ सय ५१ मुद्दा कार्यसम्पादको चरणमा रहेको एसपी कार्कीले जानकारी दिए।

५८ प्रहरीलाई कारवाही हुँदा १ सय ३२ जना पुरस्कृत


जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न कारण कमजोर कार्यक्षमता वा बदनियतपूर्वक पेसागत आचरण विपरित काम गर्ने प्रहरी जनशक्तिलाई कारवाही समेत गरेको छ।

१ वर्षमा ५८ प्रहरीलाई कारवाही गरिएको एसपी कार्कीले जानकारी दिए। पदोन्नति रोक्का, निलम्बन, ग्रेड घटुवा/बढुवा लगायत अन्य विभागीय कारबाही गरिएको उनले बताए।

त्यस्तै, संगठन भित्र रहेर उत्कृष्ट कार्य गर्ने १ सय ३२ प्रहरीलाई उनीहरुको क्षमता मूल्यांकनको आधारमा पुरस्कृत समेत गरिएको एसपी कार्कीले जानकारी दिए।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्