कांग्रेस सांसदकाे आराेप: सरकार असारे बजेट खर्च गर्नमै व्यस्त

मोरङ-प्रदेश एक सरकार असारे बजेट खर्च गर्नमै व्यस्त भएको आरोप नेपाली कांग्रेसका सांसदले लगाएका छन्।

आइतबार विराटनगरस्थित प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश एक संसदीय दलका सचेतक सुयर्माराज राईले सत्ता पक्षले असारे बजेट खर्चिनमा समय खेर फालेको आरोप लगाएका हुन्।

प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सचेतक राईले प्रदेश सरकाले अघि बढाएको ‘म अघि बढ्छु’ नामक कार्यक्रमको औचित्य प्रस्ट्याउन आग्रह गरे। आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते कार्यक्रमको आयोजना गरिनुले पनि सरकार कस्तो कार्यक्रम गर्न लालयित रहेछ प्रस्ट भएको उनले बताएका थिए।

पहिलो चरणमा २ करोड ५० लाख रुपैयाँको बजेट कसका लागि खर्चिन सरकार तयार भएको आफूहरुले नबुझेको बताएका सचेतक राईले, ‘म अघि बढ्छु’ कार्यक्रमको बजेट मन्त्री, राजनीतिक कार्यकर्ता, नातावाद कस्लाई प्रदेश सरकारले प्रायोजन गरेको हो।’

सो कार्यक्रमको आयोजक आन्तरिक मामिला मन्त्रालयले एकवर्ष भित्र १३ देखि १९ वर्ष उमेरका २ लाख विद्यार्थीलाई आवद्ध गराउने लक्ष्य लिएको छ। २०६८ को जनगणना अनुसार प्रदेश १ को जनसंख्याको करिब ११ प्रतिशत १३–१९ वर्ष उमेर समूहका छन्।

त्यसैगरि, सचेतक राईले मुलुककै गरिमामय बन्नुपर्ने मुख्यमन्त्री कप प्रदेश लिग फुटबल विवादमा मुछिएकोमा दुखित भएको बताएका थिए। उनले भने, ‘यति गरिमामय फुटबल प्रतियोगिता विवादमा आएको छ। प्रतियोगिता सञ्चालन भइरहदाँ नियम विपरीत खेल भएको कुरा आएको छ। यसले समग्र फुटबल र प्रदेशलाई नै दुखित बनाएको छ।’

प्रतियोगिताको लिग अन्तर्गत सुनसरीमा भएको खेलमा तेह्रथुम जिल्लालाई नियमविपरीत जबरजस्ती बाहिर निकालिएको बताएका सचेतक राईले भने, ‘समान अंकका आधारमा समेत तेह्रथुम जिल्ला फाइनल चरणमा प्रवेश पाउनुपर्ने थियो।’

शुन्य समयमा सत्तापक्षविरुद्धमा समय खर्चिएका राईले भने, ‘एकपक्षीय ढंगबाट तेह्रथुमलाई प्रतियोगिताबाट हटाइएको र त्यसको स्पस्ट जवाफसहित छानविनको माग गरे।’

उनले भने, ‘मुख्यमन्त्री जस्तो गरिमामय प्रतियोगितालाई विवादमा पुर्‍याउनेलाई कारबाही गर्नुपर्छ।’ मुख्यमन्त्री कप प्रदेश लिगको पहिलो चरण लिगका खेलहरु उदयपुर, धरान र इलाममा सम्पन्न भएको थियो। दोश्रो चरणको खेल तथा फाइनल खेल विराटनगरमा हुने बताइएपनि वर्षाका कारण खेल धरानमा सारिएको थियो। जसमा झापाको सैनिक युथ क्लबले मोरंगको बेलबारी फुटबल क्लबलाई दुई एक गोलले पराजित गरेको थियो।

त्यसैगरि, प्रदेश सरकारले लोकसेवा आयोग सम्बन्धी विधेयक प्रदेश सभामा पेश गरेको छ। प्रदेश निजामति सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश संगठित संस्था र स्थानीय सरकारी सेवाको पदमा उपर्युक्त उम्मेदवार छनोटमा स्वच्छता लगायतलाई व्यवस्थित गर्ने उद्देश्यका साथ सरकारले विधेयक निर्माण गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। त्यसैगरि विधेयकले प्रदेशमा एक महिलासहित बढीमा तीन सदस्यीय लोकसेवा आयोग गठन गर्ने व्यवस्था गरेको छ।

आयोगको अध्यक्ष र सदस्य सिफारिस सरकारका मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र प्रदेश सभामा विपक्षी दलको नेतासहित तीन सदस्यीय समितिले गर्ने बताइएको छ। प्रदेश लोकसेवा आयोगको अध्यक्ष हुन ४५ वर्ष पूरा भएको हुनुपर्ने छ भने सदस्यकालागि ३५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरि, कांग्रेका प्रमुख सचेतक केदार कार्कीले भने संघीय सरकार अर्थ मन्त्रालयले व्यक्तिगत प्यान नम्बरमार्फत कारोबार गर्नुपर्ने नियमप्रति असन्तुष्टि व्यक्त गरे।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू