केहीबेर पानी पर्दा पनि किन जलमग्न हुन्छ नेपालगञ्जको न्यूरोड?

नेपालगञ्ज – आइतबार बिहान एकछिन पानी पर्‍यो। केहीबेर मात्रै परेको पानीले नेपालगञ्जको न्यूरोडमा डुबान भयो। न्यूरोडको बीच खण्ड सेतु बिक चोक आसपासमा बाढी नै आयो, सवारी साधन चल्नै मुश्किल हुने गरी।

त्यही न्यूरोड हो, जसलाई नेपालगञ्जको नयाँ बजार लाइनको रुपमा कल्पना गरिएको छ। नयाँ बजारको रुपमा विकास गर्न त्यहाँ एकै प्रकारका घरहरु बनाइएका छन्। नयाँ बजार लाइनको अवधारणाले गर्दा त्यहाँका घडेरी महँगोमा बिक्री भए। अढाई दशकअघि न्यूरोड क्षेत्र खाल्टो र झाडी थियो।

न्यूरोड बजार क्षेत्र थोरै पानी पर्दा किन डुब्छ? नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर शैलेन्द्र महर्जन भन्छन्, ‘बजार बिस्तार गर्दा राम्रो डिजाइन भएन। व्यवस्थित नाली बनाइएन। सम्बन्धित निकायले खाली महँगोमा घडेरी बिक्री गर्ने काम मात्रै गर्‍यो।’

न्यूरोडमा व्यवस्थित नाली बनाइएन। न त त्यहाँ सवारी साधन पार्किङकै व्यवस्था नै राम्रो छ। बजारको डिजाइन गर्नेहरुले यी दुई कुरालाई ख्याल गरेनन्। जसको असर अहिले त्यहाँका मानिसले भोगिरहेका छन्। थोरै पानी पर्दा पनि बाढी आउँछ। सवारी साधन लिएर किनमेल गर्न जाँदा राख्ने ठाउँ हुँदैन।

नेपालगञ्ज उपमहानगरपालिकाले न्यूरोड हुँदै कर्णाली विकास बैंकको छेउबाट पानी बग्ने ठूलो नाला बनाएको छ। त्यसको न्यूरोड खण्डमा काम पूरा भएको छैन। इन्जिनियर महर्जनले न्यूरोडको पानीको निकासका लागि उपमहानगरपालिकाले नाला बनाइरहेको बताए।

भएको नालालाई सफा गरेर पानी बगाइएको छ। नालाले थेग्ने भन्दा बढी पानी जमेपछि न्यूरोडमा डुबान हुने गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखाका अधिकृत अशोक केसी भन्छन्, ‘पानी त नालाबाट गइरहेकै छ। सबै पानी एकैपटक जान सकेको छैन। बिस्तारै जाँदै गर्दा न्यूरोडमा पानी जम्ने गरेको छ। नालीको क्षमता भन्दा बढी पानी आएपछि डुबान त हुने भइहाल्यो नि।’

उनका अनुसार नेपालगञ्ज बजारको पानी तीन वटा नालाबाट निकास हुन्छ। एउटा न्यूरोड हुँदै कर्णाली विकास भएर, अर्को भेरी प्राविधिक हुँदै र तेस्रो गणेशमान चोक हुँदै परसपुर भएर। यी तिनै वटा नालीलाई सफाई गरिएको छ। त्यसबाट बग्नु पर्ने पानी बगेको छ।

‘नालाको क्षमता भन्दा बढी पानी आएपछि केहीबेर त पानी जमिहाल्छ नि?’, सरसफाई शाखाका अधिकृत केसी भन्छन्, ‘घाँटी भन्दा हाड ठूलो भएपछि अडकिन्छ।’

थोरै पानी पर्दा पनि न्यूरोड डुवानमा पर्नुमा खाली नगरपालिकाकै मात्रै दोषी छैन। घर, पसलबाट निस्किने फोहोर, प्लाष्टिक, गुट्खाका खोल नालीमै फाल्ने गरिन्छ। साना नालीको निकास यसले थुन्ने गर्दछ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्