ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट, एसियाली छनौट

‘दर्शकको साथले मनोबल उच्च, लक्ष्य-विश्वकपमा स्थान’

काठमाडौँ – पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौटको तयारीमा छ । मलेसियामा अभ्यास सकेर नेपाली टोली हाल सिंगापुरमा छ ।

पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु हुँदैछ । नेपाली टोलीले भने मंगलबार आफ्नो पहिलो खेल खेल्नेछ । नेपालले मंगलबार कतारसँग प्रतिस्पर्धा गर्ने छ । सोमबार उद्घाटन खेलमा आयोजक सिंगापुरले कतारको सामना गर्नेछ ।

नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगिता सुरु हुनु पूर्व आइतबार आयोजित पत्रकार सम्मेलनमा दर्शकको समर्थन आफूहरुका लागि बलियो पक्ष रहेको बताएका छन् ।

नेपाली समर्थकले आफूहरुले जहाँ गएर खेले पनि उस्तै समर्थन रहने र समर्थकहरु रंगशाला पुग्दा आफूहरुलाई हौसला मिल्ने गरेको उनले बताएका हुन् ।

आफूहरुको लक्ष्य अस्ट्रेलियामा हुने विश्वकपका लागि छनौट हुने रहेको कप्तान खड्काले उल्लेख गरे। नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप खेलेको थियो ।

अस्ट्रेलियामा हुने आउँदो विश्वकपमा स्थान बनाउनु आफूहरुको लक्ष्य रहे पनि त्यो सहज भने नरहेको खड्काले बताएका छन् । नेपाली टोलीको पहिलो प्राथमिकता यो चरणको छनौट पार गरेर ग्लोबल छनौटमा पुग्ने रहेको खड्काले पत्रकार सम्मेलनमा बताए ।

टिमका खेलाडीको लय राम्रो रहेको र टिमका खेलाडीको मनोबल पनि उच्च रहेकाले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको उनले बताएका छन् ।

यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।

सिंगापुर पुग्नुअघि मलेसियामा अभ्यास गरेको नेपाली टोलीले मलेसियासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अन्तर्राष्ट्रिय शृङ्खला ‘क्लिन स्वीप’ गरेको थियो ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्