गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना आधारपत्र सार्वजनिक

दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्न १० खर्ब लगानी आवश्यक

पोखरा-गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ। प्रदेश नीति तथा योजना आयोगद्वारा प्रस्तुत आव २०७६-०७७ देखि २०८०-०८१ सम्म प्रदेशमा अल्पकालीन लक्ष्य निर्धारण गरिएको हो।

उक्त अवधिमा उत्पादन र उत्पादकत्व बृद्धि गर्दै प्रदेशलाई आन्तनिर्भर अर्थतन्त्रको चरणमा पुर्‍याउने पहिलो लक्ष्य लिइएको छ।

उत्पादनशील क्षेत्रहरुलाई अधिकतम परिचालन गरी दोहोरो अंकको लक्ष्य हाँसिल गर्न आवश्यक लगानी समेत प्रक्षेपण गरिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले जानकारी दिए।

योजना अवधिको अन्तिम आव २०८०÷०८१ सम्ममा प्रदेशले १०.२ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य लिएको उनले बताए। राष्ट्रिय लक्ष्य अनुसार उक्त आवमा ९.६ आर्थिक वृद्धिदर हाँसिल हुने प्रक्षेपण गरिएको छ।

पञ्चवर्षीय योजनाले सोचेअनुरुपको लक्ष्य प्राप्तिका लागि भने प्रदेशमा ठूलो लगानी गर्नुपर्ने भएको छ । उक्त अवधिसम्मा विभिन्न स्रोतहरुमा १० खर्ब १२ अर्ब २४ करोड रुपैयाँ लगानी प्रदेशलाई आवश्यक पर्ने देखिएको छ।

उर्जा, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा वन, पर्यटन, उद्योग, सुशासन र खानी भूगर्भ लगायत व्यापारिक गतिविधिलाई मुख्य लगानी स्रोत पहिचान गरेको डा पौडेलले सुनाए।

दीगो विकास लक्ष्य नीति अनुरुप प्रदेशको आवधिक अल्पकालीन योजना ल्याइएको डा पौडेलले जानकारी दिए । ‘आगामी २५ वर्षलाई हेरेर दूरदृष्टिका साथ यो आधारपत्र तयार गरेका छौं,’ उनले भने, ‘प्रदेशले निर्धारण गरेको समृद्धिको आधारलाई समतामूलक तथा फराकिलो बनाई उच्च आर्थिक वृद्धिदर हाँसिल गर्न सहयोग पुर्‍याउने छ।’

प्रक्षेपित अनुमान अनुसार कृषि क्षेत्रको औसत वार्षिक वृद्धिदर ५.४ प्रतिशत अनुमान गरिएको छ भने उद्योग तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः १६.१ र ९.६ प्रतिशत छ । गैर कृषि क्षेत्रको औसत वार्षिक आर्थिक वृद्धिदर ११.८ प्रतिशत हुने अनुमान गरिएको उपाध्यक्ष डा पौडेलले जानकारी दिए । उक्त अवधिमा वार्षिक औसत ५.१ प्रतिशतले मूल्य वृद्धि हुने अनुमान प्रक्षेपण गरिएको छ।

प्रक्षेपण गरे अनुसारको लक्ष्य हाँसिल गर्न कुल स्थिर पँुजी लगानीमध्ये सार्वजनिक क्षेत्रबाट ३ खर्ब ६० अर्ब ८३ करोड, निजीक्षेत्रबाट ५ खर्ब ८७ अर्ब ९२ करोड, सहकारी क्षेत्रबाट ४४ अर्ब ८ करोड र सामुदायिक क्षेत्रबाट १९ अर्ब ४१ करोड लगानी प्रक्षेपण गरिएको छ।

दीगो विकास लक्ष्य प्राप्तिका लागि गण्डकी प्रदेशले समेत विसं २१०० सम्ममा प्रदेश कुन स्तरसम्म पुग्छ भन्ने ढाँचा आधारपत्रले तय गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । ‘प्रदेशका योजनाहरुलाई मूर्त रुप दिन आधारपत्र तयार गरेका छौं,’ उनले भने, ‘चालु आवको बजेट यसै आधारपत्रलाई आधार मानेर ल्याएका छौं र आगामी आवमा पनि त्यसलाई कायम राख्ने छौं ।’

अल्पकालीन लक्ष्य अनूरुप सर्वश्रेष्ठ भन्दा पनि अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश सफल हुनेमा विश्वस्त रहेको उनले बताए । राष्ट्रिय लक्ष्यलाई समेत ध्यानमा राखेर प्रदेशले आधारपत्र तयार गरेकोले पहिचान गरेका लक्ष्य हाँसिल गरिने उनले सुनाए।

अल्पकालीन योजना लक्ष्य प्रदेशमा उच्च उत्पादन, मर्यादित जीवन, सभ्य र न्यायपूर्ण आधुनिक समाज, वातावरणमैत्री, लोकतान्त्रिक समावेशी सुशासनयुक्त समृद्ध प्रदेशको परिकल्पना गरिएको छ।

राष्ट्रिय योजना आयोगको १५ औं योजना चालु आवबाट नै सुरु भएकाले केन्द्रीय योजनाको आधारपत्र र प्रदेशको प्रथम योजनाको आधारपत्र संयुक्त रुपमा प्रदेश समन्वय परिषद, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुसँग छलफलबाट सुझाव संकलन गरिएको डा पौडेलले बताए।

अल्पकालीन योजनाको परिणामसँगै प्रदेशले मध्यकालीन लक्ष्यको आधार वर्ष विसं २०८७ सम्म औषतमा १०.५ प्रतिशत आर्थिक वृद्धिदरलाई कायम राख्न सकिने प्रक्षेपण आधारपत्रले गरेको छ।

दीर्घकालीन लक्ष्य प्राप्ति योजना अनुसार विसं २१०० सम्ममा प्रदेशको आर्थिक वृद्धिदर ११ प्रतिशत र निरपेक्ष तथा बहुआयामिक गरिबी शून्यमा झार्ने दाबी गरिएको छ।

राष्ट्रिय लक्ष्यमा भने विसं २१०० सम्ममा निरपेक्ष गरिबी शून्यमा झार्ने भएपनि बहुआयामिक गरिबी प्रतिशत ३ हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय लक्ष्य अनुसार भने उक्त समयमा आर्थिक वृद्धिदर १०.५ प्रतिशत हुने अनुमान छ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्